१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml १७:३५ अपराह्न
समाज

टोखाको सपनतीर्थमा मेला : बिहानदेखि भक्तजनको घुइँचो

काठमाडौंको उत्तरी क्षेत्र टोखामा लाग्ने सपनतीर्थ मेला सुरु भएको छ। टोखा नगरपालिका–२ मा रहेको सपनतीर्थ मन्दिरमा पूजा गर्ने तथा कुण्डमा स्नान गर्ने भक्तजनको आज बिहानदेखि घुइँचो लागेको हो।

प्रत्येक वर्षको वैशाख १ गते लाग्ने सपनतीर्थ मेलामा काठमाडौं उपत्यकाभित्र र उपत्यकाबाहिरका दर्शनार्थीको भीड लागेको छ। आज एक दिन मात्र लाग्ने मेलामा बिहानदेखि हजारौँ भक्तजनले मेला भरेको टोखा वडा नं २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी दिए। मेला भर्न आएका भक्तजनले मन्दिरमा पूजा गर्ने, स्नान गर्ने, भाकल गर्नेसमेत गरेका छन्।

सपनतीर्थ मन्दिरमा पूजापाठ गर्ने तथा स्नान गर्नाले सन्तान प्राप्त हुने र सम्पत्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ। सपनामा चिताएको हरेक कुरा पूरा हुने भएकाले सो मन्दिरमा दर्शन तथा स्नान गर्ने गरिन्छ। सपनतीर्थ मेला टोखामा आज एक दिन मात्र लाग्ने भए पनि वैशाख २ देखि ४ गतेसम्म तीन दिन खट जात्रा (सिन्दूर जात्रा) हुनेछ। टोखाको विशेष पर्व उत्सवका रूपमा यो जात्रालाई लिने गरिन्छ।

बाजागाजाको मौलिक धुनमा भ्रातृत्व र सद्भाव र शिष्टताका साथ धुमधामसँग यो पर्व मनाइन्छ। टोखावासीको एकताको प्रतीकका रूपमा यस जात्रालाई लिने गरिन्छ।

प्रकाशित: १ वैशाख २०८२ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App