२८ चैत्र २०८१ बिहीबार
image/svg+xml ७:७ पूर्वाह्न
समाज

सडक बनेपछि बन्दीपुरका स्थानीयमा खुसीको लहर

तनहुँको बन्दीपुर गाउँपालिका–५ मा थुम्का जोड्ने सडक ढलान र स्तरोन्नति भएपछि स्थानीयमा उत्साह छाएको छ।  

बन्दीपुर गाउँपालिका–५ मा पृथ्वी राजमार्गको याम्पाचोकबाट भुजेल गाउँ, थुम्का, कोरिखा, बाहुन भन्ज्याङ हुँदै बन्दीपुरका विभिन्न पर्यटकीय गाउँ (होमस्टे) पुग्ने सडकमा नालीसहित स्तरोन्नति गरिएको छ। सडक बनेपछि पहिले हिलो र धुलोले गर्दा आवतजावतमा हुने सास्ती हटेको छ भने यातायात चलाउन पनि सजिलो भएको छ। यही कारण स्थानीय खुसी भएका छन्।  

बन्दीपुर–५ कोरिखाका लीलाबहादुर गुरुङले विसं २०७३ मा सुरु गरेको घरबास (होमस्टे) यो बाटो खराब भएकाले चलाउन समस्या भएको बताए। अब यो समस्या हटेपछि उनले खुसी व्यक्त गरे। उनले भने, ‘नयाँ वर्षको सुरुदेखि नै घरबास नियमित चलाउने योजना छ। पहिले राजमार्गबाट यहाँ आउन ४५ मिनेट लाग्थ्यो, अहिले १० मिनेटमै पुगिन्छ। यसले पाहुना बढ्ने आशा छ।’  

त्यस्तै, बन्दीपुर–५ थुम्काका किसान तामप्रसाद भट्टले दैनिक दूध राजमार्गसम्म पुर्‍याउन सजिलो भएको बताए। उनले भने, ‘पहिले पानी पर्दा सडक हिलाम्मे भएर हिँड्न गाह्रो हुन्थ्यो, अहिले सडक बनेपछि त्यो समस्या हटेको छ।’  

चालु आर्थिक वर्षमा सहरी विकास मन्त्रालयले छुट्याएको १ करोड ३ लाख ३५ हजार रुपैयाँ बजेटमा नयाँ सहर आयोजनाले यो सडक स्तरोन्नति गरेको हो। सडक ७ मिटर फराकिलो बनाएर आरसिसी ढलान र नाली बनाइएको छ। नयाँ सहर आयोजना डुम्रे भन्सारका निमित्त कार्यालय प्रमुख अभिषेक अधिकारीले सबैभन्दा अप्ठेरो मानिएको सडकको ४५० मिटर ढलान गरिएको जानकारी दिए।  

कार्यालयका अनुसार गत आर्थिक वर्षमा यो खण्डमा ३ किलोमिटर कालोपत्रे, २०० मिटर ढलान र ३ किलोमिटर सडक ग्राभेल भइसकेको छ। चालु वर्षको काम राजेन्द्र रमण कन्सट्रक्सन कम्पनीले जेठ २० गतेभित्र सक्नुपर्ने भए पनि चैत मसान्तमै सकिएको नयाँ सहर आयोजनाका इन्जिनियर शान्ति शर्माले बताए। 

गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुर गाउँपालिका–४ देखि बाहुन भन्ज्याङ हुँदै पर्यटकीय गाउँ धरमपानी जोड्ने सडक स्तरोन्नतिका लागि प्रदेश र केन्द्र सरकारसँग बजेट मागेर काम भइरहेको जानकारी दिए। रासस

प्रकाशित: २२ चैत्र २०८१ १६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App