१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

अर्घाखाँचीमा क्षयरोगका २२२ जना बिरामी, ६ जनाको मृत्यु

क्षयरोग कम गर्न विभिन्न उपाय अवलम्बन गरिरहँदा अर्घाखाँचीमा बिरामीको संख्या बढेको छ। आर्थिक वर्ष २०७८-०७९ को तुलनामा गत आवमा बिरामीको संख्या ह्वात्तै बढेको हो।

गएको एक वर्षको अवधिमा एक सय ९६ जना नयाँ क्षयरोगका बिरामी फेला परेको तथ्याङ्कले देखाएको छ। गत आवमा जिल्लाका ६ स्थानीय तहमा गरिएको परीक्षणका क्रममा एक सय ९६ जनामा क्षयरोगका बिरामी फेला परेका हुन्। जिल्लामा क्षयरोगका कारण एक वर्षमा ६ जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७९-८० मा ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ।

विश्व क्षयरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालय अर्घाखाँचीले आयोजना गरेको कार्यक्रममा आव २०७८-०७९ मा २६ जना र आव २०७९-०८० मा एक सय ९६ जना बिरामी गरी दुई सय २२ जनाले नियमित औषधि सेवन गरिरहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले बताए।

सन्धिखर्क नगरपालिकामा ६५ जना क्षयरोगका बिरामी छन्। त्यस्तै भूमिकास्थान नगरपालिकामा ५७ जना, शीतगंगा नगरपालिकामा ३९ जना बिरामी छन्। यस्तै छत्रदेव गाउँपालिकामा २१, पाणीनि गाउँपालिकामा १९ र मालारानी गाउँपालिकामा १६ जना बिरामीले उपचार गराइरहेका छन्।

बिरामी आफैं खुल्न नचाहँदा पहिचान र उपचारमा समस्या भइरहेको अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा. अशोक शाहले बताए। ‘समाजमा नकारात्मक सोचाइ राख्छन् भनेर धेरै खुल्न चाहँदैनन्’, उनले भने, ‘बिरामी आफूलाई टिबी भएको छ भन्ने कुरा पत्याउनुहुन्न। एक हप्ता औषधि खाएर छाड्ने बिरामी पनि हुनुहुन्छ।’ निःशुल्क औषधी उपलब्ध हुँदा पनि बिरामी स्वास्थ्य संस्थामा आउन हिचकिचाउने गरेको उनले बताए।

जिल्लामा परीक्षणको दायरा बढाउन नसक्दा संक्रमितको वास्तविक संख्या पहिचानमा समस्या भइरहेको छ। यहाँका स्थानीय तहले खकार जाँच शिविर, परीक्षण गर्ने ल्याब तथा फोकलपर्सन नियुक्ति नगर्दा, नियमित हुने स्वास्थ्य शिविरमा समेत क्षयरोगका बारेमा सचेतनामूलक अभियान सञ्चालन नगर्दा क्षयरोगको जोखिम बढेको छ।

अर्घाखाँचीमा ६१ वटा डट्स केन्द्रहरु छन्, जसमा क्षयरोगको उपचार गरिन्छ। यस्तै ४ वटा माइक्रोस्कोपी केन्द्र, एकवटा जिन एक्सपर्ट केन्द्र, एकवटा डिआर सब–सेन्टर र एकवटा एआरटी केन्द्र रहेका छन्।

एकजना क्षयरोगीले २५ जनासम्मलाई श्वासप्रश्वासका माध्यमबाट रोग सार्ने स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले बताए। हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु, श्वास फेर्न गाह्रो हुनु, लगातार खोकी लाग्नु, तौल घट्नु, खान मन नलाग्नु, खकारमा रगत देखिएमा क्षयरोग हुन सक्ने भएकाले परीक्षण गर्नुपर्ने उनले बताए।

रोग पहिचानपछि नियमित औषधी सेवन गरेमा क्षयरोगको उपचार हुन्छ।

प्रकाशित: १२ चैत्र २०८० ११:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App