१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीकै निर्देशनमा छाडिएकी थिइन् अमला

सुन तस्करी प्रकरण

सुन तस्करीमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएकी रोल्पाकी अमला रोका मगरलाई प्रधानमन्त्रीको दबाबमा छाडिएको खुलेको छ। राजस्व अनुसन्धान विभागले गत साउनमा सिनामंगल क्षेत्रबाट बरामद गरेको तस्करीको करिब ६० किलो सुनका विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई जिम्मा दिनुअघि रोका मगरलाई सोधपुछका लागि पक्राउ गरेको थियो। पक्राउ गरिएको केही घण्टामै उनलाई प्रधानमन्त्रीको दबाबमा छाडिएको उच्च स्रोतले जनाएको छ।

प्रधानमन्त्री कार्यालयमातहतको राजस्व अनुसन्धान विभागले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब ६० किलो सुन सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो। हङकङबाट ब्रेक सुमा लुकाएर उक्त सुन ल्याइएको थियो। ‘राजस्व अनुसन्धान विभागले उक्त सुन तस्करीमा जोडिएका केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। त्यसमा अमला रोका मगर पनि थिइन्। उनलाई नियन्त्रणमा लिएको केही घण्टामै माथिको आदेश भन्दै छाड्न निर्देशन आयो’, सरकारी उच्च स्रोतले भन्यो। स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारबाट रोका मगरलाई छाड्न दबाब दिइएको थियो। ‘प्रधानमन्त्री वा प्रधानमन्त्रीको सचिवालय यकिन भएन,’ त्यहींबाट दबाब आएपछि रोका मगरलाई छाडिएको स्रोतले भन्यो। राजस्व विभागका महानिर्देशक नवराज ढुंगानासँग यो विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा उनले एक घण्टापछि भन्दै एसएमएस पठाए। पछि सम्पर्क हुन सकेन।

विभागका अनुसन्धान अधिकारीले सुन तस्करीमा बेल्जियन नागरिक दावा छिरिङ र अमला रोका मगरको सम्पर्क सम्बन्ध रहेको तथ्य फेला पारेका थिए। सम्पर्क सम्बन्ध फेला पारेपछि विभागले रोका मगरलाई पनि पक्राउ गरेको थियो। साउन १४ गते विभागले दावालाई नियन्त्रणमा लिएको थियो। त्यसको तीन दिनअघि अर्थात् साउन ११ गते रोका मगरलाई पक्राउ गरी छाडिएको स्रोतको दाबी छ। ‘दावा छिरिङलाई पक्राउ गर्नुअघि अमला रोका मगरलाई विभागमा अनुसन्धान लागि ल्याइएको थियो’, स्रोतले भन्यो।

सिआइबीका अनुसार पनि करिब ६० किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले रोका मगरलाई पक्राउ गरेर छाडेको थियो। ‘असन्धानको जिम्मेवारी सिआइबीले पाउनुअघि नै अमला रोका मगरलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेर छाडेको रहेछ, पछि हामीले खोज्दा फेला पार्न सकेनौं’, सिआइबी स्रोतले भन्यो।

सुन तस्करी प्रकरणबारे सिआइबीले आफ्नै तरिकाले अनुसन्धान गरिरहेको थियो। तर यो अन्तरदेशीय र संगठित अपराध भएको भन्दै अनुसन्धानको जिम्मा सिआइबीलाई दिने निर्णय साउन १९ गते भएको थियो। अन्तरदेशीय संगठित अपराधसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिले तीन वा तीनभन्दा बढी व्यक्तिको संरचनागत समूहबाट आर्थिक वा अन्य कुनै लाभका लागि भएका एक वा एकभन्दा बढी गम्भीर प्रकृतिका अपराधलाई संगठित अपराध भनी परिभाषित गरेको छ। सुन तस्करी संगठित अपराध भएकाले त्यसको अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिइएको थियो। त्यस्तै सुन तस्करमिा सत्तारूढ दल माओवादी केन्द्रका केही नेताको नाम जोडिएपछि विभागले निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै सिआइबीलाई दिन दबाब परेको थियो।

राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको १७ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तरदेशीय र संगठित अपराधमा अनुसन्धान गर्न सिआइबीलाई निर्देशन दिएका थिए। सिआइबीले औपचारिक रूपमा अनुसन्धानको जिम्मा साउन २१ मा पाएको थियो। सिआइबीलाई अनुसन्धानको जिम्मा दिनुअघि प्रधानमन्त्री दाहाल, तत्कालीन उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवर, सिआइबी प्रमुख एआइजी किरण बज्राचार्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच छलफल भएको थियो।

विभागले सुन तस्करीमा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरेको थियो।

सुन तस्करी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा सिआइबीको अनुसन्धानमा पनि त्रुटि देखाइएको छ। फरार अमला रोका मगरलाई पक्राउ गर्न गत माघमा डिफ्युजन नोटिस जारी गरिएको छ। सिआइबीको आग्रहमा इन्टरपोलले उनीविरुद्द डिफ्युजन नोटिस जारी गरेका हो। रोल्पा घर भएकी रोका मगर सुन तस्करीका नाइके भनिएका चिनियाँ मूलका बेल्जियन नागरिक दाबा छिरिङकी पत्नी हुन्। दाबा पक्राउ परेपछि उनी फरार भएकी हुन्। उनलाई फरार सूचीमा राखेर मुद्दा दायर गरिएको छ। उनी ठमेलस्थित भियना होटलकी सञ्चालका पनि हुन्। उनीसहित यो प्रकरणमा १८ जनालाई फरार प्रतिवादी बनाइएको छ। रोल्पाको थवाङकी उनले व्यापारको सिलसिलामा चिनजान भएपछि दावासँग दोस्रो विवाह गरेकी हुन्। उनी २०७४ सालअघि नेकपा माओवादी केन्द्र सम्बद्ध रोल्पा–काठमाडौं सम्पर्क मञ्चकी उपाध्यक्ष थिइन्। सशस्त्र द्वन्द्वकालदेखि माओवादी राजनीतिमा लागेकी उनी शान्ति सम्झौतापछि जडीबुटी व्यापारमा लागेको रोल्पाका माओवादी नेताहरू बताउँछन्। दावाले अदालतमा दिएको बयानअुनसार २०६५ सालमा जडीबुटीको व्यापारका क्रममा उनको रोका मगरसँग भेट भएको थियो।

प्रकाशित: ४ चैत्र २०८० ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App