१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

महाधिवेशनपछिको कांग्रेसःप्रतिक्रियामै मदमस्त महामन्त्री

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएसँगै नेता तथा कार्यकर्ताको अपेक्षा थियो–अब पार्टी सञ्चालनको तौरतरिकामा परिवर्तन आउनेछ, कांग्रेसले विगतका गल्ती दोहोर्‍याउने छैन, पार्टी विधि र विधानअनुसार सञ्चालन हुनेछ।

त्यस्तै बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, सरोज कोइरालासहितका नेताले कायम गरेको नैतिक मूल्य र इमान कांग्रेसमा फर्कनेछ, राजनीतिप्रति बढ्दो वितृष्णा चिर्न र आशा जगाउन थापा र शर्माले पार्टीमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नेछन् भन्ने अपेक्षा पनि नेता–कार्यकर्ताको थियो।

तर महाधिवेशनको दुई वर्षमा महामन्त्रीद्वय थापा र शर्मा कांग्रेसमा विधि र थिति बसाउन असफल भएका छन्। संगठन सञ्चालन गर्ने तौरतरिका परिवर्तन नआउँदा दुई वर्षअघि उनीहरूसँग गरिएको आशाभरोसामा परिणत हुन सकेको छैन। विधि र विधान एकातिर थन्क्याएर कांग्रेस पुरानै ढर्रामा अघि बढिरहँदा महामन्त्रीद्वय प्रतिक्रियामै सीमित छन्।

प्राध्यापक लोकराज बरालले नेपाली कांग्रेस लोकतन्त्रको पर्याय जस्तो भए पनि त्यसअनुसार काम हुन नसकेको बताए। उनी कांग्रेसबाट देश र जनताले धेरै आशा गरेको तर नेताहरू त्यसअनुसार प्रस्तुत हुन नसकेको बताउँछन्। ‘डेमोक्रेसीको सिम्बोलका रूपमा कांग्रेसलाई हेरिन्छ,’ बरालले भने, ‘कांग्रेसलाई ठिकसँग हिँडाउन गगन, विश्व, प्रदीप (गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल) हरूले केही गर्लान् भन्ने आशा गरिएको थियो । तर उनीहरूले पनि अग्रगामी अजेन्डा र कार्यक्रम ल्याउन सकेनन्। उनीहरू पनि प्रतिक्रियामा मात्र सीमित भए।’  

महामन्त्रीमा निर्वाचित उनीहरू सत्ता, शक्ति र पार्टीभित्रकै निर्णय प्रक्रियाको हिस्सेदारसम्म बन्न सकेका छैनन्। 

उनीहरूले साउनमा बसेको केन्द्रीय समिति बैठकमा पार्टी संगठनलाई चलायमान बनाउन केही प्रयास र प्रस्ताव गरेका थिए। तर त्यसलाई कार्यान्वयन गर्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्न उनीहरू असफल भएका छन्। पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन योजना, कार्यक्रम र विचार दिन असफल उनीहरू पनि कांग्रेसका अन्य नेता र कार्यकर्ता जस्तै प्रतिक्रियामै सीमित छन्।  

बाहिर गरम सुनिने महामन्त्रीहरू सभापति देउवासहितका नेताहरू सामु नरम बनेकै कारण पार्टीका निर्णय प्रक्रियामा परिवर्तन आउन नसकेको नेता र कार्यकर्ता बताउँछन्। बाहिर पार्टी नेतृत्व र सरकार सञ्चालनका विषयमा खरो रूपमा प्रतिक्रिया दिँदै आएका उनीहरू त्यसैअनुरूप पार्टीका बैठकमा प्रस्तुत हुन नसकेको बताइन्छ।  

यसैकारण महामन्त्रीहरूले अघि सारेका प्रस्ताव कार्यान्वयनमा आउन नसकेको कांग्रेसका एक पूर्व पदाधिकारी बताउँछन्। परिस्थितिको राम्रोसँग विश्लेषण नगरी हल्का रूपमा प्रतिक्रिया मात्र दिँदा निर्णयमा पुग्न गाह्रो हुने ती नेताको बुझाइ छ।  

गत वर्ष भएको स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा महामन्त्रीहरू गठबन्धनको विपक्षमा उभिए पनि पार्टीले तालमेल गरेको ती पदाधिकारीले बताए । ‘निर्वाचनपछि ठूलो दलको हैसियतले सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ भनेर महामन्त्रीहरूले नै भन्नुभयो। त्यसमा पार्टीले अडान लिँदा केही समय सत्ताबाट बाहिरिनु पर्‍यो। यसमा सबैभन्दा पहिला आलोचना गर्ने पनि उहाँहरू नै हुनुभयो,’ ती पूर्वपदाधिकारीले भने, ‘त्यसले पार्टीलाई मात्र होइन, सम्बन्धित व्यक्तिलाई पनि फाइदा भएको छैन।’  

पार्टी अप्ठेरोमा परेका बेला र निर्णय प्रक्रियामा अलमल भएका बेला प्रभावकारी कदम चाल्नुको साटो क्रियाको प्रतिक्रियामा मात्र उत्रिने गरेको आरोप महामन्त्रीमाथि छ। २०७९ पुस १० को अवस्थाबाट पार्टी र गठबन्धनलाई पुरानै ठाउँमा पु¥याउँदा पनि महामन्त्रीहरू असहयोगी बनेको आरोप लाग्दै आएको छ। पार्टी पूर्व लाग्दा महामन्त्री पश्चिम कुँदे, पार्टी पश्चिम हिँड्दा महामन्त्री पूर्व लागेको आरोप लगाउँदै एक नेताले भने, ‘महामन्त्रीको काम प्रतिक्रिया दिने मात्र होइन, कार्यक्रम र प्रस्ताव ल्याउने, निर्णय गराउने र कार्यान्वयनमा लैजाने दायित्व उनीहरूको हो। प्रतिक्रिया दिने जिम्मा केन्द्रीय सदस्य र विपक्षीको हो।’

सरकारका गलत कामको समर्थन गर्न नसकिने तर त्यस विषयमा साझेदार दलसँग छलफल गर्ने र निर्णय प्रक्रियामा हस्तेक्षप गर्न पनि महामन्त्रीहरू चुकेका छन्। चुनावमा टिकट बाँड्दादेखि सरकार गठनसम्म आइपुग्दा कांग्रेस महामन्त्रीहरू आफ्नो भूमिका देखाउन असफल देखिएका छन्। 

पार्टीका विभाग, समिति र निकायहरूलाई पूर्णता दिने विषयमा महामन्त्रीले दुई वर्षसम्म कुनै छलफल र पहल नगरेको आलोचक बताउँछन्। ‘महामन्त्रीहरू गुट बनाउन लाग्नुभएको होला, विधानको व्यवस्थाअनुसारका पार्टी संरचनालाई पूर्णता दिन उहाँहरूले पहल गरेको थाहा पाउनु भएको छ।

प्रकाशित: १३ मंसिर २०८० ००:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App