३ वैशाख २०८२ बुधबार
image/svg+xml १७:२० अपराह्न
समाज

मुख्य योजनाकार प्रसाईं भागिसकेछन्, प्रहरीले रातभर खोज्यो: आइजीपी थापा

प्रहरी महानिरीक्षक (आइजीपी) दीपक थापाले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा ५५ जना प्रहरी र २५ जना सशस्त्र प्रहरी घाइते भएको जानकारी दिएका छन्। प्रदर्शनका क्रममा व्यापक हिंसा भएको घटनालाई लिएर शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिने क्रममा उनले यस्तो जानकारी दिएका हुन्। 

आइजीपी थापाले भने, ‘हामीले सम्झाउने, बुझाउने र माइकिङ गर्ने काम गर्दा पनि आन्दोलनकारी नरोकिएपछि बल प्रयोग गर्नुपरेको हो। कम गर्दा किन कम, बढी गर्दा किन बढी भन्ने प्रश्न उठ्यो। गाडीमा मुड्कीले हानेर फुटाइएको छ। तोकिएको निषेधित क्षेत्र नापीसम्म जान पाइने हो। शान्तिनगरको पुलमा एउटा सुरक्षा र अर्को पारीपट्टि राखिएको थियो। त्यहीँबाट नियन्त्रण गर्ने प्रयास भएको हो।’

उनले थपे, ‘त्यहाँबाट एउटा बुलेट गाडी आयो। मेरो २९ वर्षको प्रहरी जीवनमा प्रहरी मार्नेगरी यसरी कुनै गाडी आएको थिएन। गाडीबाट ओरालेर मञ्चमा पुर्‍याइएको हो। उनी मञ्चमा पुग्नुअघि नै झडप र प्रहरीसँग मुकाबिला भइरहेको थियो। त्यसपछि पुलभन्दा पारी अश्रुग्यास हानिएको हो। आन्दोलनकारी झुण्ड–झुण्डमा भएर आक्रमणमा उत्रिए। त्यहाँ नियन्त्रण गर्दागर्दै आन्दोलनकारी बाहिर गए। संसद्, सिंहदरबार र एयरपोर्ट कब्जा गर्ने भनेपछि त्यसैअनुसार बल प्रयोग गरियो।’

प्रदर्शनकारीले लागुऔषध ब्युरो जलाउने प्रयास गरेको र गाडीसमेत जलाएको थापाले जानकारी दिए। ‘त्यति भएपछि आन्दोलनस्थलबाहिर गोली प्रहार गर्दा सबिन महर्जनको निधन भएको हो। झुण्ड–झुण्डमा गएर बाहिर आगजनी र लुटपाट गर्ने काम भएको छ,’ उनले भने। सोही दिन १२ महिलासहित १६१ जना पक्राउ परेको जानकारी पनि उनले समितिलाई गराएका छन्।

‘९४ जनालाई जमानीमा छोडिएको छ। राजद्रोह र उपद्रव अपराधमा अनुसन्धान भइरहेको छ। ३९ वटा गाडीमा क्षति भएको छ र २ जनाको निधन भएको छ,’ उनले थपे। आइजीपी थापाका अनुसार सदनले बनाएको कानुनअन्तर्गत कारबाही प्रक्रिया अघि बढिरहेको छ। 

‘राज्यद्रोहको मुद्दामा २० जनालाई म्याद थप गरेर अनुसन्धान भइरहेको छ भने ५८ जनाविरुद्ध आपराधिक उपद्रवमा मुद्दा चलाइएको छ। मुख्य योजनाकार दुर्गा प्रसाईं बेलैमा भागिसकेका रहेछन्। प्रहरीले रातभर खोज्यो। चरण–चरणमा भागेको अवस्था छ। उनको गाडी इटहरीबाट समातिएको छ र चालक पक्राउ परेको छ। प्रसाईंविरुद्ध पनि मुद्दा चलाइएको छ र खोज्न प्रहरी परिचालित छ,’ उनले भने। 

आइजीपी थापाले प्रदर्शनको हिंसात्मक रूप र त्यसपछिको अवस्थालाई लिएर अनुसन्धान र कारबाही तीव्र रूपमा अघि बढाइएको उल्लेख गरेका छन्। 

प्रकाशित: २२ चैत्र २०८१ १५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App