coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्न नहुने बताएका छन्।

बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजी पीडितहरूलाई भेट्न ढिलो गर्न नहुने बताएका हुन। 

महामन्त्री शर्माले मिटरब्याजी पीडितहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अविलम्ब भेट गर्न आग्रह गरे। 

उनले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरूको मुद्दा सम्बोधनको प्रक्रिया सुरु हुनु रहेको उल्लेख गरे। शर्माले मिटरब्याजी पीडितहरूले उठाएका मुद्दाहरूको सम्बोधनका लागि आवश्यक कानुन निर्माण गर्न र संसद्मा छिटो भन्दा छिटो कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए। 

उनले मिटरब्याजी पीडितहरू कुनै पनि राजनीतिक दलको छत्रछायामा रहेको भए पनि उनीहरूको माग सम्बोधन गर्नु सरकारको दायित्व रहेको बताए । महामन्त्री शर्माले वर्तमान अवस्थामा लोकतन्त्र भनेको कतिले बोल्न पाए भन्ने नभई बोलेका कुरा राज्यले कति सम्बोधन ग¥यो भन्ने कुरा मुख्य रहेको उल्लेख गरे। 

उनले भने, ‘मिटरब्याजीसँग सरकारले दुई तीन वटा कुरा क्रमशः गर्नुपर्छ। मिटरब्याजीहरुले जो कोही गएर संवाद गर्दा पनि उहाँहरूले प्रधानमन्त्रीसँग भेट्न चाहन्छौँ भन्नुभएको छ। प्रधानमन्त्रीज्यूलाई म के आग्रह गर्छु भने मिटरब्याजीहरुको सङ्घर्षका लागि १३ दिन लगाएर तराईबाट हिँडेर आएका नागरिकलाई हिजो घरमा पुगेर दुई हात जोडेर मत माग्न सक्थ्यौँ, आज पैदल हिँडेर आएका नागरिकलाई प्रधानमन्त्रीले भेट दिन ढिलो गर्नु हुँदैन। प्रधानमन्त्रीले अविलम्ब भेट दिनुपर्छ। त्यसले उहाँको आन्दोलनमा उठाएको मुद्दाको सम्बोधनको प्रक्रिया प्रारम्भ हुन्छ। दोस्रो उहाँहरूले उठाएको मुद्दाको सम्बोधन गर्न आवश्यक कानुन बनाउने, संसद्मा प्रक्रिया अघि बढाउने, तेस्रो कुरा मिटरब्याजीहरु जुनसुकै राजनीतिक दलको छत्रछायामा हुन्, काँग्रेस, एमाले, माओवादी वा अरू दलका उनीहरूलाई कुनै पनि झमेलामा नराखी काम गर्नुपर्छ। प्रधानमन्त्रीले अविलम्ब भेट्नुपर्छ । हामी उहाँहरूको आन्दोलनको समर्थन गर्न र संसद्मा लैजान तयार छौँ। लोकतन्त्र कति धेरैले बोल्न पाए होइन, उनीहरूले बोलेका कुरा कति सरकारले सम्बोधन गरेको छ त्यो अहिलेको लोकतन्त्र हो। उहाँहरूको मुद्दालाई हल गर्नु यो बेलामा राजनीतिक दल, राज्य सबैको कर्तव्य हो।’

प्रकाशित: १६ चैत्र २०७९ ०५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App