११ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

भरतपुर अस्पतालले बिमाबापतको ५० करोड भुक्तानी पाएन

चितवनको भरतपुर अस्पतालले स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा उपचारमा समस्या भएको छ। स्वास्थ्य बिमा बोर्डले पचास करोड रूपैयाँ भुक्तानी नदिएका कारण उपचार खर्च व्यवस्थापन गर्न समस्या भएको जानकारी अस्पतालले दिएको छ। आर्थिक अभावका कारण बिमा रकममार्फत दिइने सेवा हटाउँदै गएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा। डा कृष्णप्रसाद पौडेलले बताए।

‘असारसम्मको पचास करोड बढी बिमा रकम हामीले पाएका छैनौं’, बिहीबार भरतपुर अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा मेडिकल सुपरिटेन्डेन्ट पौडेलले भने, ‘हामीले नियमित सेवा दिन सक्दैनौं।’

उनका अनुसार अस्पतालले बिमाबापत प्रदान गर्दै आएको २४ प्रकारका प्रयोगशाला सेवा हटाइएको छ। केही समय रोकिएमा अस्पतालले औषधि दिन नसक्ने उनले बताए।

अहिलेसम्म अस्पताल विकास समितिको बजेटबाट खर्च मिलान गरिएको छ। अस्पताल विकास समितिको कोषमा पनि बजेट सकिँदै गएको बताउँदै डा। पौडेलले सरकारले रकम उपलब्ध नगराए सेवाहरू रोक्नुको विकल्प नहुने बताए। उनका अनुसार अस्पतालले फागुन महिनादेखिको औषधि तथा अस्पतालजन्य उपकरण खरिद गरेको रकम तिर्न बाँकी छ। औषधि र स्वास्थ्य सामग्री सप्लायर्सले भुक्तानी नपाएपछि सामग्री दिन बन्द गर्ने चेतावनी दिइसकेको उनले बताए। ‘हामीले फागुन महिनादेखि खरिद गरिँदै आएको औषधिको पैसा तिर्न सकेका छैनौं। हामीसँग औषधि तथा अस्पतालजन्य उपकरणहरू सकिरहन्छ’, उनले भने, ‘पेमेन्ट नभएपछि उहाँहरूले रोक्छु भन्नुभएको छ।’

औषधि र स्वास्थ्य सामग्री सप्लायर्सलाई अस्पतालले १२ करोड रूपैयाँ हाराहारीमा तिर्न बाँकी रहेको उनले बताए।

बिमा बोर्डले असार महिनापछि ३७ करोड हाराहारी भुक्तानी गरेको थियो। त्यसयता थपिँदै पचास करोड बढी पुगेको हो। अस्पतालले प्रत्येक महिना ६ करोड रूपैयाँ बराबरको सेवा दिँदै आएको छ। आर्थिक अभावका कारण औषधि र अन्य आवश्यक सामग्री खरिद गर्न समस्या भइरहेको अस्पतालका अध्यक्ष राजु पौडेलले बताए। ‘अधिकांश हामीले किनेर खर्च गर्नुपरेको अवस्था छ, अध्यक्ष पौडेलले भने, ‘अस्पतालले कहिलेसम्म सामान किनेर उपचार गर्न सक्ला र?’

भरतपुर अस्पतालमा सरकारी दरबन्दी र अस्पताल विकास समितिमा गरेर एक हजार दुई सय पचास कर्मचारी छन्। विकास समितिका आठ सय कर्मचारीलाई तलब खुवाउन मात्रै मासिक साढे चार करोड रूपैयाँ खर्च हुने गरेको उनले बताए।

बिमा बोर्डलाई अस्पतालको समस्या र औषधि सप्लायर्सले दिएको चेतावनीको जानकारीसहित पत्राचार गर्दा पनि रकम भुक्तानीमा गम्भीरता नभएको अध्यक्ष पौडेलले बताए। ‘हामीले स्वास्थ्यमन्त्रीदेखि स्वास्थ्य बिमा बोर्डका अध्यक्षलाई पनि पटक पटक भेटेर भनेका छौं,’ उनले भने, ‘तत्काल दिने कुनै आश्वासन पाएका छैनौं।’

बिमाबाट औषधि मात्रै नभएर ल्याब र अप्रेसन सेवासमेत दिनुपरेकाले खर्च धान्न कठिन भइरहेको छ। ‘अस्पतालमा आउने ७० प्रतिशत बिरामी बिमाका छन्। दैनिक एक हजार पाँच सय बिरामी बिमा अन्तरगतका हुन्छन्,’ बिमा शाखा प्रमुख लीलाधर पौडेलले भने ‘साउनदेखि हालसम्म इसिजीमा मात्र एक करोड बढी खर्च भएको छ।’

बिमाको सेवा नरोक्ने हो भने अस्पताललाई भार अझ थपिँदै जान्छ।’ बिमा रकम भुक्तानी नभएपछि देशका कतिपय अस्पतालले बिमाको सेवा नै बन्द गरेका छन्। यही अवस्थामा गए यहाँ पनि हटाउनुपर्ने बेला आउने अस्पतालले बताएको छ।

भरतपुर अस्पतालमा २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आएको थियो। गत असार मसान्तसम्ममा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमबाट एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको थियो।

१० लाख ३५ हजार एक सय १५ पटक सेवा लिएका थिए। भरतपुर अस्पतालमा एक दर्जन बढी जिल्लाका बिमाका बिरामी उपचारका लागि आउने गर्दछन्। भरतपुर सबैभन्दा बढी बिरामी आउने गर्दछन्। मकवानपुर, तनहुँ र गोरखा लगातका जिल्लाबाट पनि बिमाको उपचार गर्न आउने गर्दछन्।  

प्रकाशित: १२ वैशाख २०८२ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App