नेकपा (माओवादी केन्द्र)ले आजदेखि जनतासँग माओवादी : तराई-मधेस जागरण अभियान सुरु गर्दै छ। माओवादी केन्द्रले झापाको कचनकवलबाट यो अभियान सुरु गर्न लागेको हो।
यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितको केन्द्रीय नेतृत्व झापा पुगिसकेका छन्।
तालिकाअनुसार कोशी प्रदेशको झापामा फागुन १२ गते, मोरङमा फागुन १३ र सुनसरीमा फागुन १५ गते कार्यक्रम हुने छ। यस्तै मधेश प्रदेशको सप्तरीमा फागुन १६, सिरहामा फागुन १७, धनुषामा फागुन १८, महोत्तरीमा फागुन १९, सर्लाहीमा फागुन २१, रौतहटमा फागुन २२, बारामा फागुन २३, पर्सामा फागुन २४ गते हुने छ।
त्यसैगरी बागमती प्रदेशको चितवनमा फागुन २५, गण्डकीको नवलपुर (नवलपरासी पूर्व) मा फागुन २६, लुम्बिनीको परासी (नवलपरासी पश्चिम) मा फागुन २७, रुपन्देहीमा फागुन २८ र कपिलवस्तुमा चैत्र २ गते कार्यक्रम गरिने छ।
यस्तै दाङमा चैत्र ३, बाँकेमा चैत्र ४ र बर्दियामा चैत्र ५ गते र सुदूरपश्चिम प्रदेशको कैलालीमा चैत्र ६ र कञ्चनपुरमा चैत्र ७ गते कार्यक्रम हुने तालिकामा उल्लेख छ।
माओवादीले आफ्नो पार्टी जनतासँग टाढा भएको भन्दै अब जनतासँग जोडिने गरी कार्यक्रम गर्ने भन्दै अभियान सञ्चालन गर्न लागेको बताएको छ। यस क्रममा सरकारले गरेका गलत कामको विरोध गर्ने, जनतालाई सचेत बनाउने, आफू सरकारमा हुँदा गरेका राम्रा काम जनतासमक्ष लैजाने माओवादी केन्द्रले जनाएको छ।
यसैक्रममा अध्यक्ष दाहालले झापाको विहानी भेटघाट गरेका छन्। उक्त अभियानमा माओवादी नेताहरू वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत र अग्नि सापकोटा पनि सामेल छन्। यसअघि शर्माले दाहालसँग पार्टीका विभिन्न क्रियाकलापमा मतभेद राख्दै आएका थिए। यस अभियानमा सँगै देखिएपछि उनीहरूको सम्बन्धमा सुमधुरता आएको अनुमान गरिएको छ।
यो पनि पढ्नुहोस्
माओवादीमा थपिँदै गुट, दबाबमा दाहालयो पनि पढ्नुहोस्
अखिल(क्रान्तिकारी) चुनाव: प्रभाकरको प्रचण्ड प्रहार!प्रकाशित: १२ फाल्गुन २०८१ ०९:०६ सोमबार