३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

कला, साहित्य र संगीतले राष्ट्रिय एकतालाई बलियो बनाउँछः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताएका छन्।  

नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८३ लाई सम्बोधन गर्दै उनले एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र संगीत रहेको बताए। कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने पनि राष्ट्रपति पौडेलको भनाई थियो।  

राष्ट्रपति पौडेलले संगीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको बताए। उनले भने, ‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको हाम्रो देशमा साहित्य, कला, गीत, संगीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हो।’

उनले नेपाली सङ्गीतको विकासमा परम्परा र आधुनिकताको सन्तुलन कायम गर्नुपर्ने आवश्यकता पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै परम्परागत धुन, लय र शैलीलाई जोगाउँदै आधुनिक प्रविधि र नवीन प्रयोगमार्फत नयाँ सिर्जना गर्नु आजका सर्जकहरूको चुनौती र अवसर दुवै भएको बताए।  

राष्ट्रपति पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीतसंगीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइ गर्न नहुने भन्दै सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि भएको बताए।  

उनले भने, ‘त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसंगीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ।’

उनले नेपाली लोक भाका पछ्याउँदै आधुनिक गीतसंगीतको सिर्जनामा नातिकाजीले पुर्याएका योगदान अनुकरणीय रहेको बताउँदै भने, ‘नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उनलाई नेपाली गीतसंगीत प्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ। विशेषत उनका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली संगीतको गौरवलाई बढाएको छ।’ 

प्रकाशित: २५ वैशाख २०८३ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App