११ वैशाख २०८२ बिहीबार
image/svg+xml १८:३ अपराह्न
अन्तर्राष्ट्रिय

२०८१ को विश्व : युद्ध, विपत्त, निर्वाचन र एआईको उदय वर्ष

विक्रम सम्वत् २०८१ विश्वका लागि अत्यन्त तनावपूर्ण वर्ष रह्यो। यस अवधिमा राजनीतिक द्वन्द्व, प्राकृतिक प्रकोप र महत्त्वपूर्ण निर्वाचनहरूले विश्वव्यापी परिदृश्यमा गहिरो प्रभाव पार्‍यो। मध्य पूर्वको तनाव, रुस–युक्रेन युद्ध, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वलाई असर गर्ने विभिन्न निर्णय र कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासले ०८१ लाई विशेष बनायो।

मध्य पूर्वमा तनाव र सैन्य कारबाही

मध्य पूर्वमा जारी तीव्र राजनीतिक र सैन्य तनाव विक्रम सम्वत् २०८१ मा अझ बढ्यो। इजरायल र इरानबीचको द्वन्द्वले विशेष ध्यान खिच्यो। इजरायलले सिरियाको दमास्कसमा इरानी दूतावासमा हवाई आक्रमण गर्दा तीन वरिष्ठ इरानी जनरलहरूसहित सात जना मारिए। यो घटनाले क्षेत्रीय शक्ति संघर्षलाई नयाँ उचाइमा पुर्‍यायो। इरानले जवाफमा इजरायलमाथि सयौं ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो। यद्यपि प्रत्यक्ष पूर्ण युद्ध नजिक पुगेका दुई देश फर्किए। गाजा पट्टीमा दुई वर्षभन्दा लामो समयदेखि जारी तनाव जारी नै रह्यो। लेबनानमा हिजबुल्लाहविरुद्ध इजरायलको आक्रमणले संघर्षलाई अझ गम्भीर बनायो। उक्त समूहका संचार उपकरण (पेजर) विस्फोटलाई एक महत्त्वपूर्ण घटना मान्न सकिनछ। पेजर आक्रमणपछि इजरायलले सो समूहका शीर्ष नेतृत्वलाई हत्या गर्ने क्रम जारी राख्यो। सिरियामा बशर अल–असदको शासनको पतनले मध्य पूर्वको शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्यायो।

प्राकृतिक प्रकोपका चुनौतीहरू

विक्रम सम्वत् २०८१ मा प्राकृतिक प्रकोपहरूले विश्वभर मानवीय र आर्थिक क्षतिको वर्ष बनायो। ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पले १९ जनाको मृत्यु भयो। पपुवा न्यू गिनीमा आएको भिषण पहिरोले ६७० भन्दा बढीको मृत्यु भयो भने हजारौं विस्थापित भए। स्पेनमा आएको बाढीमा परेर सयौंको मृत्यु भयो। तिब्बतमा ६.८ म्याग्निच्युड र म्यानमारमा ७.७ म्याग्निच्युडका भूकम्प जाँदा ठूलो मानविय क्षति भयो। ती भूकम्पमा परेर क्रमश: ९५ र ५ हजार ३०० भन्दा बढीको मृत्यु भएको छ। म्यानमारमा उद्धार कार्य जारी भएका कारण मृतक संख्या अझ बढ्न सक्ने अनुमान छ। सैन्य शासनले ग्रस्त म्यानमार गृहयुद्धबाट बाहिर निस्किएर क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय सहायता खोजिरहेको छ। अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा लागेको भिषण आगलागीले पनि ठूलो विस्थापन र क्षति पुर्‍यायो।

विश्वव्यापी राजनीतिक परिवर्तन र निर्वाचनहरू

०८१ मा भएका निर्वाचनले विश्व राजनीतिलाई नयाँ बाटोमा लगेको देखियो। भारतको लोकसभा निर्वाचनमा एनडीए गठबन्धनले २९३ सिट जित्यो। नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बने। युरोपेली संसदको निर्वाचनमा दक्षिणपन्थी दलहरूको उदयले सबैलाई आश्चर्यचकित बनायो। युरोपेली संघ समर्थक समूहहरूले बहुमत कायम राखे, जसले युरोपमा उदार सोच र दक्षिणपन्थी प्रवृत्तिबीचको संघर्ष देखाउँछ। बेलायतमा लेबर पार्टीबाट केयर स्टार्मर प्रधानमन्त्री बने। लेबरले १४ वर्षको कन्जरभेटिभ शासन समाप्त गर्दै बेलायतमा जित निकालेको हो। 

मेक्सिकोमा क्लाउडिया शिन्बाउम पहिलो महिला राष्ट्रपति भइन्।अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई पराजित गर्दै डोनाल्ड ट्रम्पले दोस्रो पटक जित हासिल गरे। क्यानाडामा जस्टिन ट्रूडोले राजीनामा दिएपछि मार्क कार्नी कार्यवाहक प्रधानमन्त्री बने। क्यानडा नयाँ सरकारका लागि आउँदो अप्रिल २८ मा निर्वाचनमा जाँदैछ। दक्षिण कोरियामा तत्कालीन राष्ट्रपति युन सुक(योलले सैन्य शासन लगाउन खोजे। केही घण्टा मात्रै टिकेको उनको त्यो प्रयासविरुद्ध महाभियोग र फौजदारी मुद्दा दायर भयो। हाल कार्यवाहक राष्ट्रपति हान डक(सो नेतृत्व गरिरहेका छन्। दक्षिण कोरियामा जुन ३ मा मध्यावधि राष्ट्रपतीय निर्वाचन हुनेछ। इरानमा तत्कालीन राष्ट्रपति इब्राहिम रइसीसहित उच्च पदस्थ अधिकारीहरूको हेलिकोप्टर दुर्घटनापछि नयाँ नेतृत्व निर्वाचित भयो। यसै वर्ष चुनावी र्‍यालीमा ट्रम्पमाथि पेन्सिल्भेनियामा हत्या प्रयास पनि भयो। 

राष्ट्रपति ट्रम्पका विश्वमा प्रभाव पार्ने निर्णयहरू

कार्यभारत सम्हालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका निर्णयहरूले विश्वव्यापी प्रभाव पार्‍यो। उनले अमेरिकाको आप्रवासन नीतिमा कडाइ गरे, अवैध रूपमा बस्ने विदेशी नागरिकहरूलाई फिर्ता पठाउने नीति अघि बढाए। उनले नेपालसहित विश्वलाई दिइने सहयोग रोक्का गरेर चर्चामा आए। उनको यो निर्णयले धेरै देशले शिक्षा, स्वास्थ्यसँगै मानवीय सहायतामा ठूलो असर महसुस गर्नुपरेको छ। ट्रम्पको दोस्रो कार्यकालले अमेरिकी विदेश नीतिमा कट्टरपन्थी सोच हाबी भयो। उनले हरेक कुरामा अमेरिकाको स्वार्थ जोडेर हेर्न थाले। विशेष गरी मध्य पूर्व र चीनसँगको सम्बन्धमा बाइडेन प्रशासनको भन्दा ट्रम्प अलग हिड्न खोजेको देखिन्छ। उनले चीनमाथि १४५ प्रतिशत र अन्य देशहरूमाथि १० प्रतिशत भन्सार शुल्क लगाएका छन्। चीनले १२५ प्रतिशत कर लगाएर जवाफ दिएको छ। 

पारस्परिक कर नीतिका कारण विश्व व्यापार युद्धको खतरा बढेको छ। ट्रम्प र अर्बपति एलन मस्कबीचको मित्रता अमेरिका मात्रै नभएर विश्वभर नै चर्चित छ। अमेरिकी सरकारको खर्च कटौतीमा मस्कको भूमिका महत्वपूर्ण छ। उनले सरकारी कर्मचारी हटाउने र बजेट रोक्का गर्नेजस्ता विवादास्पद निर्णय गरिरहेका छन्। सोहीकारण उनीहरूविरुद्ध अमेरिकाभर विरोध प्रदर्शन भइरहेको छ। ट्रम्पका नीतिहरूले युरोपेली देशहरूलाई त्रासमा राखेको छ। विशेष गरेर उनको रुसका राष्ट्रपति भ्लादमिर पुटिनसँगको निकटतालाई लिएर युरोपमा ठूलो भय देखिन्छ। ट्रम्पको क्यानडासँगको विवादले पनि नयाँ उचाइमा पुगेको छ। उनले क्यानडालाई अमेरिकामा गाभ्नेदेखि लिएर क्यानडाका प्रधानमन्त्रीलाई गभर्नर भनेर गरेको सम्बोधन निकै चर्चामा रह्यो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलन्स्कीसँग ओभल अफिसमा भएको भेटले पनि अमेरिकाको विदेश नीतिमा नयाँ सिफ्ट देखियो।

कृत्रिम बुद्धिमत्ताको (एआई) तीव्र विकास र प्रभाव

विक्रम सम्वत् २०८१ मा कृत्रिम बुद्धिमत्ता (एआई) को क्रेज विश्वभर बढ्यो। यसको बढ्दो प्रयोगले प्रविधि, अर्थतन्त्र, र समाजमा नसोचेको परिवर्तन देखियो। युरोपेली संघले एआई नियमन गर्ने ऐन पारित गर्‍यो। ऐनले एआईको विकास, प्रयोगजस्ता कुरालाई सुरक्षित बनाउने प्रयासका रुपमा लिइएको छ। जनवरी २०२५ मा चीनको डिप्सिक एआई च्याटबोटको घोषणाले अमेरिकी बजारमा ठूलो हलचल ल्यायो। एआईले स्वास्थ्य, शिक्षा, र व्यापार क्षेत्रमा सहजता भएको छ। 

तर यसको दुरुपयोग र गोपनीयता चिन्ताले पनि चासो बढाएको छ। बढ्दो एआईको प्रयोगले विश्वमा दिग्गज कम्पनीले ठूलो संख्यामा कर्मचारी कटौती पनि गरे। मेटा, माइक्रोसफ्ट, गुगलजस्ता विश्वका चर्चित प्रविधि कम्पनीले ठूलो संख्यामा कर्मचारी कटौती गरे। धेरै देशहरूले एआई नीतिहरू विकास गर्न थालेका छन्। यसले भविष्यको श्रम बजार र सुरक्षा व्यवस्थामा ठूलो प्रभाव पार्ने देखिन्छ। विज्ञानको कुरा गर्दा गत वर्ष अमेरिकी अन्तरिक्ष संस्था नासाका प्रतिनिधि सुनिता विलियम र बुच विल्मोर झण्डै १० महिना अन्तरिक्षमा फसेर पृथ्वीमा ओर्लिएको कुरा पनि एक अद्भूत चमत्कार भन्दा कम रहेन्।

विक्रम सम्वत् २०८१ मा भएका विभिन्न निर्णयले विश्वको भूराजनीतिक, वातावरणीय, र प्रविधिक परिदृश्यलाई गहिरो रूपमा प्रभावित गर्‍यो। राजनीतिक र सैन्य घटनाहरू, विशेष गरी मध्य पूर्व र अमेरिकामा देखिएको परिवर्तनलाई विश्वले नजिकबाट हेरेको थियो। प्राकृतिक विपत्तले मानवीय र आर्थिक क्षेत्रमा क्षति पुग्यो। निर्वाचनहरूले नयाँ नेतृत्व र नीतिहरू ल्याए। यसको दीर्घकालीन स्थिरतामा प्रभाव पर्ने देखिन्छ। ट्रम्पका निर्णयहरूले व्यापार, आप्रवासन, र विदेश नीतिमा ठूलो परिवर्तन देखिएको छ। एआईको विकासले प्रविधि क्षेत्रमा अवसर र चुनौती दुवै ल्याएको छ। यी सबैले विश्व अर्थतन्त्र, राजनीति, र समाजमा नयाँ चुनौतीहरू सिर्जना गरेका छन्। 

चुनौती र भविष्य

विक्रम सम्वत् २०८२ विश्वभरका धेरै चुनौतीहरूको जगमा उभिने पक्का छ। विगत लामो समयदेखि जारी सैन्य संघर्ष, जस्तै गाजा र युक्रेनमा, अझै सकिएको छैन। अमेरिकामा ट्रम्पको सत्ता परिवर्तनले विश्व व्यापार युद्धको खतरा बढाएको छ। चीनसँगको तनाव जारी छ। जलवायु परिवर्तन र प्राकृतिक प्रकोपहरूले मानवीय संकट निम्त्याइरहेका छन्। एआईको द्रुत विकासले नैतिक र सुरक्षा चुनौतीहरू प्रस्तुत गरेको छ। यी तमाम घटनाहरूबाट सिकेका पाठले शान्ति, समृद्धि, र सतर्कताको नयाँ युगको आधार तयार गर्नु आजको आवश्यकता हो। विक्रम सम्वत् २०८१ विदा गरेर २०८२ लाई स्वागत गर्दाहामीले यी घटनाहरूको गहिरो प्रभाव स्वीकार गरेर शान्ति, स्थिरता र समृद्धिको दिशामा अघि बढ्नुपर्छ। सबैलाई नयाँ वर्षको शुभकामना। एजेन्सीको सहयोगमा

प्रकाशित: १ वैशाख २०८२ १३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App