९ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

नेपाल-भारत अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तारमा महत्त्वपूर्ण सम्झौता भएको छ।

ऊर्जामन्त्री खड्काको निमन्त्रणमा दुईदिने भ्रमणका लागि आज नेपाल आएका भारतीय विद्युत्मन्त्री खट्टर र ऊर्जामन्त्री खड्काको उपस्थितिमा दुई देशबीच ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण सम्झौता भएको हो।

गत माघ ३० गते भारतको नयाँ दिल्लीमा नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औँ बैठकले ४०० केभीको इनरुवा–न्यू पूर्णिया र दोदोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम गर्ने सहमति गरेसँगै उक्त कम्पनीलाई अगाडि बढाउनेबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

उक्त हस्ताक्षरमा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्य र पावर ग्रीड लिमिटेड भारतका निर्देशक डा. यतिन्द्र दुवेदीले संयुक्त हस्ताक्षर गरे।

समझदारीअनुसार दुई प्रसारण लाइन निर्माण गर्न नेपालतर्फ स्थापना हुने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ स्थापना हुने कम्पनीमा भारतको ५१ प्रतिशत शेयर स्वामित्व रहने उल्लेख छ। बाँकी ४९ प्रतिशत दोस्रो पक्षको रहनेछ।

प्रसारण लाइनमध्ये इनरुवा–न्यू पूर्णियाको लम्बाई नेपालतर्फ करिब २५  किलोमिटर र भारततर्फ १०० किलोमिटर रहेको छ भने दोदोधरा–बरेली प्रसारण लाइनको नेपालतर्फ करिब ३५  किलोमिटर र भारततर्फ १५० किलोमिटर रहेको छ।

कार्यक्रममा ऊर्जामन्त्री खड्काले दुई देशको ऊर्जा विकासमा यो सम्झौता महत्त्वपूर्ण भएको बताए। उनले नेपालको ऊर्जा विकासको क्षेत्रमा भारतले पुर्‍याएको सहयोगप्रति धन्यवाद दिए।

प्रकाशित: ९ वैशाख २०८२ २१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App