१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

अधुरो हुलाकी सडक अनुगमन गर्न पुगेको संसदीय टोलीलाई स्थानीयले लखेटे

तस्बिर : कलैयाको अधुरो हुलाकी सडक अनुगमन गर्न आएकी सांसद ज्वाला कुमारीसँग स्थानीयको विरोध।

मानमत–कलैया–मटिअर्वा हुलाकी सडक अधुरो रहँदा निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले कलैयामा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको अनुगमन टोलीको विरोध गरेका छन्। सडक अधुरो हुँदा स्थानीयले सास्ती भोग्नुपरेको र दुर्घटना बढेको गुनासो गर्दै तत्काल निर्माण पूरा गर्न माग गरेका हुन्।

टोलीसँगै आएकी बारा क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य ज्वाला कुमारी साहलाई स्थानीयले विरोधस्थलबाट लखेटे। आन्दोलनमा उत्रिएका हरिओम प्रसादले वर्षौदेखि अधुरो रहेको सडकको निर्माणको लागि यस क्षेत्रबाट पटक पटक निर्वाचित हुँदा पनि कुनै पहल नगरेको र सडक निर्माणको आन्दोलन गर्दा समेत हाम्रो माग पुरा गराउन तर्फ नलागेको देखेर नै आज यस क्षेत्रको सांसदलाई विरोध गर्नु परेको बताए।

स्थानीयवासीको विरोधको सामना गर्नु परेको प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहले आफूले नै कलैया उपमहानगरपालिकाका निवर्तमान प्रमुख राजेश राय यादवसँग समन्वय गरेर अर्थ मन्त्रालयबाट बजेट बिनियोजन गराएको र ठेकेदारले समयमै काम नगर्दा आफूले धेरै पटक यसको विरोध गरेको तर्क गरेकी छिन्।

कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा रहेको अनुगमन टोलीसँग आन्दोलनकारीले अधुरो सडकको निर्माण पूरा गर्न माग राखे। सडकको लागि लामो समय देखि आन्दोलन गर्दै आएका पीडितहरूको माग सुनेर टोलीका संयोजन श्रेष्ठले अधुरो रहन गएको कलैयाको हुलाकी सडकको चाँडो भन्दा चाँडो निर्माण गराउनको लागि टोलीले सरकारसँग पहल गर्ने आश्वासन दिए।

कलैया बजार क्षेत्रको अधुरो सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। अधुरो सडकमा गाडी गुड्दा उड्ने धुलोले हिँडडुल गर्न र सडकछेउका घरमा बस्न नसकिने अवस्था आएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

मानमत–कलैया–मटिअर्वा हुलाकी सडक खण्डअन्तर्गत कलैया बजारको साढे दुई किलोमिटर र अन्य स्थानको गरी करिब साढे तीन किलोमिटर सडक निर्माणका लागि ओम साई एण्ड कम्पनी र सप्तकोशी जलाधार जेभीले २३ करोडमा ठेक्का लिएका छन्। हुलाकी सडक कार्यालय वीरगन्जका इन्जिनियर रविन्द्र दासका अनुसार, २०७८ पुस २७ मा सम्झौता भएर २०७९ माघ १ गतेभित्र काम सक्ने लक्ष्य थियो। तर, निर्माण पूरा नभएपछि २०८१ चैत २९ सम्म म्याद थप गरिएको छ।  

दासले भने, ‘सप्तकोशी जलाधार कम्पनीले काम छोडेर सम्पर्कविहीन भएपछि कारबाही प्रक्रिया सुरु भएको छ।’ ओम साई एण्ड कम्पनीका सञ्चालक होमनाथ गौतमले भने, ‘विद्युतीय पोल र खानेपानीको पाइप नहटाइएकाले कलैया बजारलगायत क्षेत्रमा काम गर्न ढिलाइ भएको छ।’ उनले यी संरचना समयमा नहट्दा कालोपत्रे गर्न समस्या भएको बताए। 

प्रकाशित: २२ चैत्र २०८१ १६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App