१७ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

अखिल(क्रान्तिकारी) चुनाव: प्रभाकरको प्रचण्ड प्रहार!

लामो विवाद र रस्साकस्सीबाट गुज्रिएको नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनले अन्ततः विजयप्रकाश सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। 

सापकोटाले निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७३ मतको झिनो अन्तरले पराजित गर्दै जित सुनिश्चित गरेका हुन्। पदाधिकारीमा भने महासचिव र कोषाध्यक्षसहित बहुसङ्ख्यक पदमा राईको प्यानलका उम्मेदवार जितेका छन्। 

विद्यार्थी निर्वाचनको यो नतिजा सतहमा यसरी देखिए पनि माओवादी केन्द्रभित्रको आन्तरिक राजनीतिमा भने यसले ठुलो हलचल पैदा गर्ने माओवादीकै नेताहरू बताउँछन्। 

यो नतिजाको अन्तर्यमा अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीभित्रको जनमतबाट पहिलो पटक गतिलो धक्का महसुस भएको छ। उपमहासचिव जनार्दन शर्माले आफ्नो प्रभाव ह्वात्तै बढेको देखाएका छन्। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कार्यकर्तामाझ आफ्नो असली हैसियत देख्दा, उपमहासचिव वर्षमान पुनको वैशाखी अध्यक्ष दाहालले नै खुस्काइ दिएका छन्। 

नतिजाले देखाएको वास्तविकता यही हो, किनभने यिनै नेताहरूबिच यो निर्वाचनमा प्रतिष्ठाको लडाइँ भइरहेको छर्लङ्ग तथ्य हो। विजेता अध्यक्ष सापकोटा पार्टी अध्यक्ष दाहाल समर्थित उम्मेदवार हुन्। सतहमा भने उनलाई स्थायी कमिटी सदस्य शक्तिबहादुर बस्नेतको उम्मेदवार भनिएको छ।

पार्टी राजनीतिमा बस्नेत यसअघि उपमहासचिव वर्षमानसँग थिए। दाहालले बस्नेतलाई पुनबाट अलग गरी अर्को टिम खडा गरेको बताइन्छ। तीनै बस्नेतको संयोजनमा सापकोटालाई अखिल क्रान्तिकारीको चुनावी मैदानमा पठाएका थिए। 

झिनो मतान्तरले हारेका राई जनार्दनका उम्मेदवार हुन्। जसले अध्यक्षमा हारे पनि बाँकी पदाधिकारीमा जबरजस्त प्रदर्शन गर्दै धेरै पदमा जित हासिल गरेका छन्। जनार्दनको समर्थनप्राप्त हारेका उम्मेदवारहरूले पनि राम्रै मत पाएका छन्। वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, उपमहासचिव वर्षमानका उम्मेदवारहरू भने प्रतिस्पर्धामै देखिएनन्।

यो नतिजापछि अध्यक्ष दाहालसँग पछिल्लो समय आमने–सामनेको लडाइँ लडिरहेका जनार्दनको हौसला बढ्ने निश्चित देखिएको छ। दाहालविरुद्धको मोर्चामा जनार्दनलाई युवा कार्यकर्ताको समर्थनसमेत देखिएको छ भने, अर्कातिर उनले आफ्ना समकक्षी ठानेका प्रतिस्पर्धी कमजोर देखिएका छन्। 

दाहालको शक्ति र जनार्दनको असन्तुष्टि  

माओवादीको तीन दशक लामो राजनीतिक यात्रामा ‘सुप्रिमो’ दाहालको एकछत्र ‘राज’ चल्दै आएको छ। दाहालको यो ‘प्रचण्ड म्याराथन राज’मा फरक मत राख्दा आफ्नै वैचारिक गुरु मोहन वैद्यदेखि डा. बाबुराम भट्टराईजस्ता प्रखर समकालीन नेता पार्टीभित्र टिक्न नसकेको ज्वलन्त इतिहास छ।

वैद्य र ‘डाक्टर’(भट्टराई)हरूले फरक मत राखे पनि दाहालको रौँसम्म हल्लाउन सकेनन्, आफै लाखापाखा लागे। उनीहरू आफूसँग रहेका केही थान नेता कार्यकर्ता बोकेर चोइटिएर गए।

सिनियर वैद्य र समकालीन भट्टराई नै ‘पतली गली’बाट निस्किएपछि माओवादी केन्द्र भित्र दाहाललाई हाइसन्चो हुने नै भयो। त्यसयता झन्डै एक दशक माओवादीभित्र निर्बाध ‘दाहाल राज’ चलिरह्यो। राष्ट्रिय राजनीतिमा पनि दाहालले उलटफेर गरिरहे।

तर, पछिल्लो समय माओवादीभित्रै दाहालका सदाबहार सहयोगी जनार्दन शर्मा  उर्फ ‘प्रभाकर’ उनीसँग ‘कुम ठोक्काउने’ कर्म गरिरहेका छन्। कतिपयले यसलाई दुस्साहस पनि भनिरहेका छन्।

दाहाल प्रधानमन्त्री हुँदा उनको सचिवालयले नै जनार्दनले ‘पार्टी फुटाउन लागेको’ हल्ला चलाएको थियो। जुन कुरा पार्टीका बैठकहरूमै जनार्दनले भनिसकेका छन्, दाहालले पनि ‘मिस अन्डरस्ट्यान्डिङ’ भएको स्वीकारेका छन्।

दाहालको सत्ता च्युत भएपछि गएको साउनमा बसेको माओवादी केन्द्रका स्थायी कमिटी बैठकमै दाहालविरुद्ध जनार्दनले १४ पेजको फरक धारणा नै राखे। जसमा उनले खुलेर दाहालविरुद्ध आरोपको वर्षा गरेका थिए। यस्तै दाहालले नेतृत्व हस्तान्तरण गर्नुपर्नेसम्मको कुरा भन्न भ्याए।

सामान्यतया: दाहालका लागि पार्टीभित्रै आफ्नो यति बिघ्न आलोचना पाच्य हुने थिएन, भएन पनि। उनका अभिव्यक्तिमा त्यसको झलक झल्किरहन्छ। तर, दाहालले जनार्दनमा कारबाहीको डन्डा भने बर्साउन सकेनन्, न जनार्दन आफै वैद्य र बाबुरामजस्तो पार्टी छाडेर निस्किए। त्यसको कारण पार्टी वृत्तमा जनार्दनले  बनाएको बलियो धरातल रहेको जानकारहरू बताउँछन्। जसको प्रदर्शन विद्यार्थी निर्वाचनमा झन् प्रस्ट भएको छ। 

उसो त दाहाल आफैसँग भने विगतमा पनि पकेटमै रहने कार्यकर्ताको पङ्ती नरहेको जानकारहरू बताउँछन्। ‘उहाँसँग पहिला किरण(वैद्य) कमरेड, बाबुराम कमरेडको काउन्टरमा कृष्णबहादुर महरा, नन्दबहादुर पुन, जनार्दन शर्मा, वर्षमान पुनहरूको सहयोग थियो,’ माओवादीका एक नेता भन्छन्,‘ती कमरेडहरूका आ–आफ्नै गुट थिए। ती गुटले एकीकृत भएर अध्यक्ष कमरेडलाई साथ दिन्थे।’ 

वैद्य, बाबुराम, रामबहादुर थापाहरूले पार्टी छाडेर गए, महरा बलात्कार प्रकरणपछि शिथिल भए। त्यसपछि आफ्नै गुट बनाएका जनार्दन, वर्षमानहरू बिचमा आन्तरिक प्रतिस्पर्धा चुलिएको स्रोत बताउँछ। यस्तोमा नारायणकाजी श्रेष्ठको आफ्नो अलग्गै गुट छदै थियो। दाहालले यी गुटगत लडाइँमा खेलेर पार्टी सत्ता चलाइरहेको बुझ्नेहरू बताउँछन्। 

दाहाल र जनार्दन आमने–सामने आउने अवस्था भने २०७८ पुसमा भएको पार्टीको आठौँ महाधिवेशनपछि हो। त्यो बेला जनार्दन र वर्षमान दुवै जना महासचिवका आकांक्षी थिए। दुवैलाई उपयोगको रणनीतिमा राजनीति गरिरहेका दाहालले दुवैमध्ये एक रोज्न सकेनन्, किनभने दुवै जना एक अर्काका प्रखर प्रतिस्पर्धी भइसकेका थिए। 

महाधिवेशनको ६ महिनापछि दाहालले देव गुरुङलाई महासचिव बनाए। लगत्तै छुट्टै पार्टी चलाइरहेका नेत्रविक्रम चन्दलाई भिœयाएर महासचिव बनाउनेसम्मका प्रस्ताव पनि राखे। दाहालको यो गतिविधिप्रति जनार्दन र वर्षमान दुवै रिसाएका थिए।  

समय क्रमअनुसार वर्षमान दाहालसँग सन्तुलित असन्तुष्टि राख्थे भने, जनार्दन भने रिसाउँदै गए। 

पछिल्लो समय विद्यार्थी निर्वाचनमार्फत अध्यक्ष दाहालले गुट बनाएर आफू विरुद्ध बेलाबेला बोल्ने सबैलाई तह लगाउन खोजेको जानकारहरू बताउँछन्। त्यसका लागि उनले स्थायी कमिटी सदस्य बस्नेतको अलग्गै गुट खडा गरेर नारायणकाजी, जनार्दन र वर्षमान तीनवटैलाई निसाना बनाउन खोजेका थिए । जसमा नारायणकाजी र वर्षमान कमजोर देखिँदा जनार्दन दाहालकै लागि कठिन चुनौती बनेको देखिएका छन्।   

प्रकाशित: १६ माघ २०८१ २०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App