२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचनका लागि १२ दल दर्ता

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएको जनाएको छ। शुक्रबार आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले राष्ट्रियसभाको निर्वाचनका लागि १२ वटा दलले निवेदन दिएको जानकारी गराएका हुन्।  

राष्ट्रियसभा निर्वाचनका लागि आयोगले आह्वान गरेको दल दर्ताको अन्तिम दिन शुक्रबारसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाहेक संसद्मा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलले आवेदन दिएका छन्।

सहप्रवक्ता अर्यालका अनुसार राष्ट्रियसभाको निर्वाचनमा भाग लिन नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले आयोगमा निवेदन दिएका छन्।

‘आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले तोकेको मिति शुक्रबारसम्ममा १२ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन्,’ उनले भने, ‘आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मंसिर २४ गतेदेखि मंसिर २९ गतेसम्म दल दर्ताको आह्वान गरेकामा एमाले, कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, लोसपा, जसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, राप्रपा, जनमत र नेमकिपाले दल दर्ता गराएका छन्।’

आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका २० पदमध्ये माघ ११ गते १९ पदका लागि निर्वाचन हुँदै छ। पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्थाबमोजिम आयोगले माघ ११ गते निर्वाचन गर्न लागेको हो।

आयोगले आगामी पुस २३ गते राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता, माघ ११ गते मतदान हुने, पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने, पुस २६ गते अन्तिम नामावली प्रकाशन गर्ने र पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २८ गते बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। निर्वाचन हुने १९ सिटमध्ये सत्तारूढ दलभित्र कांग्रेसले ९, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ३ र जसपाले १ सिट पाउने गरी छलफल भइरहेको छ। त्यस्तै राष्ट्रपतिबाट मनोनीत हुने १ जना सांसदको सिट कांग्रेसले माग गरिरहेको छ।

‘नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दललाई माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता हुन संवत् २०८० साल मंसिर २४ गतेदेखि २९ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगमा निवेदन दिन यो सूचना गरिएको छ,’ आयोगले एक सूचनामा उल्लेख गरेको थियो।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि मतदाताहरू प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख÷अध्यक्ष तथा उपाध्यक्षको मतभार निर्धारण गरिसकेको छ। राष्ट्रिय तथ्यांक कार्यालयको सिफारिसमा राष्ट्रियसभाका मतदाता रहेका प्रदेशसभा सदस्यहरू र स्थानीय तहका पदाधिकारीको मतभार तय गरिसकिएको छ। आयोगले प्रदेशसभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि १९ मतभार कायम गरेको हो।

राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सिनासहित एमालेका ९, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० जना सांसदको पदावधि आगामी फागुन २१ गतेदेखि सकिँदै छ ।

प्रकाशित: ३० मंसिर २०८० ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App