पछिल्ला केही दिन राजधानीको वायु प्रदूषण आकासिएको छ। कैयन् दिनदेखि पानी नपर्दा तथा वायुमण्डलमा थुप्रेको धुवा र धुलोलाई बढार्न सक्ने गतिको हावा नचल्दा वायु प्रदूषण यसरी ह्वात्तै बढेको हो। काठमाडौँको आकाशमा रहेको यही विषाक्त तुवाँलोका कारण सोमबार हवाई यातायातसमेत प्रभावित भएको थियो। हवाईजहाज अवतरण गर्न तीन हजार मिटरको हाराहारीमा भिजिबिलिटी हुनुपर्नेमा सोमबार बिहान १५ सयमा ओर्लेको थियो।
त्यसो त, राजधानी उपत्यकाको भौगोलिक आकार कचौरा जस्तो छ। यही हिसाबले स्थानीय र बाह्य कारणले सिर्जना हुने प्रदूषण राजधानीका वायुमण्डलमा थिग्रिएर रहने गर्छ र बाहिर सजिलै बढारिएर जान सक्दैन। दुई साताअघि फाटफुट पानी परेको थियो तर वायुमण्डलमा रहेको धुवा र धुलोलाई सफा गर्न त्यो वर्षा पर्याप्त भएन। बेस्सरी गर्मी भएको खण्डमा वायुमण्डलमा तातो हावा प्रवाह हुँदा पानी पर्न अनुकूल मौसम सिर्जना हुने गर्छ। त्यसो पनि हुन सकेको छैन। अहिले राजधानीमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान शाखाले तत्काल पानी पर्ने सम्भावना कम रहेको जनाएको सन्दर्भमा आगामी दिनमा वायु प्रदूषण झन बढ्न सक्ने देखिएको छ।
हुन पनि, पछिल्ला केही दिनमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जडित वायु प्रदूषण मापन यन्त्रले वायु गुणस्तर सूचकांक (एक्युआई) दुई सयभन्दा बढी रहेको जनाएका छन्। कतिपय स्थानमा दिनको केही समय तीन सयभन्दा माथि उक्लेको छ। वायु प्रदूषणको विश्वव्यापी तथ्यांक संकलन तथा प्रवाह गर्ने स्विजरल्यान्डमा रहेको संस्था आइक्युएयरको सूचीअनुसार पछिल्ला दिनमा राजधानी काठमाडौँ विश्वकै सबैभन्दा बढी प्रदूषित सहर बनेको छ। बुधबार मध्याह्न दुई सय ४२ एक्युआईसहित काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहरको स्थान लिन पुग्यो। दोस्रोमा दुई सय सात अंकसहित भारतको राजधानी नयाँ दिल्ली र तेस्रोमा एक सय ७६ अंकसहित भियतनामको हनोई रहेका थिए।
यो समग्र पृष्ठभूमिले संकेत गरेको कटुसत्य के हो भने वायु प्रदूषण काठमाडौँको प्रमुख जनस्वास्थ्य चुनौती बनेको छ। वायु प्रदूषण लगातार अस्वस्थकर तहमा रहिरहँदा यसका बहुआयामिक प्रभाव पर्दछन्। पछिल्ला केही दिनमा त स्थानीयको आँखै पोल्ने गरेर वायु प्रदूषण बढेको छ। प्रदूषण बढ्दा श्वासप्रश्वासमा कठिनाइ हुने, आँखा पोल्ने, घाँटी खसखस गर्ने, खोकी दमलगायतका असर देखिने गर्छन्। बाह्य वातावरणमा धेरै समय बिताउने कामदार, वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगीहरूलाई वायु प्रदूषणको प्रभाव अत्यधिक पर्छ।
वायु प्रदूषणको हावामा रहेको अत्यन्त विषाक्त कणहरू मानिसको फोक्सोसम्म सिधै पुग्न सक्ने र त्यसले रक्तसञ्चार प्रणालीमा बाधा पारी दम, मुटु रोग तथा श्वासप्रश्वाससम्बन्धी अन्य रोग निम्तने गर्छ। वायु प्रदूषणले सर्वसाधारणको सरदर आयुसमेत घटाएको कतिपय अध्ययनको निष्कर्ष छ। एयर क्वालिटी लाइफ इन्डेक्स–२०२४ (एक्युएलआइ) नामक एक अन्तर्राष्ट्रिय प्रतिवेदनका अनुसार विषाक्त वायुका कारण नेपालीको सरदर आयु ३.४ वर्षले घटेको छ।
नेपालमा विशेषगरी डिजेल र पेट्रोलमा आधारित सवारी साधनले गर्ने उत्सर्जन, जंगलमा डढेलो लाग्दा निस्कने धुवा, इँटा कारखानाले निकाल्ने धुवाँ, कृषि अवशेष जलाउँदा र फोहोर बाल्दा निस्किने धुवाँ, सडकबाट निस्कने धुलो वायु प्रदूषणका प्रमुख कारण मानिँदै आएको छ। यस सन्दर्भमा, वायु प्रदूषणका कारकलाई रोक्न राज्यलगायत सबै सरोकारवाला गम्भीर हुन आवश्यक देखिएको छ। वायु प्रदूषण गर्ने उद्योग, कलकारखाना, मोटर गाडी लगायत प्रदूषण गर्ने व्यक्ति र निकायप्रति निगरानी तथा अनुगमनलाई थप सशक्त पार्न जरुरी भैसकेको छ। यसैगरी, वायु प्रदूषण नियन्त्रणका क्षेत्रमा बनाइएका ऐन, कानुन, मापदण्ड, कार्यविधि एवं योजनाहरू किन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् भन्नेबारे पनि गम्भीर समीक्षा आवश्यक छ। वायु प्रदूषण देशभित्रको मात्र समस्या रहेन, त्यसैले यससँग जोडिएका अन्य मुलुकलाई पनि सम्वोधनका निम्ति जोड दिनु आवश्यक देखिएको छ ।
त्यसो त, सरकारले २०७६ सालमा सार्वजनिक गरेको काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनाले यातायात क्षेत्र, उद्योग प्रतिष्ठान, घरभित्रको वायु प्रदूषण, फोहोरमैलाजन्य प्रदूषण रोकथामसहित जनचेतना अभिवृद्धिमा प्राथमिकता दिएको छ। तर ६ वर्षको तथ्यांक हेर्ने हो भने यो कार्ययोजनाको कार्यान्वयन अत्यन्त फितलो देखिन्छ।
सत्य के हो भने जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यो विषयलाई सम्बोधन गर्न टालटुले प्रयासलाई पर्याप्त मान्न सकिँदैन। ‘साइलेन्ट किलर’का रूपमा रहेको वायु प्रदूषणका कारण मृत्युको संख्या आकासिँदै गरेको पृष्ठभूमिमा वायु प्रदूषण रोकथामका लागि तत्काल राष्ट्रिय कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ। यो वा त्यो कारण देखाएर राज्य र राजनीतिक नेतृत्व यो जिम्मेवारीबाट पन्छिन मिल्दैन। प्रदूषण त हो नि भनेर सामान्य रूपमा लिएर हुँदैन। यो अवस्था असामान्य अवस्थामा पुगिसकेको छ। हाम्रोजस्तो प्राकृतिक मुलुकमा सर्वसाधारण वायु प्रदूषणले निसासिने अवस्था आउनु आफैंमा चिन्ताको विषय हो।
प्रकाशित: २१ चैत्र २०८१ ०५:५२ बिहीबार