संघीय संसद्का दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबार सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको अधिवेशन शुक्रबार दिउँसो १ बजेका लागि बोलाएका हुन्।
नेपालको संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ । तर एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि छ महिना भन्दाबढी हुन नहुने सवैधानिक व्यवस्था छ ।
संसद सचिवालयले सार्वजनिक गरेको शुक्रबारको सम्भावित कार्यसूचीमा वैठक आह्वान र मन्त्रिपरिषद् हेरफेरसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउनेदेखि अधिवेशनको पहिलो दिन विभिन्न दलका नेताहरुबाट सम्बोधनको तयारी छ । शुक्रबारकै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने तयारी भएको छ । पहिलो दिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुनेछ ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन्। यही अधिवेशनबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक र पारित हुने भएकाले यो अधिवेशनलाई बजेट अधिवेशनका रुपमा पनि चिनिन्छ ।
यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्री बजेट’ छलफल वैशाख २८ देखि गर्ने तयारी संसद सचिवालयको छ । बजेट प्रस्तुत हुने १५ दिन अगावै प्री बजेट छलफल गर्नुपर्ने प्रावधान छ ।
त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुनेछ । यस पटक लामो समयदेखि प्रतिक्षा गरिएका सङ्घीय निजामती ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित हुने अनुमान गरिएको छ ।
संसद् सचिवालयले अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय र प्राविधिक आवश्यक सम्पूर्ण तयारी पूरा गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
प्रकाशित: ११ वैशाख २०८२ १८:५० बिहीबार





