१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

सरकारमा जानेहरूले आफ्नो स्वार्थमा काम गर्ने परिपाटी बढ्यो : शर्मा

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले सत्ता केन्द्रित राजनीतिले देशलाई थिलोथिलो पारिरहेको बताएका छन्। बिहीबार रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले राजनीतिक दल सत्तामा लिप्त हुँदा सुशासनका बाटाहरू कमजोर हुँदै गएको बताए।

सरकारमा जानेहरूले सुशासनमा काम गर्नुको सट्टा आफ्नो स्वार्थमा काम गर्ने परिपाटी बढ्दै गएको उनको भनाइ थियो। सरकारमा जानेले आफ्नो स्वार्थ केन्द्रित काम गर्नाले जनतामा असन्तुष्टि बढ्दै गएको शर्माले उल्लेख गरे। शिक्षकहरू आन्दोलनमा रहेको विषय उठान गर्दै शिक्षा क्षेत्रलाई सुधार गर्न शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्ने र त्यसका लागि पार्टीले सरकारलाई ध्यानाकर्षण गराउँदै आएको समेत बताए।

शिक्षा, स्वास्थ्यलगायत विषयमा सुधार गरेर देशभित्रै आफ्नै स्रोत साधन प्रयोग गरेर राष्ट्र समृद्धि बनाउने दृढ सङ्कल्प, दूरदृष्टि भएको नेतृत्व जनताले खोजी रहेको उनले बताए।

फरक प्रसङ्ग जोड्दै प्रतिनिधिसभा सदस्य शर्माले  केही व्यक्ति तथा पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध अफवाह फैलाउने निरङ्कुशतालाई फिर्ता ल्याउने कुरा गरिरहेको हुँदा भ्रममा परेर यसका पछि नलाग्न सबैलाई आग्रह गरे। 'कराउनेहरू कराइराख्छन् सबै ठूला दलहरू नयाँ, पुराना सबै दलहरूले आफूलाई बदल्नुपर्छ, रूपान्तरण हुनुपर्छ, जनताप्रति समर्पित हुनुपर्छ, जनताको पक्षमा काम गर्नुपर्छ,' उनले भने।

प्रकाशित: १२ वैशाख २०८२ ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App