राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार वैशाख ७ गते दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा विधान संशोधन, महाधिवेशन कार्यविधिको मस्यौदा र प्रवासमा रहेका नेपालीहरूलाई मताधिकार दिने लगायतका ९ वटा मुख्य कार्यसूचीमाथि छलफल हुनेछ। बैठकमा सहभागिताका लागि सबै केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।
बैठकका प्रस्तावित एजेन्डाहरूमा केन्द्रीय पदाधिकारीहरूको मनोनयन, स्थानीय तह उम्मेदवार क्लब गठन र सचिवालयका निर्णयहरूको अनुमोदन समावेश छन्।
यस्तै, संसदीय दलको विधान संशोधन, विषयगत विभागहरूको योजना तयारी र विभिन्न निकायबाट प्राप्त पत्राचारका सम्बन्धमा पनि बैठकले आवश्यक निर्णय लिने प्रवक्ता झाले जानकारी दिए।
केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा रास्वपा सचिवालय बैठक आइतबार अपराह्न ३ः३० बजे बस्दैछ। सचिवालय बैठकले केन्द्रीय समितिका लागि कार्यसूची तय गर्नुका साथै प्रतिनिधिसभा सदस्यहरूको साङ्गठनिक जिम्मेवारी र ‘लेवी’ लगायतका प्राविधिक विषयमा छलफल गर्ने जनाइएको छ।
यसैगरी, सचिवालय बैठकमा जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद् र विभागहरूको मनोनयनका विषयमा समेत गृहकार्य हुनेछ।
बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको साङ्गठनिक अवस्थाबारे संक्षिप्त रिपोर्टिङ गर्ने कार्यतालिका समेत तय गरिएको छ।
प्रकाशित: ६ वैशाख २०८३ १५:४७ आइतबार





