१० पुस २०८२ बिहीबार
image/svg+xml
खेल

लुम्बिनी कप: आर्मीलाई हराउँदै पुलिस फाइनलमा

नेपालगन्जमा जारी लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ‘सडन डेथ’ मा ६–५ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

नेपालगन्ज रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले पहिलो हाफमै मिनाकाे गोलमार्फत अग्रता लिएको थियो। तर खेलको अन्त्यतिर आर्मीकी तुलसा बोहराले गोल फर्काउँदै खेल १–१ को बराबरीमा पुर्‍याइन्।

निर्धारित समय बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा प्रवेश गर्‍यो। दुवै टिमले पाँच–पाँच पेनाल्टी प्रहारमा बराबरी गरेपछि खेल ‘सडन डेथ’ मा पुगेको थियो, जहाँ पुलिस विजयी बन्यो।

पुलिसतर्फ निरु थापा, उषा नाथ, रेबिका पाण्डे, सुष्मा तामाङ, अनुष्का शेर्पा र अमृता जैसीले गोल गरेका थिए भने मोनिका पुलामी मगर, मिना देउवा र समीक्षा घिमिरे गोल गर्न असफल भए।

त्यसैगरी आर्मीका तुलसा बोहरा, हिमा चौधरी, सपना लामा, बिमला बिक र सुखरिया सुकलुले गोल गरे। तर कप्तान सुनिता चौधरी, इन्दिरा राई, अञ्जली बोहरा र चन्द्र भण्डारीले पेनाल्टी चुकाएपछि आर्मीको यात्रा सेमिफाइनलमै रोकिएको हो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पुलिसकी गोलकिपर उषा नाथ ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले ट्रफीका साथ नगद पाँच हजार रुपैयाँ प्राप्त गरिन्।

टुर्नामेन्टको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम फुटबल संघलाई ४–० ले हराउँदै सेमिफाइनल पुगेको थियो भने पुलिसले भारतको सिलगुडी फुटबल क्लबलाई त्यहि स्कोर अन्तरले पराजित गरेको थियो।

दोस्रो सेमिफाइनल खेल बुधबार रौतहट जिल्ला फुटबल संघ र सशस्त्र प्रहरी (एपीएफ) क्लबबीच हुनेछ। रौतहटले बाँके–११ लाई ३–० ले तथा एपीएफले कर्णाली प्रदेशलाई ६–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए।

फाइनल खेल यही वैशाख १२ गते नेपालगन्ज रंगशालामा हुनेछ। प्रतियोगितामा कुल ८ टिम सहभागी छन्। आयोजक बाँके जिल्ला फुटबल संघका अनुसार विजेता टिमले नगद ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

प्रत्येक खेलको उत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०८२ २१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App