नेपाल स्काउटको जग्गा अवैध ढंगले कब्जा गरेको आरोप लागेका नेपाली कांग्रेसका सांसद दीपक खड्काले आफ्नो चरित्र हत्या भएको बताएका छन्।
नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारीले आफ्नो चरित्रहत्या गरेको बताएका हुन्। आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद खड्काले नेपाल स्काउट र खड्का ल्याण्ड कम्पनीबिच २०६३ सालमा विधिवत रुपमा टेन्डरमार्फत स्काउटमा भवनहरु भाडामा लिएको र १० वर्षपछि पुनः टेन्डरमार्फत प्रक्रिया पूरा गरेर त्यहाँका भवन भाडामा लिइएको बताउदै नियोजित रुपमा आफ्नो चरित्र हत्या भएको बताएका हुन्।
स्काउटले बनाएका भवन र खाली जग्गा विधिवत रुपमा भाडामा लिएर व्यवसाय गरेको र हालसम्म स्काउटलाई १३ करोड बुझाइसकेको संसदमा जानकारी गराए। नागरिक दैनिका समाचार प्रकाशन भएपछि संसदमा उनले आफ्नो चरित्र हत्या भएको बताएका हुन्। सांसद खड्काले जग्गा कब्जाको विषयमा राजनीतिक रंग दिदै केपी ओली प्रधानमन्त्री भएको बेला स्काउटको प्रमुख भएर आएका भण्डारीले नियुक्त भएर आएदेखि किचलो सुरु गरेको आरोप लगाए।
स्काउटका ५ वटा संरचनामा व्यवसाय गरेकालाई हटाएर भण्डारीले स्काउटमा मनोमानी गरिरहेको बताए। स्काउटको निर्वाचन गराउन ६ महिनाका लागि गएका भण्डारी साढे ५ बर्षसम्म बसेर स्काउटको सम्पत्ति दोहनमा लागिरहेको आरोप लगाएका छन्।
आजको नागरिक दैनिकमा नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको लैनचौरस्थित जग्गा नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री दीपक खड्काले अनधिकृत रूपमा कब्जा गरेको भन्दै फिर्ताका लागि प्रधानमन्त्री र राष्ट्रपतिसमक्ष हारगुहार गरेको समाचार प्रकासित भएको छ। खड्काले जग्गा फिर्ता नगर्ने नियत राखेपछि नेपाल स्काउटले फिर्ता गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति रामचन्द्र पौडेलसमेतलाई हारगुहार गर्दै पत्राचार गरेको थियो।
नेपाल स्काउटले जग्गा फिर्तालागि पहल गर्न सहयोग माग्दै गरेको पत्रचारका सबै प्रमाणहरु नागरिक दैनिकसँग सुरक्षित रहेका छन्।
स्काउटले जग्गा र भवनको भाडा ५ करोड ९९ लाख रूपैयाँ उठाइदिन भन्दै उच्च अदालत पाटनको फैसलासमेत राखेर राज्य व्यवस्था समिति, शिक्षा समिति, लेखा समिति, नेपाल प्रहरी, काठमाडौ महानगरपािलका तथा विपक्षी दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत पुस २४ गते पत्राचार गरेको थियो। यो विषयमा सांसद खड्का आफै बाध्य भएर संसदमा बोलेका छन्।
प्रकाशित: ६ फाल्गुन २०८० १२:१८ आइतबार