१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘लुम्बिनी विकासमा सरकार प्रतिबद्ध’

विश्व शान्ति र नेपालमा लगानीको आह्वानसहित लुम्बिनीमा जारी दुई दिने लुम्बिनी सम्मेलन (कन्क्लेभ) शुक्रबार सम्पन्न भएको छ।

‘समृद्धिका लागि विश्व शान्ति’ विषयक सम्मेलनमा विश्वका विभिन्न देशका १९ राजदूत तथा प्रतिनिधि, नेपालमा कार्यरत ४५ देशका अवैतनिक वाणिज्यदूत, परराष्ट्र मन्त्रालय, लगानी बोर्ड, नेपाल पर्यटन बोर्डका उच्च अधिकारीलगायतको उपस्थिति थियो।

मायादेवी मन्दिर परिसरमा शुक्रबार आयोजित समापन कार्यक्रममा बोल्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान विश्वमा बुद्धले दिएको सन्देशको महत्त्व झन् बढेको बताए। उनले मानवीय प्रगति, शान्ति र विकासका लागि विश्वले अहिले गरिरहेको प्रयास अपुरो रहेको बताउँदै यसलाई दोब्बर बनाउनुपर्ने बताए। लुम्बिनी कन्क्लेभको सन्देश दिँदै परराष्ट्रमन्त्री श्रेष्ठले विश्व भाइचारा, सद्भाव र समृद्धिका लागि लुम्बिनीको विशेष महत्त्व रहेको बताए।

‘बुद्धको उपदेश खास मान्नेहरूका लागि मात्र होइन सबै धर्म मान्नेका लागि उत्तिकै उपयोगी छ,’ उनले भने। परराष्ट्र मन्त्रालय र नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरूको संस्था अनररी कन्सुलर कर्पस नेपाल (एचसीसीएन)ले सयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य रहेको र नेपाल सरकार विदेशी लगानी सहज पार्न प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘नेपालमा व्यापार व्यवसाय गर्ने धेरै क्षेत्रहरू छन्। कुनै कानुन वा नीतिले अवरोध गरेको छ भने त्यसलाई पुनरावलोकन गर्न नेपाल सरकार तयार छ। हामी लगानीलाई प्रोत्साहन गर्न र आर्थिक विकासलाई गति दिन लगानीकर्ताको सल्लाहसुझावलाई गम्भीर रूपमा कार्य गरिरहेका छौं।’ सरकार परिवर्तन हुनु भनेको नीति परिवर्तन हुनु नभएको उनको कथन थियो। ‘म सबै राजदूत र कूटनीतिज्ञलाई आआफ्नो देशमा नेपाल लगानीको राम्रो गन्तव्य भएको सन्देश फैलाउन आग्रह गर्छु,’ श्रेष्ठले भने।

पर्यटन, सस्कृति तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनीको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी भइरहेको र यसमा सबैको सहयोगको आवश्यकता रहेको बताए। भैरहवामा निर्मित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पनि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो। उनले लुम्बिनीको बौद्ध परम्परा र संस्कृति जगेर्ना गर्न सरकार कटिबद्ध रहेको बताउँदै, लुम्बिनी गुरुयोजनामार्फत लुम्बिनी विकासको अभियान अगाडि बढाइएको बताए।

विभिन्न देशका राजदूतहरूले लुम्बिनी परिसरमा विश्व शान्तिका लागि प्रार्थना तथा दियो प्रज्वलन तथा वृक्षरोपणसमेत गरेका थिए। सहभागी राजदूतको तर्फबाट बोल्लै नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत हेरु हरतान्तो सुवोलोले भ्रमणले लुम्बिनीको बारेमा जानकारी पाउने अवसर दिएको बताए। उनले विश्वमा शान्ति र भाइचाराको आवश्यकता झन् बढेको बताए।

लुम्बिनी कन्क्लेभमा कला प्रदर्शनी, परम्परातगत नृत्य, लागनी तथा पर्यटन प्रवद्र्धनका विषयमा प्रस्तुति र छलफल भएको थिए। सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा एचसिसिएनका भाइस डिन चन्द्र ढकाल तथा लगानी बोर्डका प्रमुख शुशिल भट्टले नेपालमा विद्यमान रहेका लगानीका अवसर र आसन्न लगानी सम्मेलनका सहभागीलाई जानकारी गराएका थिए। नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले नेपालमा पर्यटनको असीमित सम्भावना र लुम्बिनीको पर्यटकीय महत्त्वबारे प्रस्तुति दिएका थिए।

नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरूको संस्था एचसिसिएनका डिन विष्णुकुमार अग्रवालले एचसिसिएनले नेपाल सरकार र सम्बन्धित मुलुकलाई आर्थिक तथा सांस्कृतिक रूपमा जोड्दै आएको तथा प्रविधि स्थानान्तरण, व्यापार व्यवसाय विस्तार, पर्यटन प्रवर्धन तथा सांस्कृतिक कूटनीतिको विस्तार गर्न भूमिका निर्वाह गर्दै आएको बताए।

उनले सम्मेलनको समापनसत्रमा बोल्दै पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रयास भइरहेको बताए।

वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले लुम्बिनी गुरुयोजनालगायत यसको ऐतिहासिक तथा पुरातात्विक महत्त्वबारे सहभागीलाई जानकारी दिएका थिए। सहभागी कूटनीतिज्ञले मायादेवी मन्दिर, रोयल थाई मोनास्ट्री र तारा फाउन्डेसन बिहारको अध्ययन अवलोकन गरेका थिए।

परराष्ट्र मन्त्रालय र नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरूको संस्था अनररी कन्सुलर कर्पस नेपाल (एचसिसिएन)ले संयुक्त रूपमा आयोजना गरेको कन्क्लेभ बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, पर्यटन प्रबद्र्धन र नेपालमा विदेशी लगानी अभिवृद्धि गर्ने उद्देश्य लिएको थियो। सम्मेलनमा ग्रिस, साइप्रस, आयरल्यान्ड, स्पेन, लात्भिया, कोस्टारिका, मरिसस, इन्डोनेसिया, मंगोलिया, सर्बिया, अस्ट्रिया, बुल्गेरिया र इस्टोनियाका साथै चेक रिपब्लिक, तान्जानिया, स्लोभेनिया, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूत सहभागी थिए।

प्रकाशित: ११ चैत्र २०८० ०८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App