१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

चौँरीपालन व्यवसाय सञ्चालन

जाजरकोट – कृषकहरुको जीवनस्तर उकास्ने अभिप्रायले जाजरकोट दुई स्थानीय तहमा चौँरीपालन व्यवसाय सञ्चालन गरिएको छ। डोल्पाको जगदुला गाउँपालिका–४ भालुपाटनमा व्यावसायिकरूपमा चौँरीपालन गरिएको छ।

भूमि तथा कृषि मन्त्रालय कर्णाली प्रदेशबाट ५० लाख रुपैयाँ, जगदुला गाउँपालिकाको एक घर एक व्यवसाय कार्यक्रमबाट ३२ लाख रुपैयाँबाट चौरीपालन व्यवसाय सञ्चालन गरिएको जगदुला गाउँपालिका अध्यक्ष नारसिंह रोकायले जानकारी दिए।

चौँरी नासिदै गएको बेला जगदुल्ला गाउँपालिकाको ३२ लाख र कर्णाली प्रदेश सरकारको ५० लाखको लगानीमा जगदुल्ला गाउँपालिका–४ चौँरीकोटमा भालुपाटन व्यवसायी चौरी फार्म स्थापना भएको हो। अहिले १५० चौँरी रहेको उक्त फार्ममा पाँच लाख रुपैयाँको डेरीसमेत सञ्चालन गरिएको छ।

चौँरी फार्म र जगदुल्ला गाउँपालिकाभित्रका कृषकले पालन गरेका भैँसी तथा चौँरीको दूध सङ्कलन गरेर व्यावसायिकरूपमा डेरी स्थापना गरी सबैलाई नियमितरूपमा दूध तथा दूधबाट उत्पादित वस्तु वितरण गर्ने उद्देश्य रहेको अध्यक्ष नारसिंह रोकायले जानकारी दिए। डेरीबाट छुर्पी, दूध, घ्यूलगायतका दूधजन्य वस्तुहरु उत्पादन गरिने लक्ष्य लिएको रोकायले बताए। 

चौरी फार्मबाट उत्पादन हुने ऊनबाट विभिन्न कपडा बनाई अर्थोपार्जन गर्ने लक्ष्य लिइएको छ।  त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका–११ घोडाखोरमा बङ्तडीमा २६ वर्षपछि चौँरीपालन स्रोत केन्द्र स्थापना भएको हो। उक्त स्रोत केन्द्रमा ३२ वटा चौँरी रहेको छ। 

दुवै ठाउँमा रहेको चौँरीपालन केन्द्रको अनुगमन तथा उद्घाटन गर्दै कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जनताको जीवनस्तर उकास्नका लागि कर्णाली प्रदेश सरकारले कृषकमुखी कार्यक्रम ल्याएको बताए।

डोल्पामा खाद्यान्न ढुवानी, दुधजन्य पदार्थको उत्पादन अनि स्थानीयरूपमा उत्पादन गरिने कपडाको मुख्य स्रोत नै चौँरी भएको प्रदेशसभा सदस्य शाहीले बताए। डोल्पाका विभिन्न गाउँमा चौँरीलाई पशुपालनको मुख्य व्यवसायको रुपमा लिइन्छ । रासस

प्रकाशित: ८ कार्तिक २०७६ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App