मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ।
चक्रघट्टा गाउँपालिकाले सूचना जारी गर्दै शुक्रबार गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालयसहित सरकारी र गैरसरकारी कार्यालयमा एक दिन शोक बिदा दिने निर्णय गरेको हो।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका मात्रै एक गर्भवती महिला र बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। छठ मनाउन घर फर्किंदै गरेका यात्रुहरुको मृत्यु भएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ।
गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई प्रतिमृतक ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ।
मृतकको अन्तिम संस्कार तथा काजक्रियामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिने गाउँपालिकाले जनाएको छ।
शोक बिदाको दिन सरकारी तथा सार्वजनिक कार्यालयबाट नियमित सेवा प्रवाह बन्द रहने भए पनि स्वास्थ्य संस्थाबाट आकस्मिक सेवा भने सञ्चालन हुने सूचनामा उल्लेख छ।
गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै गाउँपालिकावासीलाई दुःखको यस घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।
प्रकाशित: २७ कार्तिक २०८३ ०८:४८ शुक्रबार

