५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

प्याराग्लाइडिङ उडान बन्द गर्नु हतारको निर्णयः व्यवसायी

प्रतिबन्ध फुकुवा नगरे आन्दोलन गर्ने चेतावनी

पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ। फाइल तस्बिरः नागरिक

२०७७ मंसिर दोश्रो साता पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा ३८ वर्षका पाइलट राजु गैरे नेपालीको ज्यान गयो। राजुको भन्दा आगाडि पनि पोखराको आकाशमा बेलाबेला प्याराग्लाइडिङ दुर्घटना हुँदै आएका थिए, तर, ती सबैजसो दुर्घटना सोलो (एकल) वा प्रशिक्षार्थीका थिए। तर, राजुको भने टेण्डम (यात्रुसहित) उडानका क्रममा दुर्घटना भएको थियो। टेण्डम उडान दुर्घटनामा पाइलटले ज्यान गुमाएको त्यो नै पहिलो घटना थियो।  

राजुको दुर्घटनापछि पोखराको आकाशमा हुने गरेको प्याराग्लाइडिङ उडानमा निकै नै प्रश्न उब्जिए। पाइलटले आफूसँगै उडेका यात्रुलाई खुसी पार्न, मनोरन्जन दिलाउन र साहसिक अनुभव दिन उड्दाउड्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने गरेको भन्दै आलोचना पनि भएको थियो। त्यत्ति मात्र नभई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अस्वभाविक गतिविधि गर्ने पाइलटलाई त्यत्तिबेला कारवाहि समेत गरेको थियो। टेण्डम उडानको दुर्घटनापछि प्याराग्लाइडिङ उडानमा केही कडाई समेत गर्न थालिएको थियो।  

आइतबार पनि प्याराग्लाइडिङ उडानमा थप अर्काे मानवीय क्षति भएको छ। पोखरामा नवौं राष्ट्रिय खेलकुद चलिरहँदा आइतबार त्रिभुवन आर्मीमा अनुबन्धित खेलाडी निसिम थापाले प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाए। सराङकोटबाट ‘टेकअफ’ गरे लगत्तै थापा भूँइमा बजारिन पुगेका थिए। उनको उत्ति नै बेला ज्यान गएको थियो।

थापाको ज्यान गएपछि नेपालको हवाई क्षेत्रको नियमनकारी निकाय क्यानले तत्कालै अनिश्चितकालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। साहसिक हवाई खेलकुद प्याराग्लाइडिङ प्राधिकरणकै नियमनभित्र पर्छ। प्राधिकरणले अर्काे व्यवस्था नहुँन्जेलसम्मका लागि नेपालभर सबैखाले प्यराग्लाइडिङ उडानमा रोक लगाएको छ। प्राधिकरण प्रवक्ता जगन्नाथ निरौलाले आइतबारको दुर्घटनाको कारण, विद्यमान ऐन कानुनबारे अध्ययन गर्न अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि रोक लगाएको बताए। ‘अहिलेका लागि प्याराग्लाइडिङका सबैखाले उडानमा रोक लगाएका हौ। अहिलेको घटनाको अध्ययनपछि बल्ल कसरी उडान संचालन गर्ने भन्ने निर्णय हुनेछ,’ उनले भने।

प्राधिकरणले सबैखाले उडानमा एकाएक प्रतिबन्ध लगाउनुलाई पर्यटन व्यवसायी भने हतारको निर्णय मान्छन। प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (एनएए)का निवर्तमान अध्यक्ष कृष्ण भण्डारी व्यवसाय र खेल फरक पाटो हुँदाहुँदै पर्यटकीय सिजनको बेला व्यवसायीलाई अप्ठेरो पार्नेगरि प्राधिकरणले प्रतिबन्ध लगाएको बताउँछन्।  

‘नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङलाई नियमन गर्छ। राष्ट्रिय खेलकुद परिषद (राखेप)ले खेलकुदको नियमन गर्ने हो। खेलकुदका क्रममा दुर्घटना हुँदा पुरै देशभर व्यवसाय बन्द गराउनु कच्चा निर्णय हो,’ उनले भने, ‘दुर्घटना र मानवीय क्षतिप्रति हामी दुखि छौ। तर, खेलकुदमा भएको घटनाले व्यवसायलाई नै बन्द गराउनु उपयुक्त होईन।’ 

भण्डारीका बिचारमा प्याराग्लाइडिङभित्र खेल र व्यवसाय दुवै हुने भएकोले खेलमा दुर्घटना हुँदा त्यसलाई सुरक्षित गर्नेतर्फ राखेपले ध्यान दिनुपर्नेमा प्राधिकरणले व्यवसायलाई हस्तक्षेप गर्नु आवश्यक होईन। ‘थप अनुसन्धान गर्न केहीदिन कुनै ठाउँमा रोक्नु फरक कुरा हो, तर, यहाँ देशैभर उडान रोकिएको छ, यो राम्रो होईन,’ उनले भने।

खेलकुदको क्षेत्रमा राज्यले धेरै लगानी गरेपनि प्याराग्लाइडिङलाई खेल मान्दा यो क्षेत्रमा राज्यको लगानी शुन्य रहेको उनले बताए। व्यवसायीले पैसा तिरेर व्यवसायका लागि बनाएको टेकअफ र ल्याण्डिङ स्पट खेलकुद क्षेत्रको प्रयोगका लागि दिएर सघाएको उनले बताए। ‘अन्य खेलका लागि राज्यले ठुलो लगानी गरेको छ, तर, प्याराग्लाइडिङलाई खेल मान्ने राज्यले पूर्वाधार बनाउन सघाएको छैन। बरु हामीले सघाएका हौ, तर, अहिले व्यवसाय नै बन्द गराइएको छ,’ उनले भने, ‘खेल क्षेत्रमा घटना हुनासाथ व्यवसाय बन्द गराउने हतारको निर्णय भएको हो।’

उनले कसैको लहडमा व्यवसायलाई मार पार्ने गरि घात गर्न नहुने बताए। अहिले पर्यटकीय सिजन पनि हो। यो बेला पोखराको आकाशमा दिनमा झन्डै ४ सय उडान थिए। अढाई वर्ष कोभिडको मारमा परेको पर्यटन व्यवसाय यो बेला आफ्नै बलबुताले चल्नै थाल्दा झनै मारमा परेको उनले बताए। ‘कारण नै नखुलाई र औचित्य बिना नै बन्द गराइएको छ। जबकी नियमन गर्ने, पाईलटका गतिविधि अनुमगन गर्ने, दण्ड, जरिवाना, उपकरण परीक्षण गर्ने जिम्मा नेपाल हवाई खेलकुद संस्थालाई प्राधिकरणले नै अधिकार दिएको छ,’ उनले भने, ‘आवश्यक परेको भए हामीले नै कदम चाल्थ्यौ। तर खेल खेल्ने क्रममा दुर्घटना हुँदा त्यसको मार हामीमाथि थोपरियो।’  

उनका अनुसार व्यवसायिक उडानमा प्रयोग गरिने र खेलकुदका उपकरण फरक हुन्छन। खेलकुदमा फरक विधि हुन्छ। फरक उपकरण र तरिका उपयोग गरिन्छ तर, यहाँ खेलकुदको अप्ठेरोलाई लिएर व्यवसायमाथै नै कमजोर निर्णय भएको उनले बताए। ‘व्यवसायमाथि अघात परेको छ । पोखराको प्याराग्लाइडिङ प्रति प्राधिकरण उत्तिसारो उदार नदेखिएको हो भन्ने हाम्रो बुझाई छ,’ उनले भने।  

भण्डारीका अनुसार पोखराको आकाशमा प्याराग्लाइडिङ उडान सुरु भएको करिब अढाई दशक अवधिमा टेण्डमका २ वटा दुर्घटना भएका छन। पाँचवर्ष अघि भएको टेण्डम उडान दुर्घटनामा यात्रुको मृत्यु भएको थियो। दुइवर्ष अघि पाइलटको मृत्यु भएको थियो । प्याराग्लाइडिङको टेण्डम उडानमा अहिलेसम्म ज्यान जानेको संख्या दुइजना मात्र रहेको उनले बताए।  

पोखरामा आगामि जनवरी १ देखि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने तयारी प्राधिकरणको छ। त्यसका लागि पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडानलाई अन्यत्र सार्नुपर्ने प्राधिकरणले भन्दै आएको छ। तर, पर्यटन व्यवसायीले भने सकेसम्म पोखराको आकाशबाट प्याराग्लाइडिङ अन्यत्र नसार्न अनुरोध गरिरहेका छन्। आइतबारको दुर्घटनापछि पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडानलाई अन्यत्र सार्न बल पुग्ने गरि प्राधिकरणले निर्णय गरेको व्यसायीको भनाई छ। व्यवसायीले अहिलेको प्रतिबन्ध केहीदिनभित्र फुकुवा नगरे व्यवसायी प्राधिकरण विरुद्ध आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन्।  

नेपाल ह्याङग्लाइडिङ एण्ड प्याराग्लाइडिङ एशोसिएनका महासचिव शैलेन्द्र रावतले यो प्रतिबन्धलाई जतिसक्दो छिटो फुकुवा नगरे प्राधिकरण विरुद्ध आन्दोलन गर्ने बताए। ‘क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई देखाएर प्याराग्लाइडिङलाई सधैंका लागि बिस्थापित गर्ने प्रयास भईरहेकोमा आइतबारको घटनाले थप बल पु¥याएको छ,’ रावतले भने, ‘प्याराग्लाइडिङलाई व्यवसाय र खेल फरक विधा हुन भनेर नबुझ्दा यो समस्या भएको हो।’

खेलकुद दौरान बेलाबेला सबै क्षेत्रमा दुर्घटना हुने र खेलाडीको ज्यानै जाने गरेको उदाहरण पेश गर्दै रावतले भने, ‘आइतबारको घटनाले हामी निकै नै दुखि छौ। तर, खेलकुदमा घटेको घटनालाई जोडेर व्यवसाय बन्द गरिएको छ। प्राधिकरणका केही उच्च पदस्थ पदाधिकारीविरुद्ध हामी आन्दोलनमा जानुपर्ने हुनसक्छ।’

 खेलकुदको दौरान भएको दुर्घटनाको गलत रिपोर्टिङ गरेर पोखराको यो व्यवसायको बदनाम गर्न खोजिएको उनले बताए। ‘पोखराको प्याराग्लाइडिङ कसरि अन्यत्र सार्न सकिन्छ भनेर केही व्यक्ति लागिपरेका छन्। अहिले उनीहरुकै रिपोर्टिङका आधारमा यो निर्णय भएको हो । जुन गलत छ,’ रावतले भने।  

पर्यटकीय सिजनमा दिनमा झन्डै चारसय उडान भईरहँदा र धेरै पाहुना उड्ने प्रतिक्षामा रहेकै बेला व्यवसाय नै अनिश्चितकालका लागि बन्द गराउनु सुखद नभएको उनले बताए। ‘अहिले दिनमा झन्डै चारसयजना यात्रु प्याराग्लाइडिङ उडिरहेका छन्। कोभिडले थलिएको पर्यटन क्षेत्रमा अहिलेको पाहुनाको चापले केही राहत दिएको बेला जर्बजस्ती बन्द गराउने निहुँ दुर्घटनालाई बनाइएको हो,’ उनले भने, ‘कात्तिक ३ गते भन्दा अगावै प्रतिबन्ध फुकुवा नभएमा व्यवसायी आन्दोलन गर्न बाध्य हुनेछन्।’

प्रकाशित: ३१ आश्विन २०७९ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App