व्यवसाय दर्ता तथा नवीकरणसहितका कानुनी प्रक्रिया पूरा नगरेका व्यवसायीलाई सात दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित निकायमा उपस्थित हुन जिल्ला अनुगमन समिति ताप्लेजुङले निर्देशन दिएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङको अगुवाइमा आइतबार सदरमुकाम फुङलिङ बजारका पसलहरूको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा व्यवसायको प्रकृतिअनुसार दर्ता प्रक्रिया पूरा नगरेका पसलहरू भेटिएपछि समितिले समयसीमा तोकेको हो।
कोष नियन्त्रक यामनाथ गिरीका अनुसार कतिपय व्यवसायी अझै दर्ता प्रक्रियामा नआएको पाइएकाले सात दिनभित्र सम्बन्धित निकायमा गई प्रक्रिया सुरु गर्न निर्देशन दिइएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले तोकिएको समयभित्र दर्ता प्रक्रिया सुरु नगर्ने व्यवसायीविरुद्ध थप कानुनी कारबाही अघि बढाइने बताए।
मदिराजन्य सामग्री बिक्री गर्ने पसलले अन्तःशुल्क प्रयोजनका लागि कोष तथा लेखा नियन्त्रक कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था छ। फुङलिङ नगरपालिकाले पनि व्यवसाय दर्ता अनिवार्य गरेको जनाएको छ।
व्यवसायको प्रकृतिअनुसार कम्पनी रजिस्ट्रारको कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय तथा ताप्लेजुङ उद्योग वाणिज्य संघमा समेत दर्ता तथा नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ।
ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतमले संघमा आबद्ध नभएका व्यवसायीलाई सदस्यता लिन आग्रह गरिएको बताए।
अनुगमन टोलीले व्यवसायीलाई मूल्यसूची अनिवार्य राख्न, नियमित अद्यावधिक गर्न, म्याद गुज्रिएका तथा अखाद्य वस्तु बिक्री नगर्न, उत्पादन तथा उपभोग मिति उल्लेख नभएका सामग्री बिक्री नगर्न पनि सचेत गराएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले दर्ता, नवीकरण र करचुक्तासहितका वैधानिक प्रक्रिया पूरा नगर्ने व्यवसायीमाथि कडाइका साथ कारबाही गरिने संकेत गरेका छन्। अनुगमन टोलीले व्यवसायीहरूको सम्पर्क विवरणसमेत संकलन गरी तोकिएको समयसीमापछि पुनः अनुगमन गर्ने जनाएको छ।
प्रकाशित: ६ वैशाख २०८३ १५:५१ आइतबार





