स्वास्थ्य सेवा विभाग अन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार देशभर भर्चुअल मानसिक स्वास्थ्य सचेतना सम्मेलन हुने भएको छ।
सर्वसाधारणको सहज पहुँचका लागि भर्चुअल माध्यमबाट आयोजना गर्न लागिएको उक्त सम्मेलनमा देशभरका जोसुकै नागरिक सहभागी हुन सक्ने शाखाले जनाएको छ।
सम्मेलनमा सहभागी हुन चाहनेहरूका लागि शाखाले जुम लिंक, स्क्यान कोड र पासवर्ड उपलब्ध गराएको छ। इच्छुक सर्वसाधारणले सार्वजनिक गरिएको क्युआर स्क्यान गरेर वा लिंकमार्फत सिधै कार्यक्रममा जोडिन सक्नेछन्।
मानसिक स्वास्थ्य शाखाकी प्रमुख डा. पोमावती थापाका अनुसार सम्मेलनको मुख्य उद्देश्य सर्वसाधारणलाई मानसिक स्वास्थ्यबारे आधारभूत जानकारी दिनु हो।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतम शर्माले स्वागत मन्तव्य राख्ने र विषयविज्ञहरूले मानसिक स्वास्थ्यसम्बन्धी प्रस्तुति दिने तालिका रहेको डा. थापाले जानकारी दिए।
मानसिक रोग विशेषज्ञ डा. वासु कार्कीले यो सम्मेलन जनचेतना अभिवृद्धिका लागि महत्त्वपूर्ण हुने सुनाए।
उनले भने, ‘यस कार्यक्रममार्फत् हरेक नागरिकले मानसिक स्वास्थ्यबारे जानकारी पाउनेछन् भने स्थानीय स्वास्थ्य संस्थाबाट पाइने मानसिक स्वास्थ्य सम्बन्धी अधिकार र सेवा लिन सक्षम हुनेछन्।’

प्रकाशित: १७ पुस २०८२ १६:४३ बिहीबार





