३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

संसद बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफलदेखि यी हुन् बैठकका कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। सङ्घीय संसद भवनमा बस्ने आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यस्तै आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि माननीय सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने छ भने प्रधानमन्त्री दाहालले उक्त छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम पनि आजको संसद बैठकमा तय गरिएको छ।

सभामुख घिमिरेले प्राप्त संशोधनहरू र राष्ट्रपतिले २०८१ जेठ १ गते संसदको दुबै सदनमा संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखन आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

त्यसअघि आजको संसद बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोरा पढेर सुनाउने छन् भने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूलाई मनोनयन गर्नेछन्।

त्यसपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्नेछन् भने सांसद प्रेम सुवालले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नेछन्।

त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्विकार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भने अर्थमन्त्री वर्षमान पुनले ‘आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण’ पेश गर्नेछन्। साथै उनले ‘बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।

आजकै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ती भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ती भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमो पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसअघि पटकपटक अवरुद्ध हुँदै आएको संसद बैठक नियमित रुपमा सुचारु हुने वा नहुने भन्ने विषय शिर्ष नेताहरुबीच्को छलफलमा निर्भर गर्छ। 

प्रकाशित: १३ जेष्ठ २०८१ ०७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App