राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले वर्तमान संविधानमाथि आन्तरिक तथा बाह्य विभिन्न शक्तिबाट चौतर्फी प्रहार भइरहेको दाबी गरेका छन्।
आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा सिंहले वर्तमान संविधान असफल भए आगामी १० वर्षसम्म नयाँ संविधान बन्न नसक्ने बताए। कुनै कारणले संविधान गुमे देश गृहयुद्धको चक्रब्यूहमा फस्ने र मधेशले जनयुद्ध तथा मधेश आन्दोलनको जगमा प्राप्त गरेका अधिकार र उपलब्धिसमेत गुम्न सक्ने उनको दाबी थियो।
केन्द्रको सत्ता सञ्चालन गर्नेहरूले मधेशलाई सधैँ उपेक्षा गर्दै आएको आरोप लगाउँदै सिंहले मधेश र कोशी प्रदेशलाई रणनीतिक रूपमा ‘ब्याटल ग्राउन्ड’ बनाउने प्रयास भइरहेको दाबी गरे। उनले जात, धर्म, भूगोल वा राजनीतिक स्वार्थका नाममा मधेशलाई विभाजित गरेर द्वन्द्वको मैदान बनाउन नहुने बताएका छन्।
आफ्नै दलको सरकार भए पनि जनताका सवालमा सरकारलाई निरन्तर खबरदारी गरिरहने सिंहले बताए। उनले मधेशमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति–सुरक्षा र सरसफाइजस्ता आधारभूत आवश्यकता अझै कमजोर अवस्थामा रहेको उल्लेख गरे।
मधेशमा अझै स्तरीय सरकारी मेडिकल कलेज वा सुपर स्पेसियालिटी अस्पताल नहुनु विडम्बनापूर्ण रहेको उनको भनाइ थियो। मधेशको विकासका लागि शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा र सरसफाइलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका छन्।
छठपछि मेची–महाकाली पदयात्रा
मधेशका वास्तविक समस्या, जनअपेक्षा र विकासका चुनौती प्रत्यक्ष रूपमा बुझ्न छठपछि मेची–महाकाली पदयात्रा गर्ने सिंहले घोषणा गरेका छन्।
उनका अनुसार छठको पारणका दिन जनकपुरधामस्थित गंगासागरमा अर्घ्य दिएर जानकी मन्दिरको दर्शन गरेपछि झापाको भद्रपुरबाट पदयात्रा सुरु गर्ने योजना छ। यात्राका क्रममा जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या र अपेक्षा सुन्ने सिंहले बताएका छन्।
उनले यात्रालाई सामाजिक एकता र समृद्धिको सन्देशसँग जोड्ने बताएका छन्। युवाको विदेश पलायन, किसान तथा मजदुरका समस्या, सीमावर्ती क्षेत्र, व्यापार र मधेशको विकासलगायत विषयमा जनतासँग प्रत्यक्ष संवाद गर्ने उनको योजना छ।
प्रकाशित: ४ आश्विन २०८३ २०:४५ आइतबार





