१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

न्यायाधीश विदामा हुँदा आलमविरुद्धको मुद्दाको पेसी नै तोकिएन

फाइल तस्बिर

नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी स्थगित भएको छ। जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीशहरू विदामा भएकाले आलमविरुद्धको मुद्दाको पेसी आइतवार तोक्ने भनिए पनि स्थगित भएको हो।

सात न्यायाधीहरूमध्ये आइतवार दुई जना न्यायाधीशहरू मात्र अदालतमा उपस्थित भएकाले आलमको पेसी तोक्न नसकिएको अदालत स्रोतले बताएको छ।

अदालतमा ७ ओटा इजलास रहेकामध्ये पाँच जना न्यायाधीश अनुपस्थित भएको कारण दुई इजलास मात्र सञ्चालनमा थियो। अदालतमा न्यायाधीश तेजबहादुर खड्का र गेहेन्द्र पन्त मात्र रौतहट जिल्ला अदालतमा उपस्थित भएकाले आइतवारको लागि पेशीमा रहेका जम्मा ६ मुद्दामध्ये २ मुद्दाको मात्र पेशी हुने भएको अदालत स्रोतले जनाएको छ।

न्यायाधीश खड्का २ नम्बर इजलास र पन्त ४ नम्बर इजलासमा मुद्दा हेर्ने भएको तथा आलमको मुद्दा इजलास नम्बर ५ मा परेको हुनाले पेशी स्थगित भएको जिल्ला अदालत रौतहटका नायब सुब्बा एकरामुल हकले जानकारी दिए।

आइतवारको पेशी स्थगित भएपछि अर्को पेशी पछि तोकिने नासु हकले बताए।

गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप आलममाथि लागेको छ।

सो घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेको थियो। उनीमाथि १८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो। यो मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्।

प्रकाशित: २९ पुस २०८० ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App