५ वैशाख २०८१ बुधबार
विचार

हरित बैंकिङको हिसाब

समग्र विश्व नै आज विकासको दिशातर्फ दु्रत गतिले अग्रसर छ । विकास गर्ने क्रममा सञ्चालन गरिने यावत् गतिविधिले प्राकृतिक सम्पदाको अत्यधिक दोहन गरिरहेका हुन्छन् जसको फलस्वरूप दीर्घकालमा सो विकास नै विनाशमा परिणत हुने गर्छ । यो दिगो विकास होइन । आजको आवश्यकता दु्रत आर्थिक विकास भन्दा पनि दिगो आर्थिक विकास हो । दिगो आर्थिक विकासका लागि आर्थिक विकासका सबै सम्वाहक वातावरणमैत्री ढाँचामा ढालिएर निश्चित नीति नियमबाट निर्देशित हुनुपर्छ ।

आर्थिक विकासको एउटा मुख्य सम्वाहक/आर्थिक अभिकर्ता भनेको बैंकिङ क्षेत्र हो । यो समाजको संस्थागतरूपले जिम्मेवार नागरिक पनि हो । यसलाई अर्थतन्त्रको रक्तसञ्चार नै भनिन्छ । आर्थिक वृद्धि दर हासिल गर्ने क्रममा विभिन्न व्यावसायिक उद्योग, परियोजना र अन्य विविध आर्थिक क्रियाकलापमा लगानी गर्ने मुख्य स्रोत नै बैंकिङ क्षेत्र हो । यसरी लगानी गर्ने क्रममा बैंकिङ क्षेत्रले सो लगानीलाई वातावरणमैत्री, सामाजिकरूपले उत्तरदायी बनाउँदै आर्थिक वृद्धि दर र आर्थिक विकासलाई दिगो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । बैंक वित्तीय संस्थाहरू आफैँमा प्रत्यक्षरूपमा वातावरण प्रदूषक नहुनसक्छन् तर तिनीहरूले विभिन्न उद्योगधन्धा, कम्पनी, परियोजनामा गर्ने लगानी र बैंकिङ सम्बन्धले वर्तमान र भावी समयमा वातावरण प्रदूषण गर्ने काम गरिरहेका हुन्छन् । 

आजको आवश्यकता दु्रत आर्थिक विकास भन्दा पनि दिगो आर्थिक विकास हो ।

बैंकिङ क्षेत्र सामान्यतया वातावरण प्रदूषण गर्ने र कार्बन डाइअक्साइड उत्पन्न गर्ने कार्यमा भौतिकरूपमा कम नै संलग्न हुन्छन् । तसर्थ सामान्यतया यिनीहरू वातावरणमैत्री नै मानिन्छन्। तर यिनीहरूका ग्राहक अर्थात् ऋणीका क्रियाकलापले वातावरण प्रभावित हुन्छ । तसर्थ बैंकिङ क्षेत्रको बाह्य क्रियाकलापले वातावरणीय क्षति सिर्जना गरिरहेको हुन्छ जसले विकासलाई दिगो हुन दिइरहेको हुँदैन । यस्तो क्षति अनुमान गर्न पनि धेरै कठिन हुन्छ । तसर्थ आज दिगो आर्थिक विकासका लागि वातावरणीय स्वच्छता प्रवद्र्धन गर्ने आर्थिक क्रियाकलाप सञ्चालन हुनु जरुरी छ जसका लागि वातावरणमैत्री बैंकिङ हुनु जरुरी छ । यसै अवधारणालाई हरित/वातावरणमैत्री/दिगो/नैतिक बैंकिङ भनिन्छ । तसर्थ आज बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापनको एउटा अभिन्न अंगकारूपमा वातावरण व्यवस्थापन विकसित भइरहेको छ । बैंकिङ क्षेत्रको वातावरण व्यवस्थापनले निष्क्रिय कर्जाको अंश घटाउने, सम्पत्तिको गुणस्तर वृद्धि गर्ने, उच्च मुनाफा आर्जन गर्न सहयोग गरी अन्ततोगत्वा संस्थाको मूल्य अभिवृद्धि गर्ने कार्यमा अभूतपूर्व भूमिका खेल्छ । तसर्थ वातावरणमैत्री बैंकिङ दिगो बैंकिङको पर्याय हो ।

सामान्यतया बैंकिङ व्यवसाय कर्जा लगानीमा दीर्घकालीन उच्च प्रतिफल चाहन्छ । तर वातावरणीय तत्वलाई ध्यानमा राख्ननसक्दा कर्जा चुक्ता नहुने र गुणस्तर क्षय हुने जोखिम विद्यमान हुन्छ । तसर्थ बैंक/वित्तीय संस्थाले कुनै परियोजनामा लगानी गर्नुभन्दा अगाडि सो परियोजनाको वातावरणीय मूल्यांकन गर्नु अति जरुरी हुन्छ । धेरै अध्ययनले देखाएका छन् कि वातावरणीय कार्यसम्पादन र वित्तीय कार्यसम्पादनबीच बलियो सकारात्मक अन्तरसम्बन्ध हुन्छ । अहिले विश्वमा जैविक विविधता संरक्षण, प्राकृतिक स्रोत संरक्षण, सफा पिउने पानी, फोहरमैला नियन्त्रण, स्वच्छ हावा आदि सम्बन्धमा विभिन्न नीतिनियम बनेर लागुसमेत भइसकेकाले बैंकिङ क्षेत्रलाई समेत वातावरणप्रति सचेत हुन बाध्य बनाएको छ । ती बैंक वित्तीय संस्था, तिनका उपभोक्ता र सरोकारवालाहरू एवं समग्र समाजलाई नै विभिन्न बहुराष्ट्रिय कम्पनीहरू, अन्तर्राष्ट्रिय सहवित्तीयकरण एजेन्सीहरू, बहुराष्ट्रिय वित्तीय तथा विकास संस्थाहरूले लगानी रणनीतिमा वातावरणीय मापदण्डको वकालत गर्न थालेका छन् ।

परम्परागत बैंकिङमा वातावरणीय तत्वलाई त्यति चासोका साथ हेरिँदैनथ्यो तर अहिले आएर बिस्तारै यो धारणामा परिवर्तन आएको छ । कतिपय उद्योगधन्धा वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणसम्बन्धी सरकारी ऐन, नीति, नियम र तिनमा हुने सम्भावित परिवर्तनद्वारा अत्यन्त शीघ्र प्रभावित हुने किसिमका हुन्छन् । यस्तो अवस्थामा तिनीहरूले चर्को प्रदूषण नियन्त्रण शुल्क र अन्य लागत बेहोर्नुपर्ने हुनसक्छ । कहिले त्यस्ता उद्योग बन्द हुनसक्ने स्थिति पनि आउँछ । वातावरणीय मापदण्ड नमानेको खण्डमा त्यस्ता उद्योगधन्धाबाट उत्पादित वस्तु तथा सेवालाई उपभोक्ताले बहिष्कारसमेत गर्छन् । उदाहरणका लागि क्रसर उद्योग, चुरोट, बिँडी उद्योगमा लगानी गर्नुअघि तिनीहरूले वर्तमान र भविष्यमा के/कस्ता वातावरणीय जोखिमहरू सामना गर्नुपर्ला भन्ने विश्लेषण गरेर मात्र बैंक वित्तीय संस्थाले लगानी गर्नुपर्छ । त्यस्तै जलविद्युत् आयोजना (जहाँ रुख काट्न नदिने कुरा सधैँ विवादको घेरामा आइरहेको हुन्छ) मा लगानी गर्दा पनि बैंकहरूले वातावरणीय पक्षको हेक्का राख्नै पर्छ । हरित बैंकिङअन्तर्गत बैंकहरूले वातावरणीय प्रवद्र्धन गर्ने किसिमका सौर्य  ऊर्जा, सुधारिएको चुलो, प्रांगारिक चिया खेती, हस्पिटल, गोबरग्यास, पशुपालन, प्रदूषण नियन्त्रण मेसिन औजार उत्पादन गर्ने कम्पनीहरू, कम्प्युटर व्यवसाय आदिमा लगानी गर्नसक्छन् । वातावरणीय हिसाबले सहुलियत पाएका उद्योगहरूमा लगानी गर्दा ती उद्योग प्रोत्साहित भई सफल हुने सम्भावना हुनाले बैंकहरूको लगानी पनि दिगो हुन्छ । नेपालका अधिकांश चिया बगानमा पहिले रासायनिक मल र विषादि प्रयोग गरिन्थ्यो । पछि धेरै विदेशी मुलुकले यस्तो चिया आयात नगर्ने चेतावनी दिए जसले गर्दा चिया निर्यातमा समस्या हुनगयो । यस्तो बेलामा कतिपय चिया उद्योगले बैंकहरूको ऋण तिर्नसकेनन् ।

दिगो आर्थिक विकासका लागि वातावरणीय स्वच्छता प्रवद्र्धन गर्ने आर्थिक क्रियाकलाप सञ्चालन हुनु जरुरी छ जसका लागि वातावरणमैत्री बैंकिङ हुनु जरुरी छ । यसै अवधारणालाई हरित/वातावरणमैत्री/दिगो/नैतिक बैंकिङ भनिन्छ ।  

भविष्यमा मुलुकको वस्तु तथा निर्यात बजारले कडाभन्दा कडा वातावरणीय नीति नियमको सामना गर्नुपर्ने हुनसक्छ । यसका लागि ती क्षेत्रमा लगानी गर्ने बैंक वित्तीय संस्थाले पनि सोहीअनुरूप हरित बैंकिङ नीति अंगाल्नुपर्ने हुन्छ । प्रदूषण नियन्त्रण उपकरणहरूको अत्यधिक माग धान्न धेरै बैंक लगानीको आवश्यकता पर्नसक्छ । अतः बैंक वित्तीय संस्थाहरूले वातावरण प्रदूषण गर्ने किसिमका ठूलाठूला परियोजनामा लगानी गर्नुभन्दा अगाडि तिनीहरूको प्रभावकारीरूपमा वातावरणीय प्रभाव, भावी प्रदूषण नियन्त्रण लागत आदि सम्बन्धमा मूल्यांकन गरेर मात्र लगानी गर्नु आवश्यक छ ।अन्तर्राष्ट्रिय वित्त निगम, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक आदि अन्तर्राष्ट्रिय संस्थाले नेपालमा लगानी गर्नुपर्दा परियोजनाको वातावरणीय पक्षलाई ध्यानमा राख्ने हुनाले उनीहरूसँग सहकार्य गर्ने नेपालका बैंकहरूले पनि हरित बैंकिङ नीतिलाई अंगाल्नैपर्ने टड्कारो आवश्यकता छ । अर्को कुरा, बैंक वित्तीय संस्था यस विश्व पर्यावरणका, समाजका महत्वपूर्ण अंग हुन् । तसर्थ यिनीहरूले पनि वातावरणीय संरक्षण र सामाजिक उत्तरदायित्व निर्वाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।

कतिपयमा यो पनि धारणा रहेको पाइन्छ कि हरित बैंकिङले उत्पादित वस्तु तथा सेवाहरूको लागत पनि बढाउँछ । तर वास्तवमा गहिराइमा गएर विश्लेषण गर्ने हो भने वातावरणीय तत्वमा ध्यान दिन नसक्दा हुनगएको क्षति र वातावरणीय तत्वलाई ध्यान दिँदाको कारणले सिर्जना भएको लागतको तुलना गर्ने हो भने वातावरणीय तत्वलाई ध्यान दिननसक्दाको क्षति धेरै हुनजान्छ । यस्ता क्षतिवातावरणीय ह्रास, बिरामी संख्यामा वृद्धि, रुख कटान, बालुवा, गिट्टीको अत्यधिक दोहन, नदीको धार परिवर्तन, बस्ती विनाश, पहिरो, बाढी, आदि हुन् । यसको प्रभाव कुनै एक बैंक वित्तीय संस्थाले मात्र बेहोर्नु पर्दैन बल्की समग्र समाजले नै बेहोर्नुपर्छ । अर्कातिर यस्तो वातावरणीय विनाशले गर्दा ऋणीले ऋण तिर्ननसक्नु, उत्पादित सामान उपभोक्ताले बहिष्कार गर्नु, बैंकहरू विशेषका लागि ठूलो चुनौती हो ।

आधुनिक समयमा वातावरण व्यवस्थापन प्रणालीलाई वित्तीय क्षेत्रले बढी नै चासोका साथ अवलम्बन गर्नुपर्छ भन्ने धारणालाई विभिन्न अन्तर्राष्ट्रिय, गैरसरकारी, बहुराष्ट्रिय संघ/संस्थाले जोड दिँदै आएका पाइन्छ । सन् १९९० तिर संयुक्त राष्ट्र संघीय वातावरणीय कार्यक्रम (युएनडिपी)ले युएनडिपी फिनान्स इनिसिएटिभनाम गरेको कार्यक्रम सुरु गर्‍यो  । विश्वका २०० वित्तीय संस्थाले बजार संयन्त्रको माध्यमबाट साझा वातावरणीय लक्ष्य हासिल गर्ने मूल उद्देश्य नै बैंकिङ क्रियाकलाप र यसमा निहित जोखिम र वातावरणीय र सामाजिक पक्षबीचसमन्वय गर्दै दिगो आर्थिक विकास हासिल गर्नु थियो ।  

अन्तर्राष्ट्रिय वित्त निगमले आफूले लगानी गर्ने प्रत्येक परियोजनाको वातावरणीय मूल्यांकन गर्नका लागि सन् १९९१ मा नै छुट्टै वातावरण एकाइ गठन गरेको छ । त्यस्तै अमेरिकाको आयात निर्यात बैंकले निर्यातका लागि लगानी गर्दा त्यसको वातावरणीय पक्षको मूल्यांकन गर्ने गरेको छ । त्यस्तै, विश्वका प्रसिद्ध बैंकहरू, जस्तै– स्ट्यान्डर्ड चाटर्ड, एचएसबिसी, डच बैंकहरूले पनि वातावरणीय पक्षको मूल्यांकनलाई विशेष महत्वका साथ लिएको पाइन्छ । आइएफसीसहित केही बैंकको समूहले सन् २००३ मा हरित बैंकिङ मार्गदर्शनहरूको सेट नै तयार गरेको छ जसलाई इक्वेटर प्रिन्सिपल्स भनिन्छ । यसअन्तर्गत १ करोड डलरभन्दा बढीको परियोजनामा लगानी गर्नुपर्दा इक्वेटर प्रिन्सिपल्सअनुसार वातावरणीय मूल्यांकन गरेर मात्र लगानी गर्नुपर्छ ।

हरित बैंकिङ, वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र दिगो विकास भन्ने कार्य मुनाफामुखी वित्तीय क्षेत्रका लागि त्यति रुचिकर नहुनसक्छ । तसर्थ उनीहरूलाई त्यसतर्फ प्रोत्साहन गर्न नियामक निकायले नै नीति नियम निर्देशनद्वारा नियमित गराउनुपर्छ ।

नेपालमा पनि वातावरण संरक्षणका लागि बैंक वित्तीय संस्थालाई सजग गराउने सन्दर्भमा केही कार्य भएका छन् । तर ती अत्यन्त नगण्य छन् । उदाहरणका लागि नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनमा ‘कुनै पनि प्रकृतिका उद्योगहरूमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्नुपूर्व अनिवार्यरूपमा पर्यावरणीय प्रभावको विश्लेषण गरी कर्जा प्रवाह गर्नुपर्नेछ’ भनी उल्लेख गरिएको छ ।

अतः बैंकिङ क्षेत्रले वातावरणमैत्री (हरित) हुनका लागि के गर्नुपर्ला त ? सर्वप्रथम त बैंक वित्तीय संस्थाले कर्जा लगानी गर्दा वातावरणको संरक्षण÷प्रवद्र्धन गर्ने किसिमका हरित परियोजनाहरूलाई प्राथमिकता दिनुपर्छ । परियोजनाहरूको वातावरणीय जोखिम मूल्यांकन, वातावरणीय लेखापरीक्षण, वातावरणमा प्रभाव पार्नसक्ने प्रत्येक परियोजना सञ्चालनका लागि आवश्यक पर्ने कर्जा आवश्यकताको मूल्यांकन र कर्जा अनुगमन, संस्था आफैँले पनि आन्तरिकरूपमा वातावरणमैत्री वस्तु, सेवा र प्रविधिको प्रयोगमा जोड, प्रदूषण नियन्त्रक मेसिनहरूको प्रयोगमा जोड दिनु आवश्यक छ । नियामक निकाय र सरकारद्वारा पनि उदाहरणकारूपमा वातावरणीय प्रविधिको प्रयोगमा जोड दिनु जरुरी छ ।

(कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक)

प्रकाशित: १९ फाल्गुन २०७७ ०७:२३ बुधबार

विचार हरित बैंकिङको हिसाब विकासको दिशा आर्थिक विकास