१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गठबन्धन गलफतीमै सकियो कांग्रेस महासमिति

नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर संगठन निर्माणमा जुट्ने प्रतिबद्धता जनाएका छन्। फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकमा गुटगत आग्रह र पूर्वाग्रहसहित प्रस्तुत भएका नेताहरूले बिहीबार समापन समारोहमा भने पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका हुन्।  

पार्टीलाई समयानुकूल बनाउन नीति निर्माण गर्ने महत्वपूर्ण थलो महासमिति बैठकमा जनताका यावत् समस्यालाई असरल्ल छाडेर चार वर्षपछिको निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्ने बहसमै कांग्रेसका नेताहरू अल्झिए।

मूल विषय छाडेर पार्टीको आगामी महाधिवेशनमा आआफ्नो स्थान सुरक्षित गर्न गठबन्धनको मुद्दालाई नेताहरूले अघि सार्दा महासमिति बैठक स्पष्ट नीति निर्माण गर्न असफल भएको छ। मुलुकमा विद्यमान आर्थिक अनियमितता, कुशासनसहितको बेथिति चिर्न कांग्रेसले ठोस योजना र कार्यक्रम महासमिति बैठकबाट पारित गर्नुपथ्र्यो।

दुई वर्षअघि भएको १४औं महाधिवेशनबाट नीतिबिनाको नेतृत्व मात्र चयन गरेको कांग्रेसले महासमिति बैठकबाट जनतामा बढ्दो निराशा, पलायनलाई रोक्ने कार्यक्रम र नीति ल्याउने अपेक्षा गरिएको थियो। मुलुकको आर्थिक विकास र समुन्नतिका लागि कांग्रेसले स्पष्ट मार्गदर्शन महासमितिबाट तय गर्ने र सोहीअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकार अघि बढ्ने आशा कार्यकर्ताले गरेका थिए।

संविधानसभाबाट संविधान जारी भएको एक दशक बित्न नपाउँदै विभिन्न पक्षबाट व्यवस्थामाथि नै प्रहार हुने गतिविधि भइरहेका छन्। यस्तो समयमा भएको कांग्रेस महासमिति बैठकबाट संविधान र व्यवस्थाको रक्षा मात्र होइन, जनताको अवस्था परिवर्तन गर्ने नीति तथा कार्यक्रम ल्याउने विश्लेषण गरिएको थियो।

महासमिति बैठकबाट कांग्रेसलाई विधि र विधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहितको कार्यक्रम आउने अपेक्षा पनि गरिएको थियो। पार्टी संगठनलाई चलायमान बनाउन कुनै ठोस कार्यक्रम र योजना ल्याउन नसकेको कांग्रेसले विधानको व्यवस्थाअनुसारका संरचना कहिलेसम्म पूर्णता दिने भन्नेसमेत बताउन सकेन।

भद्रगोल अवस्थामा रहेका भ्रातृ संगठनका केन्द्रीय समितिलाई पूर्णता दिँदै महाधिवेशन गराउनेतिर नेताहरूको ध्यानसम्म पुगेन। बरु चार दिनसम्म चलेको महासमिति बैठकमा १५औं महाधिवेशनको चासो, चर्चासहित आआफ्नो स्थान सुरक्षित बनाउनमै कांग्रेस नेताहरूले समय बिताए।

महासमिति बैठक समापन गर्दै सभापति शेरबहादुर देउवाले पार्टीलाई थप अनुशासित, ऊर्जावान् र एकताबद्ध बनाएर अघि बढाउन प्रेरणा मिलेको बताए। पार्टीलाई जनहितका काममा लगाउन एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै देउवाले अब मुलुकको आर्थिक विकास र सुशासनको नेतृत्व पनि कांग्रेसले गर्ने बताए।

सत्ताघटकको हिसाबले वर्तमान गठबन्धन सरकारलाई सहयोग र प्रोत्साहन गर्नु कांग्रेसको दायित्व भएको उनले बताए। ‘कांग्रेस वर्तमान गठबन्धन सरकारको प्रमुख घटक हो,’ देउवाले भने, ‘त्यसकारण पनि मुलुकमा सुशासन, विकास र समृद्धिका लागि यो सरकारलाई निरन्तर सहयोग र प्रोत्साहन गर्नु कांग्रेसको दायित्व हुन्छ।’

कांग्रेसले समयसापेक्ष, दूरदर्शी र जिम्मेवारीपूर्ण व्यवहार र नीति अपनाएकै कारण साढे सात दशक लामो यात्रा तय गरिसकेको देउवाले बताए। अबका लागि थप संवेदनशील भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, ‘पार्टीको गौरवशाली इतिहास, देश र जनताको उज्यालो भविष्यका लागि हामी सबै मिलेर अघि बढ्नुपर्नेछ।’

महासमिति सदस्यहरूबाट आएका सुझावसमेत समेटेर बैठकबाट पारित प्रस्तावलाई केन्द्रीय समितिले संशोधनसहित पारित गर्ने देउवाले बताए। ‘विभिन्न प्रस्तावमाथि साथीहरूले महत्वपूर्ण सुझावहरू दिनुभएको छ,’ उनले भने, ‘ती सुझावसमेतलाई ध्यानमा राख्दै हामीले केन्द्रीय कार्यसमितिबाट निर्णय लिनेछौं।’  

समापन कार्यक्रममा उपसभापति पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्र विरोधीले संविधान र व्यवस्थामाथि नै प्रहार गर्न लागेकाले परिवर्तनकारी सबै मिलेर यसको रक्षा गर्नुपर्नेमा जोड दिए। कांग्रेसले संविधान संशोधनको नेतृत्व गर्नुपर्नेमा उनले जोड दिए। पार्टीका तर्फबाट सरकारमा सहभागी नौ मन्त्रीले विगतका कमजोरी सच्याउने प्रयास गरिरहेको दाबी गर्दै उनले थप केही सुधार गर्नुपर्ने भए तयार रहेको बताए।  

अर्का उपसभापति धनराज गुरुङले एकअर्कालाई गाली गरेर घर अग्लो बनाउन नसकिने धारणा राख्दै एकाकार भएर मात्र ठुलो र अग्लो घर बनाउन सकिने बताए। पार्टीको अजेन्डा र विचारलाई जनताको घरघरमा पुर्‍याउनुपर्नेमा जोड दिँदै उनले भने, ‘गरिबीको रेखामुनि रहेका जनतालाई नाना, खानाको व्यवस्था गर्नुपर्छ।’ लाभको पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा राख्दै उनले भने, ‘गठबन्धन गर्ने कि नगर्ने भनेर झगडा होइन, सबैको मन छुने नीति लिएर जनतामाझ जानुपर्छ।’

महामन्त्री गगनकुमार थापाले कांग्रेस देश र जनतालाई अँध्यारोबाट उज्यालोतिर लैजान गठन भएको बताए। भोट मात्र सबै कुरा नभएको तर्क गर्दै थापाले कांग्रेस देश र जनताप्रति जिम्मेवारी पार्टी भएको औंल्याए। कांग्रेस ठिक ठाउँमा उभिएपछि मात्र सहकारी ठग्ने नेतालाई ठिक लगाउन सकिने धारणा राख्दै थापाले भने, ‘काम गर्न नसक्ने मन्त्रीलाई सरकारबाट फिर्ता बोलाऔं, दाग लागेका मन्त्रीलाई बिदा गरौं।’ देश सम्हाल्ने र बदल्ने जिम्मेवारी कांग्रेसको भएको उनले बताए।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनबाट सरकारमा पुग्ने र अवस्था होइन, व्यवस्था नै परिवर्तन गर्ने पुरातनवादी शक्तिको सोच पूरा नहुने दाबी गरे। राष्ट्रियता, लोकतन्त्र र मुलुकको समुन्नतिका लागि सबै दलसँग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै शर्माले भने, ‘अब सबैको चासो, चिन्तालाई सम्बोधन गर्दै बलियो र बदलिएको कांग्रेस बनाउनेछौं।’

गठबन्धनका कारण कतिपय निर्वाचन क्षेत्रमा कार्यकर्ताले रुखमा भोट हाल्न नपाएको सत्य भएको बताउँदै सहमहामन्त्री महालक्ष्मी उपाध्यायले विगतका निर्वाचनमा पार्टीकै नेताले भोट नहालेको आरोप लगाइन्। यस विषयमा महासमिति बैठकमा कुरा नउठेको गुनासो गर्दै उनले भनिन्, ‘सबैसँग समन्वय गरेर कांग्रेस अघि बढ्नपर्छ।’

अर्का सहमहामन्त्री भीष्मराज

आङ्देम्बेले हिमाल, पहाड र तराईमा देखिने र भेटिने कांग्रेस बनाउनुपर्नेमा जोड दिए। महासमिति सदस्यका विचारलाई आग्रह र पूर्वाग्रहका रूपमा नलिईकन नवीन कांग्रेस निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिँदै उनले भने, ‘केन्द्रमा होइन, भूगोलमा भेटिने कांग्रेस बनाउने हो।’

त्यस्तै अर्का सहमहामन्त्री किशोरसिंह राठोरले चार वर्षपछि हुने निर्वाचनमा अहिले नै गठबन्धन गर्ने कि नगर्ने भन्ने छलफल आवश्यक नरहेको बताए। कांग्रेसलाई एक्लै निर्वाचन प्रतिस्पर्धा गर्न सक्ने पार्टी बनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘गठबन्धन गर्दा त हाम्रो यो दुरदशा छ भने एक्लै लड्दा के होला ? समीक्षा गर्नुहोला।’ अर्का सहमहामन्त्री बद्री पाण्डेले संविधानको पूर्ण कार्यान्वयन गर्दै जनताको सेवामा जुट्नुपर्ने बताए।  

पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेसभित्रको एकताले मुलुकमा जुनसुकै परिवर्तन सम्भव हुने बताउँद भने, ‘पार्टीको अनुशासनभित्र बसे हामी नयाँ, पुराना कुनै दलसँग डराउनुपर्ने अवस्था आउँदैन÷छैन।’

अर्का पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको नेतृत्वमा जारी भएको संविधानले अझै पूर्णता नपाएको बताउँदै भने, ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन बनायौं। तर प्रणालीले पूर्णता पाएको छैन। मुख्यमन्त्रीहरूले नै आन्दोलनको अभिव्यक्ति दिइरहनुभएको छ। स्थानीय तहका जनप्रतिनिधि पनि सिंहदरबार धाइरहेका छन्।’ पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान बनाएको कांग्रेसले नै कार्यान्वयनमा पनि अग्रणी भूमिका निर्वाह गर्नुपर्ने समय आएको बताए। ‘अब हामी एकताबद्ध भएर अघि बढ्नेछौं,’ उनले भने, ‘कांग्रेस हार्दैन।’

धर्म निरपेक्ष देश हुन नसक्ने बताउँदै पूर्वमहामन्त्री शशांक कोइरालाले भने, ‘धर्म न सापेक्ष हुन्छ न निरपेक्ष हुन्छ। यो स्वतन्त्र हुन्छ तर हामीले धर्म निरपेक्ष देश बनायौं, यो दुर्भाग्य हो।’ नेता शेखर कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन आफू तयार रहेको बताए।

आमजनतामा यो देशमा केही हुँदैन भन्ने न्यारेटिभ निर्माण भएको धारणा राख्दै उनले भने, ‘यो निराशाको न्यारेटिभलाई चिर्न राज्य संयन्त्रमात्र पर्याप्त छैन, देशवासीको सुन्दर भविष्य निर्माण गर्ने कांग्रेस हो भन्ने विश्वास दिलाउन आवश्यक छ।’

पाँचवटा प्रतिवेदन पारित

महासमिति बैठकले उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति, महामन्त्री गगनकुमार थापाले पेस गरेको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसमायिक राजनीति र प्रवक्ता प्रकाशशरण महतले पेस गरेको मुलुकको अर्थतन्त्र, श्यामकुमार घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन सदस्यहरूले दिएका सुझावसमेत समेट्ने गरी पारित गरेको छ।

कांग्रेसले नेपाली जनताले पटकपटकको क्रान्ति, संर्घष र आन्दोलनबाट प्राप्त उपल ब्धि रक्षा गर्दै संविधान कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण राष्ट्रिय दायित्व भएको जनाएको छ। उसले संक्रमणकालीन न्याय छिटो टुंगो लगाउने, भ्रष्टाचार, बेथिति र विसंगतिविरुद्ध वैधानिकरूपमै अभियान सञ्चालन गर्ने भएको छ।

प्रकाशित: ११ फाल्गुन २०८० ०८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App