बागलुङको चैते दसैं मेला र डोको, डाली, नाङ्ला, ठेकी, राडीपाखी एकअर्काका पर्यायवाची जस्तै हुन्। घरेलु जीवनका लागि उपयोग हुने उत्पादनका सामग्री किनबेचका लागि चैते दसैं परिचित छ। तर पछिल्लो समय भने स्थानीय उत्पादनका सामग्रीले ग्राहक पाउन मुस्किल पर्दै गएको छ।
बागलुङको पहिचान बनाएका राडीपाखीलगायतका सामग्री त अचेल चैत्राष्टमी मेलामा आउनै छाडेका छन्। डोका, डाली, नाङ्ला, ठेकीलगायत घरेलु प्रयोजनका हातहतियार लिएर आएकाहरू व्यापार नभएर बसेका छन्।
जिल्लाको बडिगाड गाउँपालिका-४ जलजलाबाट डाली नाङ्ला लिएर आएका ससिराम रस्ताखातीले व्यापार निकै घटेको गुनासो गरे। ‘मैले चैतै दसैंमा डोको डाली र नाङ्ला लिएर आउन थालेको पनि ३५ वर्षबाट माथि भयो’, उनी भन्छन्, ‘पहिले–पहिले त चोयाबाट बनेका सामान निकै बिक्री हुन्थ्यो। अहिले कसैले किन्दैनन्। केही बुढाबुढीले मात्र अलिअलि लैजान्छन्।’ चैते दसैं मेलाको पहिचान नै बनेको डालो नाङ्लो लोप हुने अवस्थामा पुगेको उनी बताउँछन्।
‘अहिले बिक्री हुन छाडेपछि हाम्रा छोराछोरीले काम गर्दैनन्, बरु उल्टै मलाई पनि खान नपुग्ने काम किन गर्नुहुन्छ, छाड्नुस् भन्छन्’, उनले भने, ‘यी सामान त चैते दसैं मेला भनेपछि खोजीखोजी किन्ने चलन थियो। अहिले त मतलबै छैन।’
प्लास्टिकका सामानले आफूहरूको रोजीरोटी नै खोसेको उनको गुनासो छ। ‘भारतबाट लबरको भाँडो आउँछ, सबैले सस्तो भनेर त्यही किन्छन्। राम्रा कुरामा कसैको ध्यान छैन। स्वास्थ्यप्रवद्र्धक कुरामा कसैलाई मतलब छैन’, उनले भने। ६६ वर्षको उमेर पुगेका उनका अब विस्तारै हात–खुट्टा कमजोर हुँदै गएका छन्।
उनी भन्छन्, ‘हाम्रा छोराछोरीले यो काम गर्ने भएनन्, नयाँ पुस्ताले डोका, डाला, नाङ्ला भन्ने चिज देख्नै पाउँदैनन् कि भन्ने लाग्छ।’ उनले तीन सयदेखि एक हजार पाँच सय रूपैयाँ पर्नेसम्मका सामान ल्याएर आएका छन्। बागलुङ नगरपालिका-१२ का अशोक खड्का चैत्राष्टमी मेलामा काठबाट बनेका ठेकी मदानी, पुछै, चौथी, आरीलगायतका सामग्री राखेर बिक्रीका लागि बसेका छन्। उनले यो काम गर्न थालेको २५ वर्ष भयो। पछिल्ला वर्षमा काठका भाँडा बिक्नै छाडेको उनको गुनासो छ।
‘यहाँ भाँडा राखेर बसेको छु, बोहनी हुनै गाह्रो भइरहेको छ’, उनी भन्छन्, ‘हाम्रो पेसा नै यही हो। यो ठेका भाँडा बिक्री हुन छाडेपछि त हामीले जीवन धान्ने गाह्रो हुने भो।’ काठका भाँडाहरूको बजार खस्केपछि धेरैले यो पेसाबाटै विस्थापित हुनुपरेको उनको भनाइ छ। ‘यो कामबाट जीवन चल्न गाह्रो भएपछि धेरैले यो काम नै छाडेर अरू क्षेत्रमा लाग्नुभएको छ’, उनी भन्छन्, ‘अब यस्तै भइरह्यो भने त हामी पनि विस्थापित हुने अवस्था आउँछ।’
काठको ठेकामा राखेको दूध दहीको स्वस्थ हुने भए पनि प्लास्टिकका भाँडाले विस्थापित गराएको उनको भनाइ छ। मेलामा राखिएको भाँडा किन्नेभन्दा भड्काउने धेरै आएको उनी बताउँछन्। ‘दुईजना किन्ने मान्छे आए भने अरू पाँचजना यति महँगो रहेछ। योभन्दा त प्लास्टिकको कति सस्तो पाइन्छ भनेर भड्काउने मान्छे आउँछन्’,उनले भने।
विगत लामो समयदेखि वाद्यवादन र स्थानीय उत्पादनका सामग्री व्यवसाय गर्दै आएका बागलुङका अमृत बोहोराले पछिल्ला ८-१० वर्षमा स्थानीय सामग्रीको व्यापार निकै ओरालो लागेको बताए।
‘पहिलेपहिले यहाँ आउने हरेकले कुनै न कुनै स्थानीय उत्पादन सामान किनेर जान्थे। सबैका हातहातमा हुन्थ्यो’, उनले भने, ‘अहिले त एकाध मान्छे हेर्न आउँछन् त्यही पनि महँगो भयो भनेर जान्छन्।’
पहिला पहिला त चैत्राष्टमी मेलामा समुह–समुहले डम्फु मादल बजाउने गरेका कारण मादलको खुब व्यापार हुने गरेको उनलाई सम्झना छ। विगतमा स्थानीय उत्पादनको बजारीकरणमा चैते दसैंले ठूलो भूमिका खेलेको संस्कृतिकर्मी वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ बताउँछन्।
‘बागलुङको गाउँगाउँबाट डोका, डाली, नाङ्लो, घरेलु हतियारका सामग्री ल्याएर बिक्री गर्ने चलन थियो’, उनी भन्छन्, ‘निसीखोलाका राडीपाखी त यहाँको पहिचान नै थियो। मुस्ताङबाट आएकाले खाना पकाएर खुवाउँथे। मधेसबाट सामान ल्याएर आउने र यहाँको सामान किनेर जान्थे। गोरखपुरबाट समेत मान्छे आउँथे। अहिले समयसँगै सबै परिवर्तन भयो।’
बागलुङका कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले भने। स्थानीय उत्पादनको प्रवद्र्धन र व्यापारका लागि व्यवसायीलाई सहुलियत दिएको उनी बताउँछन्। ‘घरेलु उत्पादनका सामान बिक्री गर्नेलाई हामीले स्टलको पैसा लिएका छैनौं’, उनले भने, ‘उहाँहरूको सामान बिक्री नभएर बेखर्ची हुनुभयो भने मेला व्यवस्थापन समितिले नै बाटो खर्च हालेर पठाउँछौं भनेका छौं। हाम्रो उद्देश्य भनेको घरेलु उत्पादनको बजारीकरण होस् भन्ने नै हो।’
प्रकाशित: २४ चैत्र २०८१ १०:१३ आइतबार