सप्तकोशीमा बगाएर लैजाने तयारी अवस्थामा रहेको झण्डै २ क्लिण्टल गाँजा उदयपुर प्रहरीले पक्राउ गरेको छ। मध्यराति गाँजा तस्करी हुँदैछ भन्ने सूचना पाएको प्रहरीले सोमबार विहान १ः५० बजे सो गाँजा बरामद गर्न सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका नगरपालिका ८ चतारास्थित सप्त नदी किनारबाट प्लास्टीकले बेरेको २ बोरा गाँजा बरामद भएको हो। बसको २ वटा ट्युबलाई बाँसले जोडेर त्यसमाथि १ सय ८० किलोका ६ बोरा गाँजा बाँधेर तस्करी गर्न लागेको अवस्थामा नदी किनारबाट बरामद भएको प्रहरीले जनाएको छ।
गोप्य सूचनाका आधारमा बेलका ९ रामपुरस्थित इलाका प्रहरी कार्यालय र कोठुस्थित अस्थायी प्रहरी चौकीबाट खटेको संयुक्त टोलीले बेवारिसे अवस्थमा भेटिएको गाँजा बरामद गरेको हो। बरामद गाँजा इप्रका रामपुरमा राखेर संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए।
यसअघि पनि सप्त नदी आसपास चतारा, कोठु र डुम्रिबोटे क्षेत्रमा पटकपटक सयौँ किलो गाँजा बरामद हुनुका साथै कैयौँ व्यक्तिसमेत पक्राउ पर्ने गरेका छन्। यी सिलसिलेवार घटनाले सप्त नदीमा बगाएर भारदह हुँदै भारतीय बजारतर्फ गाँजा तस्करी हुने गरेको आशङ्का प्रहरीले गर्दै आएको थियो।
यो घटनाले आशङ्का पुष्टि गरेको प्रहरी भनाइ छ। ‘पहिला पनि यो क्षेत्रमा गाँजा र त्यसमा संलग्न व्यक्तिहरू पटकपटक पक्राउ पर्दै आएकै हो,’ प्रहरी स्रोत भन्छ, ‘आज विहान नदी किनारमै बगाउन ठिक्क पारेको अवस्थामा गाँजा भेटिनुले पानीको बहावसँगै गाँजा चोरी तस्करी हुँदै आएको तथ्य पुष्टि भयो।’
अहिलेसम्म घटनामा संलग्न व्यक्तिहरू भने कोही फेला नपरेको डिएसपी दोङले बताए।
प्रकाशित: १ वैशाख २०८२ १३:४५ सोमबार