१) न्वारान
आँगनमा आइपुगेका सुकदल सुब्बालाई विद्याधरले स्वागत गर्दै भने, “काकाकाकी! यता बस्नुहोस्।”
“उ! पण्डित पनि आइपुगे।” राडीमा बस्तै सुब्बाले भने।
तामझामले नातिको न्वारान गर्न तयार चित्तधरको फर्याकफुरुक देखेर आँगनमा भेला भएका निम्तालुलाई पण्डितले भने, “ल भन्नुस् त, नाम के अड्कल गर्नुभयो?”
केटाकेटी बूढाबूढी सबैले नाम भन्दै थिए। सुब्बाले पनि भने, “यस्तो खालका नामचैँ नराखौँ है! हरिलट्ठक छ नाम चैं बुद्धिप्रसाद अरे!”
“यो बालकको नाम त जन्मलग्न कुण्डली अनुसार पो पण्डितले जुराउँछन् त। यहाँ सल्लाह गरेर नाम राखेर हुन्छ?” चित्तधरले भने।
बुबा! समय अनुसारको नाम राख्नुपर्छ, नत्र पछि आफैँ फेर्छन्। नागरिकतादेखि सारा प्रमाणपत्रमा सच्याउनुपर्छ।” विद्याधरले बुबालाई भोलि हुने समस्यालाई देखाए।
“जुरेकै नाम राखे सुभ्यफाव्य हुन्छ, कुनै विपत् पर्दैन।” चित्तधरले आफ्नो विचारमा अड्डी थपे।
सिलेटमा कोरकार गरेर पण्डितले भने, “यो बालकको नाम श्रीधर पो जुर्यो।”
सुब्बाले ठूलो स्वरमा भने, “कतै, जसको सिङ छैन उसको नाम तिखेचैँ नहोस् नि! राम्रो हेर है पण्डित!
२) छाेइछिटाे
सिलौटोको छेउमा टोलाएर उभिएकी थिएँ, श्रीधरले भन्यो– “ए आमा! भोक लाग्यो!”
आजचाहिँ मीठो पारेर खाने सोचेर मसला पिस्न म बाहिर निस्किएकी थिएँ, सिलौटोलाई दुःखी मुद्रामा देखेर ठिङ्ग उभिएँ।
“के भद्रो हेरेकी। मनमौजी दल न।” सिलौटाले भन्यो।
मसला त पिस्नै थियो। छेउमा बसेँ। टिठलाग्दो भावमा गुनासो गर्यो, “सँगैका साथीहरू खोलामा रमाएर बसेका छन्, आफू भने रातोदिन पिसिनुपरेको छ।”
सिलौटाको रोदन सुनेर मसला पिस्न मेरा हातै लागेनन्।
सिलौटो भन्दै थियो, “तिमी मानिसहरू कसैलाई शालिग्राम बनाएर पुज्छौ, कसैलाई सिलौटो बनाएर दल्छौ। आखिर हामी एकै आमाका सन्तान त हौँ नि!”
सिलौटाले मानिसले गरेको विभेद प्रस्ट्याउन खोज्यो।
म एकोहोरो भएर सुनिरहेकी थिएँ, त्यसै समयमा लोहोराले भन्यो, “हुन्देऊ आमा! यी मानिस आफ्नै सजातीयलाई त छोइछिटो गर्छन् हामीलाई के बाँकी राखून्?”
३) खुसी
बालख श्रीधरलाई लिएर बा त्यहाँ पुगे। हेर्दाहेर्दै श्रीधरका दामले अरू पनि आइपुगे। सबैले बेलुन किने। श्रीधर बेलुन किन्न पाएर खुसी भयो।
हर्षले किनेको बेलुन हातबाट छुट्यो र उड्यो। ऊ थपडी बजाउँदै खुसीले उफ्रियो।
प्रसन्नताको बेलुन प्याट्ट फुट्यो। ऊ झन् खुसी भई। व्यापारी व्यापार भएकाले खुसी थियो।
सबै एक–अर्कालाई हेर्दै खुसी नै थिए।
बाले पनि मुस्कुराउँदै मनमनै गुने, “खुसी हुन त जान्नुपर्ने पो रहेछ!”
४) समय
“हैन के अचम्म! आज त बेलैमा घर आइपुग्यौ त?”
“यी हेर त, के ल्याएको छु!” मुसुक्क हाँस्दै विनोदले भने।
विनोद नजिकैको बजारमा घडी बनाउने काम गर्थे। उनी प्रायजसो पसल बन्द गरेर फूलमायाको भट्टीमा साँझ बिताउँथे। घर आउँदा लर्खराउँदै रित्तो हात आउँथे।
“खै हेरौँ के ल्याएछौ?” शोभाले हातको झोला खोसेर हेरिन्। मिठाईको पोको रहेछ।
“मलाई त विश्वास नै लागेन। सुरमै त छौ? कसरी आज फूलमायाको पसल बिर्सियौ?”
“मलाई माफ गर शोभा! आजदेखि मैले पिउन छोडेँ। अब सधैँ समयमै घर आउँछु।”
छोरा श्रीधरले पनि छेउमा गएर हेर्यो। मुख मिठ्याउँदै उसले भन्यो, “बाबाले घडीमात्र होइन आजदेखि आफूलाई पनि बनाउन थाल्नुभएछ।”
५) दृश्य
“ए बाउ! एउटा कट्टु किनिदेऊ न!” कट्कटिएको बाहुलाले सिँगान पुछ्दै श्रीधरले भन्यो।
अँगेनाको अगुल्टो ठोस्दै भुजेल कान्छाले मनमनै भन्यो, “तेरी आमालाई एउटा मजेत्रो किन्न सकिएको छैन.... !”
“ऊ हेर त! ढुकुर भाग्न आँटिसके।” थालमा फ्याप्लो पस्किँदै प्याकुलीले भुन्टेको ... देखाइन्।
चोलाको ठाउँठाउँबाट कान्छीको लाजले पनि चियाएर कुरा सुनिरहेको थियो।
कान्छाले पुर्पुरामा हात लगाएर फ्याप्लो खाएको घुँडाले हेरिरहेको थियो।
“ल्याउन त हुन्थ्यो नि!” कान्छो फत्फतायो।
“त्यही भाले बेचेर भए पनि ल्याइदेऊ न त।” कान्छीले कान्छालाई समाधानको उपाय बताई।
निदाएको भुन्टेको दुई तिघ्रापछाडिको कुरीकुरी यस छलफलमा सहभागी थियो। खुसी हुनुपर्ने भुन्टे तर कुरीकुरी खुसी भयो।
प्रकाशित: १ वैशाख २०८२ १३:३४ सोमबार