१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अन्ततः भत्कियो गठबन्धन सरकार, नयाँ मन्त्रीमण्डल गठनको तयारीमा एमालेसहितका दल

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमा सरकार आजै परिवर्तन हुने बताएपछि वर्तमान सत्ता गठबन्धनको सरकार भत्किएको प्रष्ट भएको छ।

उनले सरकार आजै परिवर्तन हुने र मन्त्रीमण्डल पनि आजै गठन हुने बताएपछि नेपाली काँग्रेससहितका दल छुट्टाछुट्टै छलफलमा छन्।

नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ भने नेकपा एमालेले पनि बिहान सचिवालय बैठक बोलाएको थियो। एमाले सचिवालय बैठकले वर्तमान गठबन्धन टुटेमा नयाँ ढङ्गले अगाडि बढ्न तयार रहेको निष्कर्ष समेत निकालेको थियो।

यसैबीच एमाले बैठक सम्पन्न भएलगत्तै बालकोटमा एमाले अध्यक्ष ओली र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच छलफल भइरहेको छ।

अध्यक्ष ओली र राउतबीच वर्तमान राजनीतिक घटनाक्रमका बारेमा छलफल जारी रहेको अध्यक्ष ओलीका प्रेस संयोजक रामकृष्ण बजगाईले जानकारी दिए। दुई दलबीच सहमति जुटेमा जनमत पनि नयाँ बन्ने सरकारमा सहभागी हुन सक्ने सम्भावना रहेको छ।

जनता समाजवादी पार्टीको बैठक जारी छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले उत्पन्न राजनीतिक परिस्थितिबारे निर्णय गर्न सभापति रवी लामिछानेलाई जिम्मा दिएको छ।

आज बिहान सत्ता गठबन्धनको बैठक आज बिहान बस्ने भनिएपनि कुराकानी नमिलेकै कारण बैठक स्थगित भएको छ।

स्रोतका अनुसार बालुवाटारमा आजै बिहान बसेको माओदावी केन्द्रको पदाधिकारी बैठकले भने वर्तमान सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ भने आजै सानो आकारको मन्त्रीपरिषद् गठन गर्ने निर्णय गरेको छ।

नयाँ मन्त्रीमण्डल गठन हुँदा माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा, जसपा पनि सरकारमा जान सक्ने सम्भावना बढेको छ। तर, को को मन्त्रीमण्डलमा सहभागी हुन्छन् भन्ने विषयमा टुङ्गो लागिसकेको छैन।

एमालेबाट पदम गिरी सरकारमा जान सक्ने सम्भावना छ भने रास्वपाबाट सभापति लामिछाने आफैँ जान सक्ने सम्भावना रहेको बुझिएको छ।  

नेपाली काँग्रेससहितको सहकार्यमा २०७९ पुष १० मा प्रचण्ड नेतृत्त्वको सरकार गठन भएको थियो।

प्रकाशित: २१ फाल्गुन २०८० १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App