कर्णालीका १० वटै जिल्लाका नेपाली कांग्रेसका सभापतिहरु नियमित महाधिवेशनको पक्षमा उभिएका छन् । शुक्रबार कर्णालीका १० जिल्ला मध्ये ९ जिल्लाका सभापति र सल्यानका उपसभापतिले विज्ञप्ति निकालेर केन्द्रीय कार्य सम्पादन समितिको पुस १८ गतेको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको जानकारी गराइसकेको बताउँदै पार्टीको आधिकारिक निर्णयविना व्यक्ति विशेषबाट आव्हान गरिएको विशेष महाधिवेशनमा सहभागी नहुन आव्हान गरिएको छ ।
नेपाली कांग्रेस सुर्खेतका सभापति खड्कबहादुर पोखरेल, दैलेखका सभापति मणिराम रेग्मी, जाजरकोटका सभापति बेदराज सिंह, जुम्लाका सभापति कर्णबहादुर शाही, मुगुका सभापति ऐनबहादुर शाही, हुम्लाका सभापति मोहनविक्रम सिंह, रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओली, डोल्पाका कार्यबहाक सभापति लवकुमार शाही, कालिकोटका सभापति अम्मबहादुर शाही र सल्यानका उपसभापति सन्तोष केसीले निकालेको संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसका सम्पूर्ण तहका पदाधिकारी सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भातृ तथा सुभेच्छुक संघ संस्था, विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई व्यक्तिले आव्हान गरेको विशेष महाधिवेशनमा सहभागी नहुन आग्रह गरिएको छ ।

‘नेपाली कांग्रेसको लागि वर्तमान समय भनेको आफ्नो १५ औं महाधिवेशन सम्पन्न गर्नु र लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको आम निर्वाचनलाई सफल बनाउन पार्टीको महत्वपूर्ण कार्यभार रहेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस आफ्नो १५ औ महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिबाट प्रकाशित गरेको कार्यतालिकामा कार्य गर्दै अगाडि बढेको वर्तमान अवस्थामा नियमित महाधिवेशनको विकल्पको रुपमा प्रस्तुत गरिएको विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम नियमित महाधिवेशनको कार्यतालिका प्रकाशित भएबाट निस्क्रिय भएको कुरा सबै कांग्रेसजनलाई अवगत भएको विषय हो ।’
विज्ञप्तिमा पार्टी विधिले चल्नु पर्छ व्यक्तिले होईन भन्दै भनिएको छ, ‘वर्तमान अवस्थामा घोषित नियमित १५ औं महाधिवेशन र आम निर्वाचनलाई प्रभाव गर्ने गरी आह्वान गरिएको विशेष महाधिवेशनले पार्टी एकतालाई क्षति पुर्याउने तथा मुलुक र पार्टीलाई दुर्घटना निम्तिने हामी सबैको ठम्याई छ ।’

प्रकाशित: २५ पुस २०८२ १४:४६ शुक्रबार





