१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्काउटको जग्गा हिनामिनाको आरोप लागेका सांसद खड्काले भने: म माथि छानबिन गर्नुस्

नेपाल स्काउटको जग्गा अवैध ढंगले कब्जा गरेको आरोप लागेका नेपाली काँग्रेसका सांसद दीपक खड्काले आफैमाथि छानबिन गर्न माग गरेका छन्।

उनले संसदमा आफ्नो धारण राख्दै आफूबाट कुनै कमजोरी नभएको तर आफ्नो चरित्र हत्या भएको बताउँदै नेपाल स्काउटको जग्गा कब्जा र आफ्नो कम्पनी तथा आफूमाथि छानबिन गर्न माग गरेका हुन्।

नागरिक दैनिकमा विहिबार र आइतबार ‘सांसदको कब्जामा स्काउटको जग्गा’ तथा सांसदको कब्जामा स्काउटको जग्गा: फिर्ता गराउन हारगुहार’ शीर्षकमा समाचार प्रकाशित भएपछि संसदमा सांसद खड्काले छानबिनको माग गरेका हुन्। उनले आफ्नो गल्ती भए कारबाही भोग्न पनि तयार भएको बताए।

नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारीले आफ्नो चरित्रहत्या गरेको बताएका हुन्। आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद खड्काले नेपाल स्काउट र खड्का ल्याण्ड कम्पनीबिच २०६३ सालमा विधिवत् रुपमा टेन्डरमार्फत स्काउटमा भवनहरु भाडामा लिएको र १० वर्षपछि पुनः टेन्डरमार्फत प्रक्रिया पूरा गरेर त्यहाँका भवन भाडामा लिइएको बताउँदै नियोजित रुपमा आफ्नो चरित्र हत्या भएको बताएका हुन्। उनले सटहरू खाली रहेको र त्यहाँ हिनामिना गरेको समेत आरोप लगाए।

निर्वाचन गराउनका लागि ६ महिनाका लागि गएको व्यक्तिले नै हिनामिना गरेको आरोप खड्काको छ। ‘मान्छेहरु विदेश लाने र छोड्ने गरेको देखिन्छ, नेताहरुलाई प्रभाव पार्ने गरेका छन्’, सांसद खड्काले भने। सांसद खड्काले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा भएको भन्दै आफूले धेरै नबोल्न पनि बताए। खड्का ल्याण्ड डेभलपमेण्ट प्रालि।ले सर्वोच्च अदालतले २०७९ साल मंसिर ८ गते उच्च अदालतको फैसला विपरीत मुद्दा दोहोर्‍याएर हेरि पाउ भन्ने निवेदन दिएको भएपनि त्यसविषयमा पेशी पनि नतोकिएको स्काउटले जनाएको छ। ‘उहाँहरू सर्वोच्च गए नगएको बारे नेपाल स्काउटलाई जानकारी छैन, सर्वोच्च अदालतले पनि कुनै जानकारी दिएको छैन’, नेपाल स्काउटका प्रशासकीय अधिकृत सन्तोष चौहानले भने।

स्काउटले बनाएका भवन र खाली जग्गा विधिवत् रुपमा भाडामा लिएर व्यवसाय गरेको र हालसम्म स्काउटलाई १३ करोड बुझाइसकेको संसदमा जानकारी गराए। तर उनले अब कति तिर्न बाँकी छ भन्ने बारेमाचाहि खुलाएनन्। नेपाल स्काउटलाई सांसदको कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ। सांसद खड्काले जग्गा कब्जाको विषयमा राजनीतिक रङ्ग दिँदै केपी ओली प्रधानमन्त्री भएको बेला स्काउटको प्रमुख भएर आएका भण्डारीले नियुक्त भएर आएदेखि किचलो सुरु गरेको आरोप लगाए । स्काउटका ५ वटा संरचनामा व्यवसाय गरेकालाई हटाएर भण्डारीले स्काउटमा मनोमानी गरिरहेको बताए। स्काउटको निर्वाचन गराउन ६ महिनाका लागि गएका भण्डारी साढे ५ वर्षसम्म बसेर स्काउटको सम्पत्ति दोहनमा लागिरहेको आरोप लगाएका छन्। स्काउटले आफ्नो स्वामित्वमा रहेको लैनचौरस्थित जग्गा नेपाली काँग्रेसका सांसद तथा पूर्व मन्त्री दीपक खड्काले अनधिकृत रूपमा कब्जा गरेको भन्दै फिर्ताका लागि प्रधानमन्त्री र राष्ट्रपतिसमक्ष हारगुहार गरेको समाचार प्रकाशित भएको छ।  खड्काले जग्गा फिर्ता नगर्ने नियत राखेपछि नेपाल स्काउटले फिर्ता गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति रामचन्द्र पौडेलसमेतलाई हारगुहार गर्दै पत्राचार गरेको थियो।

नेपाल स्काउटले जग्गा फिर्तालागि पहल गर्न सहयोग माग्दै गरेको पत्रचारका सबै प्रमाणहरू नागरिक दैनिकसँग सुरक्षित रहेका छन्। स्काउटले जग्गा र भवनको भाडा ५ करोड ९९ लाख रुपैयाँ उठाइदिन भन्दै उच्च अदालत पाटनको फैसलासमेत राखेर राज्य व्यवस्था समिति, शिक्षा समिति, लेखा समिति, नेपाल प्रहरी, काठमाडौँ महानगरपालिका तथा विपक्षी दल एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत पुस २४ गते पत्राचार गरेको थियो। यो विषयमा सांसद खड्का आफै बाध्य भएर संसदमा बोलेका छन्।

प्रकाशित: ६ फाल्गुन २०८० १५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App