नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले लोकतन्त्रमा भ्रष्टाचाररूपी धमिरा लागेको र मुलुक नेतृत्वको अदूरदर्शी निर्णयका कारण बिरामी भएको टिप्पणी गरेका छन्।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा व्यक्त गरेका हुन्। डा. भण्डारीले जनताको ठूलो सपना, सद्भाव र सहभागितामा स्थापित लोकतन्त्र वर्तमान अवस्थामा छटपटाइरहेको उल्लेख गरे।
“लोकतन्त्रमा भ्रष्टाचाररूपी धमिरा लागेको जनतामाझ अनुभूति छ। आत्मकेन्द्रित नेतृत्व, प्रविधिको विकासलाई आत्मसात् नगर्ने र लामो समयदेखि देशको बागडोर सम्हाल्नेहरूको व्यक्तिगत स्वार्थ, अदूरदर्शी र गलत छनोटका कारण मुलुक बिरामी भएको छ,” उनले लेखे।
उनले कठोर निर्णयको आवश्यकता रहेको बताउँदै ढिलाइ भइसकेको अवस्थामा सोच्नुपर्ने बेला आएको उल्लेख गरे। “सोचौं, ढिलो भइसकेको छ… कठोर निर्णयको आवश्यकता छ !” उनले भने। यद्यपि, उनले लोकतन्त्र दिवसको शुभकामना पनि व्यक्त गरे।
सांसद भण्डारीले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र असल चिकित्सक तथा शुभचिन्तकहरूको सहयोगप्रति आभार व्यक्त गरे। ‘जनताको ठुलो सपना, सदिच्छा र सहभागितामा ल्याएको लोकतन्त्र जलनमा परेर छटपटाइरहेको छ, म जस्तै भएको छ। असल डाक्टर र शुभचिन्तकहरूको शुभकामनाका कारण म विस्तारै ठिक हुँदैछु।’ उनले लेखेका छन्।
प्रकाशित: ११ वैशाख २०८२ १८:४९ बिहीबार





