३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

अनुदानमा अनियमितता–२: छाडा चौपाया पाल्न अनुदान लिएर उन्नत जातका भैंसीपालन

प्रदेश सरकारको अनुदानमार्फत हातेमालो कृषि तथा सहकारी संस्थाले बनाएको गोठमा पालिएका उन्नत जातका भैंसीहरू । तस्बिर: नगेन्द्र/नागरिक

वीरेन्द्रनगर बजार क्षेत्रका छाडा चौपाया पाल्ने उद्देश्यले बराहताल गाउँपालिकामा कार्यक्षेत्र रहेको हातेमालो कृषि तथा पशुपालन सहकारी संस्थाले कर्णाली प्रदेश सरकारबाट ३६ लाख ६२ हजार रूपैयाँ अनुदान लियो। साझेदारी कार्यक्रम अन्तर्गत यतिनै रकम सहकारीले खर्च गर्ने गरी २०७६ सालमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्झौता भयो। अनुदान प्राप्त रकमबाट सहकारीले गोठ, पानी ट्यांकी, ट्वाइलेट, तारबार, कम्पोस्ट पिट, अफिस लगायतका पूर्वाधार निर्माण गर्‍यो।

सहकारीले वीरेन्द्रनगर नगरपालिकाबाट २०७६ पुस २५ गते २२ वटा छाडा चौपाया पाल्नका लागि बुझेर लग्यो। अहिले गोठमा एउटै पनि छाडा चौपाया छैनन्। अनुदानमा बनाइएको गोठमा १२ वटा उन्नत जातका भैंसी छन्। बराहताल गाउँपालिका–८ स्थित हुड्केमा रहेको सहकारीको फर्मका कर्मचारी तिर्थ बस्नेतले पाल्न नसकेपछि छाडा चौपाया फिर्ता गरिएको बताए । ‘घाँस काट्न दुईजना कर्मचारी राखेका थियौं, उनीहरूले राम्रोसँग काम गरिदिएनन्, खान नपाएर केही गोठमै मरे,’ बस्नेतले भने, ‘बाँकी चौपाया म दैलेख गएको बेला जहाँबाट ल्याइएको हो, त्यहीँ छोडेको जानकारी पाएँ।’

बस्नेतले वीरेन्द्रनगरमा छोडिएका चौपाया सडकमा बसिरहेको आफूले देखेको पनि बताए। ‘अस्ति वीरेन्द्रनगर जाँदा फर्मबाट छोडेका चौपाया बाटोमा बसेको देखेको थिएँ,’ उनले भने, ‘झण्डै एक वर्ष पालेका चौपाया बाटोमा देख्दा माया पनि लाग्यो।’ अनुदान दिने निकाय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अघिल्लो वर्ष पुस २४ गते सहकारीले सञ्चालन गरेको फर्मको अनुगमन गरेको थियो। अनुगमनका क्रममा नगरपालिकाबाट बुझेर लिएका गाई फेला नपरेको मन्त्रालयले जनाएको छ। अनुगमन टोलीले तयार पारेको प्रतिवेदनमा गाईगोठ जाने बाटो ठाडो उकालो भएकाले गाईपालनका लागि उपयुक्त नभएको पनि उल्लेख गरेको छ।

‘कार्यक्रमस्थलमा सबैले देख्ने गरेर अनिवार्य रूपमा कार्यक्रमको नाम, ठेगाना र सहयोग गर्ने निकायको नाम र अनुदान रकम उल्लेख गरी होर्डिङ बोर्ड नराखेको, अन्तिम कार्य सम्पन्न प्रतिवेदनमा ५० वटा क्षमताको गोठमा २२ वटा गाई रहेको उल्लेख भएकोमा गोठमा गाईनै नभएको पाइयो,’ मन्त्रालयको अनुगमन प्रतिवेदनमा भनिएको छ, ‘गोठमा गाईहरू नभएकाले भुइँहरू चर्कन थालेको, गाईगोठ जाने बाटो ठाडो उकालो भएकाले गाईपालनका लागि अनुपयुक्त रहेको देखियो।’ प्रतिवेदनमा व्यावसायिक रूपमा प्रांगारिक मल र विषादी उत्पादन गर्ने उद्देश्य पनि सहकारीले पूरा नगरेको उल्लेख छ।

सहकारीका अध्यक्ष ताराकेशर गौतमले छाडा चौपायाका लागि भन्दा पनि मल उद्योगको लागि संरचना निर्माण गरिएको बताए। उनले मल उद्योगका लागि मेसिनरी सामान आउन ढिलो भएकाले काम गर्न नसकिएको बताए। गौतमले वीरेन्द्रनगरबाट ल्याइएका छाडा चौपायामध्ये केही फर्ममै मरेको र केही किसानलाई वितरण गरिएको दाबी गरे। ‘वीरेन्द्रनगर नगरपालिकाबाट ल्याइएका केही चौपाया फर्ममै मरे,’ उनले भने, ‘बाँकी स्थानीय कृषकलाई दिएका हौं, वीरेन्द्रनगर फिर्ता गरिएको होइन ।’

उनले घाँस काट्नका लागि मासिक ३० हजारभन्दा बढी खर्च हुन थालेपछि छाडा चौपाया नपालेर उन्नत जातका भैंसी पालिएको बताए। ‘छाडा चौपाया पालेर घाँस काट्नेलाई तलब दिन नसकिने भयो,’ उनले भने, ‘त्यसैले अहिले उन्नत जातका भैंसी पालेका छौं।’ सहकारीका अध्यक्ष गौतमले मल उत्पादन सुरु गरेपछि फेरि छाडा चौपाया ल्याएर पाल्ने सोच आफूहरूले बनाएको दाबी गरे।  

प्रकाशित: २१ श्रावण २०७८ ०२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App