संसारकै राजनीति र कूटनीतिमा कहिल्यै नदेखिएको एउटा दृश्य शुक्रबार साँझ देखियो। अमेरिकी राष्ट्रपति कार्यालय ओभल अफिसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको छलफलमा चर्काचर्की भयो। छलफलमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससमेत थपिए। त्यसपछि जेलेन्स्कीमाथि तेस्रो विश्वयुद्धको प्रपञ्च रचेको, अमेरिकी सहयोगप्रति कृतज्ञ नरहेकोजस्ता आरोप लगाउँदै वार्ता अवरुद्ध भयो ।
यसअघि रुस र युक्रेनबीच जारी युद्ध आफूले एक दिनमै रोक्ने घोषणा गरेका राष्ट्रपति ट्रम्पले ओभल अफिसमा कुनै अर्को राष्ट्रका समकक्षीको बेइज्जती गरेको भन्दै सञ्चार माध्यमहरूमा उनको आलोचना भएको छ।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कुरामा विश्वास गरेको जेलेन्स्कीको भनाइ थियो। पछि युक्रेनी राष्ट्रपतिले सम्झौता नगरी निस्किएपछि ‘ट्रुथ सोसल’मार्फत ट्रम्पले ‘जेलेन्स्कीले शान्तिका लागि तयार नभएको’ बताएका थिए। उनले सञ्जालमा लेखेका छन्, ‘ओभल अफिसमा जेलेन्स्कीले अमेरिकाप्रति अपमानित व्यवहार देखाए। अझै पनि उनी शान्तिका लागि जब तयार हुन्छन्, तब उनी आउन्।’
त्यसपछि जेलेन्स्कीले एक्समा अमेरिकी सहयोगप्रति धन्यवाद ज्ञापन गरेका छन्। उनले अमेरिकी राष्ट्रपति, कंग्रेस र जनताप्रति कृतज्ञ रहेको लेखेका छन्। उनले लेखेका छन्, ‘युक्रेनलाई दीर्घकालीन शान्ति चाहिएको छ, हामीले त्यसैका लागि काम गरिरहेका थियौं ।’
यस घटनापछि रुसमा खुसीको वातावरण छाएको बिबिसीले लेखेको छ। जेलेन्स्कीलाई ठेगान लगाइएको रूपमा रुसी सरकारले बुझिरहेको छ। रुसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभले टेलिग्राममा लेखेका छन्, ‘ट्रम्पले जेलेन्स्कीलाई कस्सिएर तमाचा मारेका छन्। जेलेन्स्कीको तेस्रो विश्वयुद्ध मच्चाउने मनसुवा सफल हुने छैन।’
युरोपेली संघ र अन्य युरोपेली मुलुकहरू भने यस घटनाबाट खुसी छैनन्। युरोपेली संघकी राष्ट्रपति उर्शुला भोन डर लेयेनले जेलेन्स्कीको पक्षमा समाजिक सञ्जाल एक्स (ट्विट) मा लेखेकी छन्। उनले युक्रेन युरोपको भाग रहेको र युरोपेलीहरूले युक्रेनको पक्षमा उभिनुपर्ने सामाजिक सञ्जालमा लेखेकी छन्।
फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले रुस आक्रमणकारी मुलुक भएकाले आफू युक्रेन र युक्रेनी जनताको पक्षमा रहेको बताएका छन्। ‘हामीले तीन वर्षअघि नै रुसलाई आर्थिक प्रतिबन्ध लगाएका थियौं। युक्रेनीहरूले आफ्नो बर्कतले भ्याएसम्म लडिरहेका छन्। उनीहरू स्वतन्त्रताका लागि लडिरहेका छन्, आफ्ना सन्तान र युरोपको सुरक्षा खतरासँग भिडिरहेका छन्।’
जर्मनीका पूर्वचान्सलर ओलाफ स्कल्जले पनि युक्रेनले जर्मनीलाई भरोसा गर्न सक्ने बताएका छन्। यस्तै नवनियुक्त चान्सलर फ्रेडरिक मर्जले एक्समा लेखेका छन्, ‘हामी युक्रेनको पक्षमा छौं। कसले यस्तो अवस्थामा ल्याइपुर्यायो र युद्धमा घचेट्यो भन्ने दुविधामा हामी छैनौं।’
बेलायतका प्रधानमन्त्री केर स्टार्मरले पनि प्रतिक्रिया दिँदै युक्रेनले शान्ति चाहेकाले आफूहरू उसको पक्षमा रहेको बताउँदै आइतबार युक्रेनसहित एउटा आकस्मिक बैठक बस्ने बताएका छन्।
जेलेन्स्कीले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, नर्वेली प्रधानमन्त्री जोनास गार स्टोरबाट समेत समर्थन पाएका छन्। डेनमार्क, स्वीडेन, फिनल्यान्ड, नेदरल्यान्ड, पोल्यान्ड, स्पेन, पोर्चुगल, इटाली, हंगेरी, इस्टोनिया, लिथुआनियालगायत मुलुकले ओभल घटनाप्रति चासो देखाउँदै जेलेन्स्कीलाई समर्थन गरेका छन्।
कुरा कहाँ बिग्रियो?
अमेरिकी राष्ट्रपति ट्रम्पले रुस–युक्रेन युद्धमा निःस्वार्थ सहयोग नरहने धारणा पहिलेदेखि व्यक्त गर्दै आइरहेका थिए। त्यसका लागि उनले आफ्नो भूभागको माया मार्नुपर्ने, खानीको जिम्मा अमेरिकालाई दिनुपर्नेलगायत सर्त राख्दै आइरहेका थिए। त्यसमा आफ्ना पनि केही सर्त रहने बताउँदै आएका युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई आश्चर्यमा पार्नेगरी गत साता रुस र अमेरिकाबिच साउदी अरेबियामा वार्ता भयो। उक्त वार्तामा युक्रेनलाई समावेश गरिएको थिएन। ट्रम्पले रुसको धारणा मात्र सुनेकोमा जेलेन्स्की दुःखी थिए।
पछि अमेरिकाले दबाब बढाउँदै जाँदा जेलेन्स्की आफ्नो भूमिमा रहेको खनिज पदार्थ निकाल्न सहमत भएका थिए। त्यसमा अमेरिकी भूमिकाबारे उनी सकारात्मक देखिएका थिए। यति लचिलो हुँदाहुँदै पनि युक्रेनको सुरक्षाका पक्षमा अमेरिकाले अरू के गर्छ? यसबारे भने अझै पनि प्रष्ट भूमिका अमेरिकाले खुलाएको थिएन। जब जेलेन्स्की अमेरिकाले खेल्ने भूमिकाबारेमा प्रष्ट हुन खोजे, तब उनलाई अमेरिकी पक्षले तानाशाह र चुनाव गराउन नचाहेको व्यक्तिका रूपमा प्रचारित गर्यो।
अहिलेसम्म अमेरिका र संयुक्त राष्ट्रसंघले यो युद्ध रोक्न निर्वाह गर्नुपर्ने भूमिका गरेको छैन। युद्धका लागि संघले जुन तहमा आलोचना गर्नुपर्ने थियो, त्यो गरेको छैन। अन्ततः ह्वाइट हाउसको पछिल्लो घटनापछि भने अमेरिकाले युक्रेनलाई त्यागेको देखिएको छ। त्यसो त जेलेन्स्कीको पनि गल्ती कम रहेन। उनले ट्रम्पसँग वार्ता गर्न, आफ्नो हात माथि पार्न कुनै पनि पत्ती बाँकी राखेका थिएनन्। ट्रम्पले चुनाव लड्नुअघि नै युद्ध आफूले नै समाप्त गर्ने घोषणा गर्दा युक्रेन त्यसैमा भर पर्न थाल्यो, त्यसअघि उसले कुनै अन्य पहल गरेन।
जेलेन्स्कीले ट्रम्प व्यापारी हुन्, उनी राजनीतिज्ञ होइनन् भन्ने पनि ख्याल गरेनन्। ट्रम्प आफ्नो पक्षमा खाता पल्टाउन माहिर छन्। त्यसका लागि उनी जस्तोसुकै व्यवहार गर्न पनि पछि पर्दैनन्। उनले पछिल्लो खनिज सम्झौतामा त्यस्तै विभिन्न दफाहरू राखेको विश्लेषकहरूले बताएका छन्।
अमेरिका खनिजका लागि त्यहाँ गए पनि युद्ध रोकिने कुनै सुनिश्चितता नदेखिएकाले जेलेन्स्की अलि भड्किएको देखिन्छ। सन् २०२२ को फेब्रुअरीमा युद्ध सुरु हुनुअघि नै त्यहाँ पर्याप्त अमेरिकी कम्पनीका व्यवसाय चालु थिए। त्यसका अतिरिक्त पनि युद्ध रोकिएन। जेलेन्स्कीले थप अमेरिकी कम्पनी युक्रेनमा थुप्रिँदा युद्ध रोकिने अरू के सुनिश्चितता छ भन्ने प्रश्न गर्दा ह्वाइट हाउसमा चर्काचर्की पर्न गयो।
युक्रेनमा शान्ति ल्याउनुको अर्थ ट्रम्पले युद्ध नहुनुलाई मानेका छन्। युक्रेनीहरूले भने त्यस्तो शान्ति चाहेका छैनन् भन्ने सन्देश जेलेन्स्कीले दिएका छन्। खासगरी ट्रम्पले चाहेको शान्ति चाहिँ युद्ध स्थगन हो। त्यसैलाई भजाएर अमेरिकी जनतालाई उनी महँगो युद्धबाट बचियो भनी बताउन चाहेको देखिएको केही विश्लेषकको भनाइ छ।
अमेरिका यतिबेला यो युद्धबाट आफूलाई के फाइदा भयो भन्ने प्रश्नको उत्तर पनि खोजिरहेको छ। ट्रम्पले सोही उत्तरस्वरूप आर्थिक फाइदा खोजिरहेका छन्। ओभल अफिसमा जुन व्यवहार ट्रम्पले देखाए, त्यसबाट झुक्दै नझुक्ने युक्रेनी छोराको एउटा छाप बनाएका जेलेन्स्कीप्रतिको रुष्टपना पनि झल्किएको केही विश्लेषक बताउँछन्।
अर्कोतर्फ ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकै ठुलो प्रशंसक पनि हुन्। त्यसको असर उनमा देखिएकाले जेलेन्स्कीलाई कमजोर देखाउने उनको व्यवहार स्वाभाविक पनि थियो। त्यसै पनि ट्रम्प संसारमा धेरै देशको आवश्यकता देख्दैनन्। थोरै देश र सशक्त नेता रहने उनको परिकल्पनाको संसार हो, जहाँ साना मुलुकको अस्तित्वबारे उनी त्यति धेरै चिन्तित छैनन्।
जेलेन्स्की दुर्घटनाको अर्को पाटो उनमा अन्य राजनीतिक व्यवहार नहुनु पनि एक हो। उनमा फ्रान्सेली म्याक्रों र बेलायती केर स्टार्मरजस्तो चातुर्य पनि छैन। ती दुईले ह्वाइट हाउस भ्रमण गर्नुअघि आफ्नो राम्रै छवि बनाएका थिए। उनीहरू दुवैले ट्रम्पलाई प्रभावित पारेका थिए। तर यस्तो देखिन्छ कि जेलेन्स्कीलाई जालमा पारेर उनको छवि धुमिल पार्ने पहिल्यै योजना थियो। अमेरिका पछि हटे युरोप एक्लैले युक्रेनलाई सहयोग गर्न सक्छ कि सक्दैन भन्ने छलफल सुरु भइसकेको छ।
विशेषज्ञहरू जर्मनी, फ्रान्स, बेलायतजस्ता देश मिलेर पनि रुससँग भिड्न नसक्ने बताउँछन् । उनीहरूको सैन्य शक्ति रुसको जति छैन। इन्टरनेसनल इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिजको रिपोर्टअनुसार, रुसले आफ्नो रक्षा बजेट ४१ प्रतिशत (कुल गार्हस्थ्य उत्पादनको ६.७ प्रतिशत) ले बढाएको छ।
अर्कोतर्फ भर्खरै मात्र बेलायतले २०२७ सम्म आफ्नो रक्षा बजेट कुल गार्हस्थ्य उत्पादनको २.५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ। पश्चिमा मुलुकहरू एकजुट भए उनीहरूले दिन सक्ने ३० हजार सैनिक मात्र हो। युरोपसँग अमेरिकाको जस्तो उन्नत मिसाइल, एयर डिफेन्स सिस्टम तथा जासुसी प्रविधि छैन। ओभल अफिसमा जेलेन्स्कीप्रति भएको ‘अपमानजनक’ व्यवहारले संसारभरिका साना देशलाई नराम्रोसँग झस्काएको छ ।
यो पनि पढ्नुहोस्
ओभल अफिसमा जेलेन्स्कीको ‘अपमान’
प्रकाशित: १८ फाल्गुन २०८१ ०६:२० आइतबार