१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

अब सिंहदरबारले पिउने छ मेलम्चीको पानी

प्रमुख प्रशाकीय केन्द्र सिंहदरबारमा पहिलो पटक मेलम्चीको खानेपानी वितरण प्रणाली जोडिने भएको छ।

यही जेठ महिनाभित्रै मेलम्चीको पानी सिंहदरबारभित्र रहेका सबै मन्त्रालय, आयोग, निकाय तथा सबै कार्यालयहरूमा जोडिसक्ने गरी काम सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले बताए। उनका अनुसार मेलम्चीबाट जोडिएको पानी शुद्ध र खानयोग्य हुने छ। ‘सुरुमै जाँच गरेर पानी सिंहदरबार पठाउँछौँ। त्यसपछि पनि निरन्तर पानीको जाँच गरीरहने छौ,’ पौडेलले भने, ‘त्यसैले मेलम्ची खानेपानी वितरण प्रणालीबाट पठाइएको पानी ढुक्क भएर खान हुन्छ।’

२०७७ सालमा पहिलो पटक मेलम्चीको पानी काठमाडौंमा भित्रिएको थियो। तर अहिलेसम्म मेलम्चीको पानी सिंहदरवार पुग्न सकेको छैन। सिंहदरबारभित्रै पूर्व गेटको उत्तरी पट्टि वाटर ट्रिडमेण्ट पाल्ट जोडेर मन्त्रालय र कार्यालयहरूमा पानी पठाउने गरिएको छ। यो पानी भनेको डिप बोरिङ गरेर तानिएको पानी हो। अहिले सिहंदरबारमा हरेक दिन करिब ७ लाख लिटर पानी प्रयोग हुन्छ तर यो पानी पिउनकोलागि त्यती प्रयोग हुँदैन। पिउनको लागि जार पानीको बोत्तल हरेक दिन सिंहदरबारभित्र लगिने गरिन्छ। एक मन्त्रालयका स्टोर किपरका अनुसार सिंहदरबारमा आउने पानीको बोत्तल र जारको खरिदमा मात्र वर्षमा करिब ४ करोड रुपैयाँ खर्च हुन्छ। सिंहदरबारभित्र पानीको जार र बोत्तल निषेध गर्ने बित्तिकै वर्षमा ४ करोड रुपैयाँ खर्च जोगिने छ।  

गत बुधबार खानेपानी मन्त्री प्रदीप यादवले सिंहदरबारभित्र मेलम्ची खानेपानी वितरण प्रणाली अन्तर्गत धारा जोडिने ठाउँको अनुगमन गर्दै सिंहदरबारभित्र अब खानेपानीका  बोत्तल र जार निषेध गर्ने घोषणा गरेका थिए। उनले वैशाख महिनाभित्रै मेलम्चीको पानी सिंहदरबार पुगिसक्ने दाबी पनि गरेका थिए। ‘मन्त्री ज्युले वैशाख महिनाभित्रै मेलम्चीको पानी सिंहदरबारमा जोड्छौं भन्नु भएको छ तर वैशाख त होइन। जेठभित्र जोडिने निश्चित छ,’ एक अधिकारीले भने।  

प्रमुख कार्यकारी अधिकृत पौडेलका अनुसार संसद् सचिवालयको नयाँ भवन बनाउने क्रममा  ठेकेदार कम्पनीले अनामनगरबाट सिंहदरबारभित्र जोडिएको मेलम्ची खानेपानीको मुल पाइपमै क्षति पुर्याएको छ। ‘एक हप्ताभित्रै क्षति भएको मुल पाइपको मर्मत गरीसक्ने जानकारी ठेकेदारले कम्पनीले गराएको छ,’ पौडेलले भने, ‘यस काममा समन्वय गर्न हामीले सहरी विकास मन्त्रालयलाई आग्रह गरेका छौं।’ सहरीको मातहतमा संसद सचिवालयको नयाँ भवन बनाउने काम भइरहेको छ।    

सिंहदरबारभित्रका रहेका सबै मन्त्रालय र कार्यालयहरूमा खानेपानी वितरण प्रणाली पहिले नै जोडिसकिएको छ। त्यही प्रणालीसँग मेलम्चीको पानी जोडिने छ। सिंहदरबारभित्रका कुनै कार्यालयमा धारा जोडिएका छैनन् भने केयुकेएलका कर्मचारीहरूले धारा जोड्ने भएका छन्।      

सिंहदरबार परिसरभित्र अहिले ४ वटा सार्वजनिक धारा छन्। त्यहाँ मेलम्चीको पाइप जोडिएको छ। तर मेलम्चीको पानी आउँदैन। प्रधानमन्त्री कार्यालयमा अहिले २ वटा धारा छन्।  

२०८१ साल माघ १ गते प्रधानमन्त्री कार्यालय परिसरभित्र जोडिएको एउटा धाराको उद्घाटन तत्कालीन प्रधानमन्त्री पुष्कमल दाहालले नै गरेका थिए। तर त्यहाँ पनि पानी कहिले आएन।  

यसैगरी  गृह मन्त्रालय र खानेपानी मन्त्रालयको परिसरभित्र पनि सार्वजनिक धारा जोडिएको छ। तर त्यहाँ पनि पानी आउँदैन। अब सिंहदरबार परिसरभित्र रहेका सबै धारामा पानी आउने गरी वितरण प्रणालीसँग जोडिने केयुकेलका कर्मचारीहरू बताउँछन्।  

मेलम्चीको पानी २०७७ सालदेखि कहिले आउने कहिले बन्द हुने भइरहेको छ। २०७७ सालबाट आउन लागेको पानी २०७८ सालमा आएको वर्षाले बन्द गरायो। २०८०सम्म मेलम्चीको पानी बन्द भयो। २०८० माघ १ गतेबाट फेरि मेलम्चीबाट पानी आउन सुरु गरेको छ।

प्रकाशित: १३ वैशाख २०८२ २०:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App