नेपाली कांग्रेस विचारका दृष्टिले अलमलमा पर्नुपर्ने पार्टी हैन। यो वैचारिक स्वतन्त्रताको पक्षधर पार्टी हो। स्थापनाकालदेखि यो पार्टी यस मामलामा अडिग छ। कहीँ कतै अंश मात्र पनि सम्झौता गरेको छैन। प्रजातन्त्र, राष्ट्रियता र समाजवाद कांग्रेसको मूल मन्त्र हो।
प्रजातन्त्र बहालीका लागि नेपालमा जति पनि राजनीतिक आन्दोलन भए त्यसमा कांग्रेसको भूमिका सधैँ अग्रणी रह्यो। जनताले सधैँ साथ दियो। यसमा बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधि जस्ता सिद्धान्तनिष्ठ नेताहरूको योगदान अतुल्य छ।
त्यो काल, जुन प्रजातन्त्रका निम्ति भएको रोमाञ्चक वैचारिक लडाइँको काल थियो त्यसमा कांग्रेसका नेता जस्तै सिद्धान्तमा अविचल कार्यकर्ता थिए। नेताप्रति कार्यकर्ताको सम्मान र दृढ विश्वास थियो। कार्यकर्ताप्रति नेताको भर र अगाध माया थियो। विधानको डोरीमा आबद्ध एकापसमा विचारको माला थिए। प्रजातन्त्रका निम्ति कांग्रेसको नेतृत्वमा भएका ती क्रान्ति र आन्दोलन त्यसै सफल भएका होइनन्।
सिद्धान्ततः प्रजातन्त्रको मूल्य, मान्यता र आदर्शमा कांग्रेसको अडान उही हो। विचार मारेको छैन। फेरेको वा बदलेको पनि हैन। आजका दिनमा कांग्रेसलाई माया गर्नेहरूले यसको त्यही सिद्धान्तमा विश्वास गर्छन्। भन्छन्– राजनीतिक विचार र सिद्धान्तमा कांग्रेस सुस्पष्ट छ।
नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा छँदा कांग्रेस गणतन्त्रमा गयो। यस बेलादेखि यो पार्टीमा विचारको विचलन आयो भन्नेहरू पनि छन्। बाहिर मात्र हैन पार्टीभित्रै छन्। ’राजा र मेरो घाँटी जोडिएको छ’ भन्ने बिपीको कुनै बेलाको टुक्रे कथन अघि सारेर उहाँलाई राजसंस्थाको कट्टर पक्षपाती बनाउँदैछन्। किसुनजी कांग्रेस गणतन्त्रमा गएपछि पार्टीबाट अलग र निष्क्रिय भएर बसेको कुरा उठाएर त्यस्ताहरू राजाको रोटी सेक्न सजिलो भएको अनुमान गर्छन्।
हो, कांग्रेस राजसंस्था फाल्नै पर्छ भन्ने पक्षमा थिएन। तर त्यो संस्थामा रहने व्यक्ति राजा नै भनौँ संवैधानिक हुनुपर्छ भन्ने मान्यता थियो। प्रजातान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने राजा होस् र जनताका प्रतिनिधिले राज्यसत्ता सञ्चालन गरुन्। अनि मात्र प्रजातन्त्र र राजा सँगै साथै रहन सक्छन् भन्ने बिपीको राजनीतिक व्याख्या हो। राजनीतक सूत्र होइन। सूत्र प्रजातन्त्र हो र वैचारिक स्वतन्त्रता।
त्यस्तै किसुनजी र गणेशमानजीका राजनीतिक संकथनहरूमा पनि प्रजातन्त्रभन्दा माथि संवैधानिक राजालाई राखेको पाइँदैन। राजालाई संवैधानिक बनाएर राखिदिएपछि त्यसको सीमामा उनीहरू बसेनन्। गए। प्रजातन्त्र त्यस्तो राजासित सती जाँदैन। गएन। गणतन्त्र आयो, ल्याइयो। प्रजातन्त्र छ। प्रजातन्त्र नभएको गणतन्त्र न बिपी र किसुनजीले हिजो स्वीकार गर्नुहुन्थ्यो न भोलि यो कांग्रेसले स्वीकार गर्छ। हो, त्यस्तो जनता स्वतन्त्र नभएको र विचार नियन्त्रित गणतन्त्र साम्यवादी कम्युनिस्टहरूले स्वीकार गर्छन्।
बुझौँ, धर्तीका यावत् प्राणी र वस्तुको आआफ्नै सीमा हुन्छ। राजनीतिक विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शको पनि सीमा हुन्छ। तर्क, कुतर्क सबको हद हुन्छ। यो नसोचौँ, प्रजातन्त्रको चाहिँ सीमा हुन्न। सीमा नाघेपछि जुनसुकै तन्त्र वा वाद व्यक्तिको पद, प्रतिष्ठा, औकात सब ढल्छ।
वैचारिक दृष्टिले स्पष्ट भए पनि गणतन्त्रका पछिल्ला दिनहरूमा कांग्रेसको साख पहिले जस्तो अहिले छैन। यताका दिनमा त झन् गिर्दो छभन्दा अत्युक्ति हुँदैन। अन्य गणतन्त्रवादी दलको पनि हालत त्यस्तै हो। अन्य दलका समस्या र समाधान उनीहरू आफैँ खोजून्। जहाँसम्म कांग्रेसको कुरा छ यसको विधानको धागो कमजोर भयो। जुन धागोमा कांग्रेसका नेता/कार्यकर्ता फूल बनेर एउटै मालामा गाँसिएका हुन् र थिए, जनताले सम्मान र श्रद्धासाथ त्यो माला गलामा सजाउँथ्यो। देखिएकै हो। त्यो धागो अहिले लगभग चुँडिइसकेको छभन्दा पनि हुन्छ। यसको नेतृत्व र पदाधिकारीलाई त्यसको चिन्ता भए जस्तो देखिँदैन।
पार्टी तदर्थवादमा चलेको छ। पदमा पसेको जिम्मेवार नेताले आफूलाई विधानभन्दा माथि ठानेको देखिन्छ। तोकिएको जिम्मेवारी पूरा गरिँदैन। पार्टी सभापतिको कार्यावधि सकिन लागिसक्यो विभागहरूले पूर्णता पाएनन्। कतिपय विभाग त बनाइएकै छैनन्। भातृसंगठनको अवस्था भद्रगोल छ।
विधानले भन्छ– पार्टीको कार्यकारी काल वर्षको हो। विधानको यो मुख्य प्रावधान मान्न स्वयं सभापति अनिच्छुक देखिनुभएको छ। अनि यथा जिम्मेवारी लिएका पदाधिकारीहरू किन्तु परन्तु, तर, तापनिको वैधानिक छिद्र खोजेर ‘असाधारण अवस्था’ को पर्खाइमा रहेजस्तो देखिन्छ। अन्य पदाधिकारी जे हुन्छ साक्षी किनारामा सहीछाप लगाउन बसे जस्तो मौन छन्। न दबाब न सल्लाह।
विधानबमोजिम महाधिवेशन गरिसक्नुपर्ने २०८२ मंसिरभित्र हो। मुस्किलले आठ महिना बाँकी छ। लगभग दुई महिना वर्षा र बालीको व्यस्त समय हुन्छ। झण्डै एक महिना चाडबाडमा रमाउने दिन पर्लान्। रह्यो पाँच महिना। यी फुर्सद निकाल्न सकिने पाँच महिनाका दिनलाई क्यालेन्डर बनाएर लगनका साथ नखट्ने हो भने वडादेखि प्रदेशसम्मका अधिवेशन सकिँदैनन्। महाधिवेशन कुनै ‘असाधारण अवस्था’ सिर्जना नभए पनि यथासमय सम्पन्न गर्न सकिँदैन। मूल विषय क्रियाशील सदस्यताको टुंगो चैतमा लगाइसक्नुपर्नेमा सकिएन। अब थपिएको म्याद पनि गुज्रन लागिसक्यो।
समय आफैँ निर्धारण गर्ने र त्यो समयसीमाभित्र गर्ने भनिएका काम हामी आफैँले फत्ते गर्न सकिरहेका छैनौँ। महामन्त्री गगन थापा हामी सबैले विश्वास गरेका युवा उत्साह र जोसले भरिएका ऊर्जाशील नेता हुन्। तर उनैबाट यो जिम्मेवारी समयमै पूरा होला भन्ने अवस्था आजका दिनसम्म देखिएको छैन।
क्रियाशील सदस्यता वितरण र नवीकरणको काम समयमै नभएका कारण स्थानीय अधिवेशनहरू रोकिएर महाधिवेशन नै समयमा हुन सकेन भने त्यसको गरुँगो भार उहाँले कता पन्छाउने ? कतै पन्छिँदैन। उहाँ आफैँले बोक्नुपर्छ।
हामी हाम्रो आन्तरिक किचलो र विवाद बुझ्छौँ। आपसमा एकअर्कोलाई बुझाउँला पनि। महाधिवेशन ८२ को मंसिरपछि ८३/८४ भित्रै गरौँला रे। अवैधानिक हुन्न पनि। तर जनताले ‘असाधारण अवस्था’ कुर्दै बस्ने निश्चित नियतवसका मान्छेहरूको पार्टीलाई कुन नजरले हेर्ला? प्रश्न हामी आफैँलाई गरौँ। समय घर्किसकेको छैन। बेलैमा सोचौँ र जनताको नजरबाट अझ गिर्नमा बचौँ। विधान होस् या संविधान संकट मोचनका विधिलाई सहज अवस्थामा प्रयोग गर्नु आफैँलाई घातक हुन्छ।
२०४७ सालपछि नेपालको राजनीतिक चेतनाको स्तर धेरै माथि उठिसकेको छ। देशको संविधान, पार्टीहरूको विधान र कानुनका मर्म अनि अन्तर्य हामी कसैले बैठकी विज्ञप्ति र मञ्चीय भाषणबाट बुझाउन पर्दैन। जनताले प्रजातन्त्र, राजतन्त्र, गणतन्त्र सबै बुझेको छ।
कांग्रेसको सिद्धान्त, विचार जानेको छ। तर व्यवहारले खिन्न छ। प्रजातान्त्रिक व्यवस्थामा संविधान मिच्ने शासक र आफ्नै विधान अनुसरण नगर्ने नेता र दललाई जनताले रुचाउँदैन। संविधान देशको माला हो र पार्टीका विधान तिनका आफ्ना माला हुन्। अब भन्नु परोइन, आफ्नै गलामा सजिएको मालाको धागो गलेर चुँडेपछि भुईंमा खसेका फूलहरूको के हविगत हुन्छ?
प्रकाशित: १२ वैशाख २०८२ ०९:०० शुक्रबार

