१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml ८:२७ पूर्वाह्न
राजनीति

जनता सुखी भएमात्र राज्य बलियो हुन्छ : पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनताको असन्तुष्टि, आक्रोश र निराशाको कारण पहिचान गरी समाधान गर्नु राज्यको दायित्व भएको बताएका छन्।

नयाँ वर्ष २०८२ को शुभकामना सन्देशमा उनले जनता खुसी र सुखी भएमात्र राष्ट्रिय एकता, सद्भाव र शान्ति कायम भई राज्य बलियो हुने विचार व्यक्त गरे। पूर्वप्रधानन्यायाधीशसमेत रहेका रेग्मीले लोकतन्त्रमा जनता सर्वोपरि हुने र सबै विषयको संवाहक शक्ति जनता नै भएको उनको भनाइ रहेको छ।  

‘नेपालको सामाजिक र राजनीतिक इतिहास हेर्दा लाखौँको बलिदानले जनता सार्वभौम बनेका हुन्,’ उनले भनेका छन्। शिक्षा, स्वास्थ्य र रोजगारीलाई आम सरोकारका विषय भन्दै उनले कृषि, कृषिजन्य उद्योग र पर्यटनलाई जनतासँग जोडेर जीविकाको बलियो आधार बनाउनुपर्ने सुझाए।

‘आजको मुख्य विषय जनताको आवश्यकता पहिचान र त्यसको प्रभावकारी समाधान हो। परिणाममुखी काम, राज्यको स्रोतको अधिकतम उपयोग र त्यसको प्रतिफल जनतामा पुग्नु नै हाम्रो सफलता र जनताको सन्तुष्टिको आधार हो,’ सन्देशमा उनले भनेका छन्।  

रेग्मीले विश्व परिवेशमा आफ्नो उपस्थिति समीक्षा गर्दै राज्यको उन्नति र जनताको समृद्धिका लागि एकजुट हुन नयाँ वर्ष सफल होस् भन्ने कामना पनि गरेका छन्। रासस

प्रकाशित: १ वैशाख २०८२ ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App