बंगालको खाडीमा न्यूनचापीय प्रणाली विकसित हुँदै गएपछि आगामी बिहीबारदेखि नेपालमा त्यसको प्रभाव देखिन सक्ने मौसमविद्हरूले बताएका छन्। प्रारम्भिक मौसम मोडलहरूले पश्चिम नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखाएको उनीहरूको बताएका हुन्।
यद्यपी, मौसम मोडलहरूले प्रणालीको वास्तविक गति, दिशा र प्रभावबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न नसकिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती बताउँछन्। उनले बंगालको खाडीमा न्यूनचापीय अवस्था विकास हुँदै गएको र त्यसको प्रभाव नेपालमा देखिन सक्ने प्रारम्भिक संकेत देखिएको बताए।
प्रमुख उप्रेतीका अनुसार आगामी बिहीबारदेखि नेपालमा मौसम प्रणालीको प्रभाव देखिन सुरु हुन सक्नेछ। शुक्रबारको मध्यरातदेखि पश्चिम नेपालमा यसको प्रभाव बढी देखिन सक्ने प्रारम्भिक अनुमान छ।
विशेषगरी लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रदेखि बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्मका क्षेत्रमा शुक्रबार राति, शनिबार, आइतबार र सोमबारसम्म वर्षाको प्रभाव रहन सक्ने प्रारम्भिक आकलन गरिएको छ। तर अहिले विभिन्न मौसम मोडलहरूले वर्षाको मात्रा र प्रणालीको प्रभावबारे फरक–फरक अनुमान गरिरहेका छन्। त्यसैले तत्कालै भारी वा अति भारी वर्षा हुने भनेर निष्कर्ष निकाल्न नमिल्ने उप्रेतीको भनाइ छ।
‘विभिन्न मोडलले फरक–फरक अवस्था देखाएका छन्। कुनै मोडलले धेरै भारी वर्षा देखाएको छ भने अर्कोले कम देखाएको छ,’ उप्रेतीले नागरिकन्युजलाई भने, ‘प्रणाली आउने सम्भावना देखिए पनि यसको गति र प्रभाव कस्तो हुन्छ भन्ने कुरा अहिले नै निर्क्योल भइसकेको छैन।’
यस्तै, त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बिहीबारदेखि नेपालमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेका छन्।
पोखरेलका अनुसार भारतको उत्तरपश्चिमी क्षेत्र पञ्जाब, हरियाणा, राजस्थान र दिल्लीसम्म मनसुन सकिएका कारण त्यहाँबाट सुख्खा हावा आउने अवस्था बनेको छ। बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीलाई उक्त सुख्खा हावाले रोक्ने भएकाले प्रणाली नेपालतर्फ आउने र त्यसका कारण नेपालका विभिन्न क्षेत्रमा ठूलो वर्षा हुन सक्ने उनको भनाइ छ।
उनले सामाजिक सञ्जालमार्फत यो विषय डर सिर्जना गर्न नभइ सम्भावित जोखिमप्रति सचेत गराउन र पूर्वतयारीका लागि जानकारी गराइएको स्पष्ट पारेका छन्।
पोखरेलले आगामी असोज ८ देखि १२ गतेसम्म हुने भनिएको सम्भावित भारी वर्षाबारे धेरैले सोधिरहेको भन्दै हालको पूर्वानुमानअनुसार त्यस्तो सम्भावना देखिएको बताएका हुन्। आफूले विभिन्न मौसम पूर्वानुमान मोडलहरूको अध्ययन गरेपछि मात्रै उक्त जानकारी सार्वजनिक गरेको बताए।
'विभिन्न पूर्वानुमान मोडलहरूले सुरुदेखि नै वर्षाको अवस्था देखाइरहेका छन्। केही मोडलमा ४०० मिलिमिटरभन्दा बढी वर्षा हुने देखिएको र अधिकतम ७४१ मिलिमिटरसम्म वर्षाको पूर्वानुमान गरिएको छ,' उनले सामाजिक सञ्जालमार्फत निरन्तर सतर्क गराइरहेका छन्।
यद्यपि, यस्तो वर्षा नेपालको धेरै ठूलो भूभागमा वा केही निश्चित क्षेत्रमा मात्र सीमित हुन सक्ने भएकाले अहिले नै कहाँ कति वर्षा हुन्छ भन्ने निश्चित भन्न नसकिने उनले बताए।
‘यो गलत होस् भन्ने चाहना छ, किनकि नपरे राम्रो हुन्छ,’ पोखरेलले भनेका छन्, ‘तर सुरुदेखि ठाउँ फरक देखाए पनि पूर्वानुमान एउटै छ। सम्भावना बढी देखिएकाले सबैलाई तयारी गर्न सहज होस् भनेर जानकारी राखेको हुँ।’
जल तथा मौसम विज्ञान विभाग र विपद् प्राधिकरणबिच यस विषयमा छलफलसमेत भइसकेको प्रमुख उप्रेतिले बताए। प्रणालीको थप अध्ययनपछि सोमबार साँझसम्म पहिलो आधिकारिक बुलेटिन सार्वजनिक गर्ने तयारी गरिएको उनले जानकारी दिए।
प्राधिकरणले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्तरिक रूपमा सुरक्षा निकाय र जिल्ला विपद् व्यवस्थापन समितिहरूसँग समेत समन्वय तथा सञ्चार गरिरहेको जनाएको छ। यद्यपि पूर्वानुमान स्पष्ट नभइसकेको अवस्थामा तत्कालै आम नागरिकमा त्रास सिर्जना हुने गरी सूचना प्रवाह नगरी थप विश्लेषण र अनुगमन गर्ने नीति लिइएको छ।
उप्रेतीका अनुसार अहिलेको पूर्वानुमान मोडलमा आधारित भएकाले वर्षाको निश्चित मात्रा बताउनसमेत केही समय लाग्नेछ। प्रणालीले समुद्रबाट कति जलवाष्पयुक्त वायु बोकेर ल्याउँछ भन्ने स्पष्ट भएपछि मात्रै कुन क्षेत्रमा कति मिलिमिटरसम्म वर्षा हुन सक्छ भन्नेबारे तुलनात्मक रूपमा विश्वसनीय पूर्वानुमान गर्न सकिनेछ।
‘अहिलेको अवस्था मोडलमा आधारित पूर्वानुमान हो। मोडलले कहिलेकाहीँ वास्तविक अवस्थाभन्दा बढी वर्षा देखाउन सक्छ,’ उनले भने, ‘आज र भोलिको थप विश्लेषणपछि मात्रै वर्षाको मात्रा र प्रभावबारे थप स्पष्ट हुन सक्छ।’
मौसमविद् उज्वल उपाध्यायले पनि बंगालको खाडी र अण्डमानसागरका बिचमा तीव्र गतिमा विकसित भइरहेको न्यूनचापीय प्रणाली अब केही दिनमा चक्रवाती आँधी (साइक्लोन्) मा परिणत हुने सम्भावना बढेको बताए। यसो भएमा यस चक्रवातको नाम 'अर्नब' हुने र यसको प्रभाव नेपालमा असोजको ८, ९ र १० मा पर्ने देखिन्छ।
'अहिलेको लागि यति भनियो कि यी तीनदिन सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामोदूरीको यात्रा स्थगनगर्नु उपयुक्त होला,' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'वर्षाको तीव्रताकति हुने भन्नेबारे अझै प्रष्टसँग निर्क्योल हुन बाँकी छ।'
काठमाडौंमा मध्यम वर्षाको सम्भावना
प्रारम्भिक अनुमानअनुसार काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भने पश्चिम नेपालमा जस्तो ठूलो वर्षाको सम्भावना देखिएको छैन। काठमाडौं क्षेत्रमा मध्यम खालको वर्षा हुन सक्ने र तुलनात्मक रूपमा पश्चिम नेपालमा बढी प्रभाव पर्न सक्ने देखिएको उप्रेतीले बताए।
यद्यपि मौसम प्रणालीको दिशा र तीव्रतामा परिवर्तन हुन सक्ने भएकाले काठमाडौंलगायत अन्य क्षेत्रमा हुने वर्षाबारे पनि थप विश्लेषण आवश्यक रहेको उनको भनाइ छ।
असोजभरि निरन्तर प्रणाली आउने सम्भावना कम
हाल विकास हुँदै गरेको प्रणालीपछि अर्को त्यस्तै शक्तिशाली मौसम प्रणाली आउने सम्भावना तत्कालका मोडलहरूमा स्पष्ट रूपमा नदेखिएको उप्रेतीले बताए। भारततर्फ मनसुन क्रमशः कमजोर हुँदै फिर्ता हुने क्रममा रहेकाले असोज महिनाभरि लगातार ठूलो वर्षा हुने अवस्थाबारे अहिले नै निष्कर्ष निकाल्न नसकिने उनको भनाइ छ।
बाढी-पहिरोकोजोखिम उच्च
आगामी बिहीबारदेखि नेपालमा प्रभाव पार्न सक्ने मौसम प्रणालीका कारण देशका अधिकांश क्षेत्रमा वर्षा हुने र नदी तथा खोलानालामा पानीको बहाव बढ्ने सम्भावनापनि देखिएको छ। प्रारम्भिक मौसम पूर्वानुमानअनुसार पश्चिम नेपालका तराई, चुरे तथा पहाडी क्षेत्रमा यसको प्रभाव बढी पर्न सक्ने देखिएको छ।
बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले प्रणालीको प्रभाव तीनदेखि चार दिनसम्म रहन सक्ने र लगातार वर्षा हुने सम्भावना रहेकाले बाढी तथा डुबानको जोखिम उच्च रहेको बताए।
'विशेषगरी तराई, चुरे तथा पहाडी क्षेत्रमा जोखिम बढी देखिएको छ। खोला तथा नदी आसपासका बस्ती, सडक, पुल, जलस्रोत आयोजना र निर्माणाधीन संरचनामा समेत सावधानी अपनाउनुपर्ने देखिएको छ,' उनले भने।
अहिलेको प्रारम्भिक अनुमानमा प्रणालीले देशका अधिकांश भूभागलाई प्रभाव पार्न सक्ने देखिएको उनको भनाइ छ। उनका अनुसार विशेषगरी नारायणीदेखि कञ्चनपुरसम्मको पश्चिमी क्षेत्रमा तुलनात्मक रूपमा बढी वर्षा हुन सक्ने भएकाले बाढीको जोखिम उच्च रहेको छ।
‘अहिलेसम्मको हिसाबले प्रणालीले नेपाललाई लगभग सबैतिर प्रभाव पार्न सक्ने देखिन्छ,’ उनले नागरिकन्युजसँग भने, ‘तर पाँच–छ दिनअघिको संकेत भएका प्रणालीमा तीन दिनअघिसम्म महत्वपूर्ण परिवर्तन आउन सक्छ। त्यसैले थप अवस्था हेरेर मात्रै विस्तृत पूर्वानुमान सार्वजनिक गर्छौँ।’
उनका अनुसार आगामी चार दिन नदीको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले निर्माणाधीन पुल, सिँचाइ आयोजना, जलस्रोतसम्बन्धी संरचना तथा अन्य पूर्वाधारमा सम्भावित जोखिमलाई ध्यान दिन आवश्यक छ।
सोमबार विशेष बुलेटिन
मौसम मोडलहरूमा थप परिवर्तन नभएमा भोलि (सोमबार) विशेष बुलेटिन जारी गर्ने तयारी भइरहेको छ। विशेष बुलेटिनमा कुन–कुन क्षेत्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने विस्तृत विवरण समेटिनेछ।
अहिले सामाजिक सञ्जालमा विभिन्न मौसम मोडलका आधारमा भारी वर्षासम्बन्धी सूचना सार्वजनिक भइरहे पनि सरकारी निकायबाट आधिकारिक पूर्वानुमान सार्वजनिक गर्नुअघि थप अध्ययन आवश्यक रहेको प्रमुख उप्रेतिको भनाइ छ।
‘मोडलहरूका परिणाम फरक–फरक भएकाले अहिले नै ठ्याक्कै यकिन गरेर भन्न मिल्ने अवस्था छैन,’ उनले भने, ‘तर देशभरि प्रणालीको प्रभाव रहने देखिएको छ। थप अवस्था नबदलिए विशेष बुलेटिनमार्फत विस्तृत जानकारी दिन्छौँ।’
भोटेकोशीजस्तो हिमाली बाढीको जोखिम कम
हालको मौसम प्रणालीका कारण केही समयअघि भोटेकोशीमा देखिएको प्रकृतिको हिमाली बाढीको जोखिम भने तुलनात्मक रूपमा कम रहेको बाढी पूर्वानुमान शाखा प्रमुख पराजुलीले बताए।
भोटेकोशीमा आएको बाढी फरक कारणसँग सम्बन्धित रहेको भन्दै उनले अहिलेको प्रणालीको मुख्य प्रभाव तराई, चुरे र पहाडी क्षेत्रमा बढी देखिएको बताए। हिमाली क्षेत्रमा भने अहिलेसम्म मध्यमसम्मको वर्षा हुने अनुमान गरिएको छ।
यद्यपि हिमाली क्षेत्रमा अत्यधिक वर्षा भए जोखिममा रहेका हिमतालमा थप दबाब पर्न सक्ने सम्भावना भने पूर्ण रूपमा नकार्न नसकिने उनको भनाइ छ।
‘धेरै पानी परेमा जोखिममा रहेका हिमताललाई असर पर्न सक्छ, तर अहिलेको प्रणालीका कारण त्यस्तै ठूलो घटना हुने सम्भावना कम देखिन्छ,’ उनले भने।
काठमाडौंमा पनि बाढीको जोखिम
काठमाडौं उपत्यका पनि जोखिममुक्त नरहेको मौसमविद्हरूले बताएका छन्। काठमाडौंमा तुलनात्मक रूपमा कम वर्षा भए पनि सहरी क्षेत्रमा पानी निकासको समस्या र नदी–खोलाको अवस्थाका कारण बाढीको जोखिम रहने भएकाले सावधानी आवश्यक रहेको बताइएको छ।
प्रारम्भिक अनुमानमा काठमाडौंमा अति भारी वर्षाभन्दा पनि लगातार झरी पर्ने सम्भावना देखिएको छ। दक्षिणतर्फका क्षेत्रमा भने तुलनात्मक रूपमा बढी वर्षा हुन सक्ने संकेत देखिएको उनीहरूले बताए।
कृषि क्षेत्रमा पनि असर
लगातार तीन-चार दिनसम्म पर्ने वर्षाले कृषि क्षेत्रमा समेत असर पार्न सक्ने भएकाले कृषकले पूर्वतयारी गर्नुपर्ने सुझाव दिइएको छ।मध्यम खालको वर्षाले समेत कृषि उत्पादनमा असर पार्न सक्ने भन्दै खेतबारी तथा नदी–खोलाको आसपास रहेका कृषि उपजलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्नेमा जोड प्रमुख पराजुली बताउँछन्।
'बाढी आएमा नदी किनारका कृषि उत्पादन डुबानमा पर्न वा बग्न सक्ने भएकाले किसान तथा सम्बन्धित निकायले समयमै आवश्यक व्यवस्थापन गर्नुपर्ने देखिएको छ,' उनले भने।
अत्यावश्यकबाहेक यात्रा नगर्न सुझाव
लगातार वर्षाका कारण पहिरो खस्ने, नदी तथा खोलानालामा पानीको बहाव बढ्ने र सडक अवरुद्ध हुने जोखिम रहेकाले सर्वसाधारणलाई अत्यावश्यकबाहेक यात्रा नगर्न पराजुलीको सुझाव छ।
मौसमको अवस्था थप गम्भीर देखिएमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट विशेष एड्भाइजरी जारी हुन सक्ने उनले बताए। उनका अनुसार अवस्था हेरेर सार्वजनिक यातायात तथा सार्वजनिक सेवा सञ्चालनसम्बन्धी थप निर्णयसमेत हुन सक्ने छ। तर त्यसबारे तत्कालै निर्णय नभएको र मौसम प्रणालीको अवस्था थप स्पष्ट भएपछि मात्रै आवश्यक कदम चालिने उनको भनाइ छ।
'आजै थप छलफल तथा विश्लेषण भइरहेको छ। आज साँझ र भोलिसम्म आउने नयाँ मौसम सूचनाका आधारमा वर्षाको मात्रा, प्रभावित क्षेत्र र सम्भावित जोखिमबारे थप स्पष्ट विवरण सार्वजनिक गरिनेछ,' नागरिकन्युजसँग उनले भने।
प्रकाशित: ४ आश्विन २०८३ ११:५७ आइतबार





