१० वैशाख २०८२ बुधबार
image/svg+xml ३:३८ पूर्वाह्न
कला/संस्कृति

कुहिरोले घुम्टो उघारेपछि खुलेको ‘कुहिरोभित्र घूम जोरबङ्गलो’

पुस्तक

कतिपय स्रष्टा, सर्जक एवं प्रियजनसँगको साहित्यिक भेटघाटको संयोग आफैंमा सुखद संयोग हुन्छ। संयोगवश एउटा साहित्यिक कार्यक्रमका दौरान मूर्धन्य केही नेपाली साहित्यकारको टोली काठमाडौंमा आगमन भएको थियो। साहित्यिक अनुष्ठानको सन्दर्भले विशिष्ट केही सर्जकको कृति पढ्ने सुअवसर पनि जुर्यो। साहित्यकार हुनुको नाताले प्राप्त भएको मौकालाई सदुपयोग नगरिकन सकिएन।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले संयोजन गरेको अनौपचारिक भेटमा थुप्रै नयाँ स्रष्टासँग साक्षात्कार हुने मौका मिल्यो। हामी नेपालका तर्फबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, अनेसास गण्डकी प्रदेश अध्यक्ष देवेन्द्र केसी, गीतकार राजेन्द्र गुराँगाईं, कवि विष्णुमाया कट्टेल, नारायण सापकोटा र म थियौं।

बङ्गलादेशबाट आएका स्रष्टा मनोजबहादुर गुर्खा, असमका साहित्यकार रण काफ्ले, प्राडा राजकुमार केसी (दार्जीलिङ), प्राडा टेकबहादुर छेत्री (सिक्किम),  इजा प्रकाशन दार्जीलिङकी संस्थापक सचिव एवं साहित्यकार मञ्जुला तामाङ सुब्बा, साहित्यकार तथा समालोचक अमला सुब्बा छेत्री (दार्जीलिङ), सिलिगुडी भारतबाट कवि तथा सम्पादक प्रदीप रसाइली लगायतका विशिष्ट व्यक्तित्वसँगको भेटघाट सबैका लागि अर्थपूर्ण थियो।

उक्त सुयोगको श्रेय भने माझी उत्थान संघकी केन्द्रीय अध्यक्ष चिनीमाया माझीलाई जान्छ। माझी उत्थान संघले आयोजना गरेको कार्यक्रमका दिन तय भएको थियो यो अनौपचारिक जमघटको मेसो। जमघटले केही न केही सार्थकता पाएको अनुभूत गरेको छु मैले। छोटो बसाइमै पनि साहित्यका, अनुवादका, अन्तरदेशीय प्रकाशनका, साहित्यिक तथा साँस्कृतिक आदानप्रदानका, लेखनका, सम्मान र आत्मसम्मान लगायतका विविध विषयमा विमर्श भएको थियो हामीबिच।

स्रष्टाहरूका पुस्तकहरू आदानप्रदान भयो। केही योजनामाथि विमर्श भयो। उक्त भेटघाटले म लगायतका अन्य मित्रगणमा पनि महत्त्वपूर्ण उपलब्धि हासिल भयो भन्ने लाग्छ। विभिन्न उपलब्धिमध्ये इजा प्रकाशन (दार्जीलिङ) का श्रद्धेय व्यक्तित्वद्वय मञ्जुला तामाङ सुब्बा र अमला सुब्बा छेत्रीद्वारा अभिव्यक्त प्रकाशनगृह स्थापनाको पृष्ठभूमिले अलिक भावुक पनि भएँ म। इजा प्रकाशन संस्थाको पृष्ठभूमिलाई अर्को लेखनीमा विशेष चर्चा गरूँला।

कवि मञ्जुलाले आफ्नो पुस्तकाकार कृति ‘कुहिरोभित्र जोरबङ्गलो श्रद्धाले अर्पण गर्दै भन्नुभएको थियो, ‘सर कृपया पढेर सुझाव दिनु भए आभारी हुने थिएँ।’

मैले मौन सहमति जनाएर कृति सहर्ष स्विकारेको थिएँ। सोही दिन उहाँहरूमध्ये धेरैको आफ्नो मुलुकतर्फ प्रस्थान गर्नुपर्ने हतारो पनि थियो। क्रमशः स्रष्टाहरूलाई हामी यथोचित बिदाइ अभिवादन पनि गर्दै थियौं।

मेरो हातमा रहेको आफ्नो कृति हेर्दै साहित्यकार मञ्जुलाले फेरि पनि भन्नुभयो, ‘सर,पढ्नु होला है।’

मैले ‘हस’ भनें। साथीहरू आआफ्नो गन्तव्यतर्फ लाग्न झोला, सुटकेस, उपहार प्राप्त पुस्तक बटुलबाटुल पार्न थाल्नुभयो क्रमशः क्रमशः हामी पातलियौं। बिदाइको क्रमसँगै नेपाल तर्फका हामीले पनि आआफ्नो बाटो ततायौं।

अघिल्लो दिन उपहार प्राप्त पुस्तकहरू टेबलमा नै थिए। मैले एकएक गर्दै हेरें, पल्टाएँ। केहीका आवरण, केहीका भित्री अंश, केहीका भूमिका, यसैगरी सर्सर्ती हेर्ने काम भयो प्राप्त पुस्तकहरू।

‘कुहिरोभित्र घूम जोरबङ्गलो’ ले फेरि तान्यो आँखा। चियाको कप टेबलमा राखेर ‘कुहिरोभित्र घूम जोरबङ्गलो’ पुस्तक हातमा उठाएँ। हेरे, ओल्टाइपल्टाइ गरे। आवरणको पृष्ठभूमि आकाश, हिमाल, मन्दिर, रेल, ध्वजापताका आदिले सुसज्जित कृतिलाई मैले अझ न्यानो गरी समाएँ।

सुरज मोक्तानले तयार गरेको कलात्मक मुखपृष्ठ हेर्दैमा लयबद्ध कविता जस्तो प्रतीत भयो। कृतिलाई ओल्टाइपल्टाइ पारे। भित्र पल्टाएर हेरें। लेखिएको थियो ’आदरणीय वरिष्ठ कवि ऋषभदेव घिमिरेमा सादर भेट’ मञ्जुला तामङ सुब्बा, दार्जीलिङ दिनाङ्क १८।०३।२०२५।

इजा प्रकाशन घूम, दार्जीलिङबाट प्रकाशित ‘कुहिरोभित्र घूम जोरबङ्गलो’ श्रृङखला कवितासङ्ग्रह इजा तिमीलाई नै। समर्पित छ।

समालोचक अमला सुब्बा छेत्रीको सुन्दर र विश्लेषणात्मक भूमिका छ। कविताको समिक्षात्मक टिप्पणी, थाकथलोको वर्णन, श्रृङ्खला कविताका पक्ष एवं ऐतिहासिक तथ्यका विषयलाई भूमिकाकारले उजागर गर्नुभएको छ।

स्रष्टाको आफ्नो भनाइ छ। आफ्नो भनाइभित्र ८५ वर्षे आमामा छोरीको कविता पढ्ने आतुरता छ। पुस्तक छिटो हात पारेर न्यानो स्पर्श दिने हुटहुटी छ। आमाको ममतामयी प्रेमको चित्र छ। कविताक्रम छ। छन् अनि ५५ थान खँदिला कविता।

कवि मञ्जुलाका कविताहरू एकएक गर्दै सर्सर्ती हेर्न थाले। हेर्दै जाने क्रममा प्रारम्भकै कविताभित्र एउटा ऐतिहासिक एवं प्राकृतिक धरोहर मजबुत भएर उभिएको भेटे। शीर्ष कविताको (क) र (ख) खण्डदेखि नै ललित भावका साथ अघि बढ्छन् सङ्ग्रहको अरू कविताको अध्ययन यात्रा।

‘कुहिरोभित्र जोरबङ्गलो’ कवितामा भौगोलिक पृथकताबाट सुन्दरता मुस्कुराएको छ। प्रकृति चित्रण, भोगाइ, अनुभूति र स्थानीय मिठास सर्लक्क टिपेर सजाइएको छ। प्रकृतिको वर्णन छ। भूगोलको महिमा छ।

समाजको सूक्ष्माति सूक्ष्म अंश टिपेर साकार पारिएका कविताले पाठकीय मन आनन्दित पार्ने काम गरेको छ। कविता भित्र धार्मिक प्रसंग छन्। स्थानगत परिचयको प्रचुरता छ। अध्ययन र अनुसन्धानका लागि पनि कविता पठनीय र सङ्ग्रहणीय छ।

आन्दोलनको पीडाबाेध, गोर्खाल्यान्डको वीरता र विरासत, बस्तीको कथा, जीवन र जगतको परिपाकपूर्ण चित्रणले कवितालाई सशक्त बनाएको छ। स्थानीयताको मौलिक सुगन्धसहित सबल र दुर्वल पक्ष टिपेर न ओइलने माला उनिएको छ कवितामा।

आकर्षक दृश्य कति रमाइलो बतासेको

यसैले त घूमको गरिमा बढेको।

चार दिशामा चार बाटाहरू छुट्टिन्छन् घूम जोरबङ्गलो

कुहिरोले छेक्दैन कहिल्यै कसैको गन्तव्य 

सजीव चित्र जस्ता छन् कविताहरू। गुराँस फुलेको छ। पलासले छरेको छ बेहिसाब सौन्दर्य। कविताभरि गोदावरी फुलेको छ। एजेलिया मुस्कुराएको छ। बेगुनिया हाँसेको छ। फूलका, प्रकृतिका, लहराका अनेक सुन्दर व्यञ्जनले उहाँको कविता अजम्बरी बन्ने छ भन्ने ठान्दै अगाडि बढ्दै ,पढ्दै थिए ‘कुहिरोभित्र घूम जोरबङ्गलो’।

कवितामै हिउँको पछ्यौरी ओढाएर न्यानो भाव पस्कन कवि मञ्जुला सफल हुनुभएको भेटियो। कतिपय हिर्दोक गाथाहरूमा पनि विहङ्गम विम्बको प्रयोगले कविता बलिया बनेका छन्।

घूम जोरबङ्गलो प्रवेशद्वार दार्जीलिङ शहरको

सुकिया मिरिक पशुपति बिजनबारी घूम नछोई पुगिन्न

जोरबङ्गलो नभई सिक्किमकालेबुङ, सिलगढी देखिन्न

आलुबारी तेञ्जिङ नोर्गेपथ

उल्लिखित कविताले स्थानीय परिचयलाई मिहीन रूपमा प्रस्तुत गरेको छ भने अन्य कविताभित्र अनेक व्यञ्जना छ। कतै लक्षणाहरू छन्। स्मरण,स्विकारोक्ति, प्रेम, पात्र, पर्यटन आदि विषय, सन्देश र भावका प्रसंगले ‘घूमूघूमू जस्तै भएर रहेको छ।

कवि मञ्जुलाद्वारा लिखित कविता राम्रा छन्। सरल, सरस र विचारोपयोगी छन्। यात्राका क्रममा देखेका, भोगेका र यात्रानुभूति कवितामा उतारेका कवितादेखि विविध परिवेशका कविता उहाँको सङ्ग्रहमा सङ्ग्रहीत छ। ‘टाइगर हिल’को कविता छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कवितांश छ। स्थानीय पर्यटन,पर्यावरण र प्रकृतिले सुन्दर छटा छ। ‘सिञ्जेल लेक धाप’ कविताले जीवनदायिनी पानी र दार्जीलिङ चिनाउने पर्यायको चर्चा छ। जीनको प्रसंग छ। चुँडेलको प्रेम, कल्पनापरिकल्पना र वर्तमान तथा इतिहासका कविता छन् ‘कुहिरोभित्र घूम जोरबङ्गलो’ मा।

स्याल, फ्याउरा, सिन्दुरे जस्ता विम्बको प्रयोग छ। टाइगर हिल, वन विहार, वन विहारमा कटुसको स्वाद कवितामा स्वादिलो भएर रूपान्तरित छ। ‘यथार्थ कुरा छन्। ‘जलपाडा’ छ। पानी छ। दस्तावेज छ। जलले जस्तै प्यास मेट्ने र शीतल दिने कविता र कवित्व छ।

कविता लामा भए पनि पाठकको मन तान्ने खालका नै छन्। पट्टयार लाग्ने कविता छैनन्। कविताहरूले जाँगर भर्ने काम गरेको छ। कताकतिका हरफहरू सम्बादात्मक लाग्नु अस्वाभाविक देखिन्न। चियाबारीका मजदुरको पसीना र कथा छ।

सङ्ग्रहभित्र सगरमाथा अटाएको छ। कञ्चनजङ्घा उभिएको छ। प्रकृति सजिएको छ। किंवदन्ती, इतिहास र वर्तमान पुस्ताको जिम्मेवारीलाई सन्देशात्मक रूपमा प्रस्तुत गरिएका कविता छन्।

‘अचेल’ कविताले ग्रामीण परिवेशको सफा चित्र उतारेको देखिन्छ। विकास, सन्तुष्टि, खेतखलियान, गाईगोठ, खोला, वनपाखाका कविता छन्। असल चित्रकारले ग्रामीण परिवेशको नमेटिने चित्र क्यानभासमा उतारेका जस्ता कविता छन्। कवितामा गुम्बा छ। माने छ। चैत्य छ। ‘ॐ मणि मद्मे हूँ’ जस्ता मंगलसूचक विम्ब र मिथ छ। व‌ैदिक तरङ्ग, रिन्पोछे, आत्मापरमात्मा, बुद्ध, दर्शन र अनेक किंवदन्ती छ।

हरेकजसो कवितामा जोरबङ्गलो जुगेकै देखिन्छ। जोरबङ्गलो कुहिरोभित्र मात्र होइन कविताभित्र पनि न भत्कने धरोहर भएर स्थापित बनेको छ। ‘मोनाष्ट्री’ का कविता छन्। पद्मसंभव, भक्त, पर्यटन, शान्ति तथा ‘अहिंसा परमो धर्म’ को मान्यतालाई कवितामा सुन्दर ढंगले उतारिएको छ।

धार्मिक आस्था र विश्वासले ओतप्रोत भएका वर्णनात्मक कविताहरू छन्। ‘हरहर महादेव’, श्री सत्य साई’, ‘इश्वरीय विद्यालय’, ‘चर्चहरू’, ‘स्कुल’ जस्ता ज्ञान, धर्म, आचरण, नैतिकता र सदाचार सिकाउने आस्थाका केन्द्र एवं स्थानीय महत्त्वलाई कवितामा राम्रोसँग उतारिएका छन्।

अनुपम दृश्य चियाउने

आनन्द सन्तुष्टिको मञ्च

प्रथम प्राकृतिक डाँडा

दुर्बिने डाँडा घूम रक्

ऐतिहासिक स्थल ‘घूम रक्’

छैनन् कसैका नजर परेका

अवहेलित एकलो दुर्बिने डाँडा

स्थान, प्रकृति, परिवेश, गतिविधि र समाजका विविध अवयबलाई सरल भावमा कवि मञ्जुलाले प्रस्तुत गर्नुभएको छ। विवरणात्मक खालका कविता पनि पनि सङ्ग्रहभित्र। उहाँको विविधता भनेको सबै खाले पाठकलाई समेट्नु पनि हो भन्ने लाग्यो मलाई। कतिपय कविता अझ परिस्कृत गर्न सकिने भए तापनि दुरुस्त राखिनुमा स्थानीय आवश्यकता हो कि?

सङ्ग्रहभित्रका ५५ कवितामा ‘खुकुरी’ छ। खुकुरीका प्रकार, प्रयोग, गोर्खाली शान, युद्ध वर्णन, संस्कृति, व्यापार, रहनसहन,समेटिका छन्। ‘धनुषकाँड’ पहिचान बनेको छ। नाचका कुरा। कलमका कुरा। खेलका कविताका साथै पात्र र प्रवृत्तिका कविताले पनि स्थान पाएका छन्।

‘राय साहेव’ लगायतका कवितामा कर्मवीरका, धर्मवीरका, परोपकारका, कर्तव्य आदिका पाठ पढाउने ज्ञानपरक कविता छ। कीर्तिगाथा छन्। पात्रको चयन र प्रयोग  सजीव छ। स्वर साम्राज्ञी अरुणा लामाको जीवनीपरक र उहाँप्रति समर्पित ‘अरुणा लामा’ शिर्षकको कवितामा गीतको बोल टिपेर सुन्दर कविता सिर्जना भएको छ।

चम्किलो तारा सङ्गीताकाशको

कीर्ति रचिन् विश्वले चिन्यो

कर्मले पुर्‍यायो अन्य ठाउँ

घूम जोरबङ्गलो अरुणा जन्मेकी

पुण्य गाउँ

कर्मको गति, कर्म नै पूजा र कर्म गर्न उत्प्रेरित गर्ने भावका कविताले सङ्ग्रहलाई अझ ओजिलो बनाएको छ। ‘दिलमाया खाती’ को कविता छ। जोरबङ्गलोकी  छोरी वरिष्ठ गायिका दिलमाया खातीलाई ‘घूमको हिरा’ नेपालले चिन्नजानेको प्रसंग पनि उल्लेख छ कवितामा।

पुस्तकको नाम जुर्नुमा घूम जोरबङ्गलोका प्रतिभावान् व्यक्तित्वहरूको जन्मस्थल, गरिमा, प्राकृतिक सुन्दरता, इतिहास जस्ता बहुविशेष्य पक्ष भएर पनि होला उक्त नाम अङ्कित भएको। सङ्ग्रहभित्र प्रतिष्ठित प्रतिभाका नाममा लेखिएका थुप्रै कविता छन्। सबै कविताको छुट्टाछुट्टै विशेषता, महत्त्व, ऐतिहासिकता तथा स्थानीयताको फरकफरक स्वादका नबिर्सने मीठासपूर्ण  कविता छन्।

कवि मञ्जुलाको लेखन यात्रा अविरल अविराम चलिरहोस्। आगामी लेखन अझ परिस्कृत, परिमार्जित र सशक्त हस्ताक्षर बन्न सफल होस्। हार्दिक शुभकामना।  - ऋषभदेव घिमिरे 

प्रकाशित: १ वैशाख २०८२ ११:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App