१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अन्नपूर्ण आधारशिविरः भरिभराउ छन् पदमार्गका होटल (फोटो सहित)

सहरका होटलमा भने आधा मात्र पाहुनाः व्यावसायी

मोटरबाटोले पाहुनालाई सिधैं गन्तव्यसम्म

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा पदयात्राका लागि गएका पाहुनाको भीडभाड। तस्बिर सौजन्यः दिलीप गुरुङ

मुख्य पर्यटकीय सिजनमा पनि पोखराका होटलको अकुपेन्सी अनुपात ५० प्रतिशत हाराहारीमा रहेको पर्यटन व्यावसायीले बताईरहँदा अन्नपूर्ण आधारशिविर क्षेत्रको पदयात्रामा भने आन्तरिक तथा बाह्य पाहुनाको घूइँचो लागेको छ। अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पदयात्रामा अहिले आन्तरिक तथा बाह्य पाहुनाको भीडभाड रहेको त्यहाँका व्यावसायीले बताएका छन्।  

पर्यटन व्यावसायीले मार्च–अप्रिललाई पर्यटकीय सिजन मान्छन्। पदयात्राका लागि यो उपयुक्त सिजन रहेको व्यावसायीको भनाई छ। विदेशी पाहुना आउने सिजन भएपनि पोखराले उत्तिसारो पाहुनाको भीड देख्न पाएको छैन। तर, पदमार्गमा भने पाहुना पर्याप्त रहेको व्यावसायीको भनाई छ। पोखरामा होटल संख्या बढी हुँदा पाहुना बाँडिएको तर, पदमार्गमा भने सीमित होटलमा बास बस्नुपर्ने हुँदा पाहुना एकैठाउँ थुप्रिँदा भीडभाड बढि देखिएको पनि व्यावसायीको भनाई छ। अहिले पदमार्गका अधिकांश गन्तव्यमा आन्तरिक तथा बाह्य पाहुना पर्याप्त रहेको त्यहाँका व्यावसायीले बताएका छन्।

व्यावसायीका अनुसार एबिसी पदमार्गको प्रवेशद्वार मानिने घान्द्रुकभन्दा माथि आधारशिविरसम्म अहिले स्वदेशी तथा विदेशी पाहुनाको भीडभाड छ। घान्द्रुकसम्म आन्तरिक पाहुनाको भीडभाड छ भने आधारशिविर क्षेत्रमा विदेशी पाहुनाको बाहुल्यता रहेको त्यहाँका व्यावसायीले बताएका छन्। एबिसी पदमार्ग क्षेत्रका होटलको अकुपेन्सी अनुपात ९० प्रतिशत हाराहारीमा रहेको उनीहरुले बताएका छन।  

‘यो पदयात्राको सिजन पनि हो। त्यसैले अहिले पाहुनाको घुँइचो लागेको छ। आन्तरिक र बाह्य दुवै खालका पाहुना अहिले आएका छन,’ घान्द्रुकका पर्यटन व्यावसायी किसम गुरुङले भने, ‘घान्द्रुकसम्म आन्तरिक पाहुनाको घुँइचो छ। आधारशिविरमा भने विदेशी पाहुना बढी छन ।’ अहिले घान्द्रुकका सबैजसो होटलमा पाहुना रहेको उनले बताए। ‘घान्द्रुकका होटलको अकुपेन्सी करिब सतप्रतिशत छ,’ उनले भने, ‘आन्तरिकले घान्द्रुकलाई पूर्ण रुपमा साथ दिएका छन।’

पदयात्रामा खचाखच पर्यटक पुगिरहँदा पोखराका होटलको अकुपेन्सी भने ५० प्रतिशत हाराहारीमा रहेको व्यावसायीले बताए। ‘यो बेलाको अकुपेन्सी कम्तिमा ७० प्रतिशत हुनुपर्ने हो, तर छैन। अहिले पोखराका होटलको अकुपेन्सी अनुपात बढीमा ५० प्रतिशत मात्र हो । त्यो पनि एकनासको छैन,’ माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराईले भने, ‘पोखरामा होटल पनि थपिएको थपियै छन। त्यही भएर पाहुना पनि बाँडिएका छन। पाहुना बाँडिएकोले पनि सबैलाइ पर्याप्त हुन सकेको छैन । पदयात्रामा भने सीमित होटल हुने गरेका छन्। ती होटलमा बस्नुको विकल्प पाहुनालाई हुँदैन, त्यसैले सानो आकारले पनि पाहुनाको भीडभाड देखाउँछ।’  

अन्नपूर्ण आधारशिविर पदमार्गमा पर्ने माछापुच्छ्रे आधारशिविर (एमबिसी)का व्यावसायी दिलीप गुरुङका अनुसार मंगलबार बेलुकी अन्नपूर्ण आधारशिविरमा मात्र कम्तिमा ३ सय जना पाहुना थिए। ती मध्ये ५० जनाजति आन्तरिक र बाँकी विदेशी थिए। ‘विदेशीमा पनि अहिले कोरियन, चिनियाँ र मलेसियन पाहुना बढी छन । आन्तरिक पनि थपिएका छन। अझै यूरोपियन मूलूकका पाहुना पनि थपिँदा यो भीडभाड अझ बढ्नेछ,’ उनले भने, ‘आधारशिविरका होटलको अकुपेन्सी करिब सतप्रतिशत नै रहेको छ। यो सिजनमा पाहुना अभाव खेप्नुपरेको छैन।’  

उनका अनुसार यूरोपियन मूलका पाहुना आउन थाल्ने हो अबका केहीदिनपछि त्यहाँको भीडभाड अझै बढ्नेछ। किनकी सिजन भर्खर सुरु भएको छ। अझै दुइमहिना जति पाहुना आउने समय बाँकी नै छ। माछापुच्छ्रे आधारशिविरमा फिस्टेल गेष्टहाउस चलाएका गुरुङले बुधबार बिहान कम्तिमा एकसय जनालाई खाना खुवाएको समेत बताए। ‘यो बेला हामीलाई निकै नै व्यस्त बनाएको छ। अहिले व्यस्त हुने समय पनि हो। अघिल्ला केही महिना सुनसान अवस्थामा रहेको पदमार्ग अहिले भरिभराउ छ,’ उनले भने।  

मोटरबाटोले पाहुनालाई सिधैं गन्तव्यसम्म

केहीवर्ष अघिसम्म अन्नपूर्ण आधारशिविर क्षेत्रको पदयात्रामा जाने अधिकांश पाहुनाले पोखरालाई अन्तिम बसाईको गन्तव्य बनाउँथे। पोखरामा बास बसेर विहानै पदयात्राका लागि निस्कन्थे। पदयात्रा सकेर फर्किँदा पनि पोखरालाई नै अन्तिम बसोबासस्थल बनाउँथे र भोलिपल्ट गन्तव्य तय गर्दथे। तर, अहिले पाहुनाको यात्रा शैली बदलिएको छ। अहिले आन्तरिक तथा विदेशी पाहुनाले पोखरालाई सुरुवाती र अन्तिम गन्तव्य नै नबनाई पदयात्रा पुरा गर्ने गरेका छन।  

अहिले अन्नपूर्ण आधारशिविर (एबिसी) पदयात्रामा पर्ने झिनुसम्म मोटर पुगेको छ। काठमाडौंबाट एकैदिनमा सहजै झिनु पुग्न सकिन्छ। झिनुबाट साढे २ दिनमा सहजै एबिसी पुग्न सकिन्छ। एबिसीबाट फर्किदा त्यो समय अझै कम हुन्छ। झिनु ओर्लेका पाहुना सवारी चढेर सिधै राजधानी पुग्न पनि सक्छन। पदयात्राको माथिल्लो गाउँसम्म पुगेको मोटरबाटोले अहिले पाहुनालाई यति छिटो बनाएको छ की पोखरामा रातै नबिसाई पनि उनीहरु आउजाउ गर्न सक्ने भएका छन।  

त्यसबाहेक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ६ देखि बेलुकी ९ बजेसम्म उडान हुन्छ। पदयात्रा सकेर बेलुकीसम्म पोखरा फर्केका पाहु्ना सहजै त्यहीदिन काठमाडौं पुग्न सक्छन। काठमाडौंबाट बिहानैका उडानमा पोखरा ओर्लेका पाहुना पनि पोखरामा बासै नबसी परैको गन्तव्य तय गर्न पाएका छन। त्यसले गर्दा पोखरालाई धेरै पर्यटकले छल्दै यात्रा गर्ने गरेका छन्। त्यसको प्रभावले पनि पोखरामा पाहुना कम भएको पदयात्रा क्षेत्रका व्यावसायीको भनाई छ।

‘आन्तरिकले मात्र नभई विदेशीले पनि पोखरालाई ‘बाइपास’ गरेका छन। काठमाडौबाट आएका पाहुना एकैदिनमा झिनुसम्म उक्लिन सक्ने भएका छन। फर्किँदा पनि झिनुबाट एकैदिन काठमाडौं पुग्न सकेका छन,’ घान्द्रुकका पर्यटन व्यावसायी किसम गुरुङ भन्छन, ‘पर्यटकले पोखरालाई बाइपास गर्दै सिधै माथिसम्म उक्लिन पाएका छन। मोटरबाटोको पहुँचले गर्दा पाहुनालाई सिधै घान्द्रुक उकालेको छ।’

एमबिसीका व्यावसायी दिलीप गुरुङका अनुसार विदेशी पाहुनाले पनि अहिले पोखरालाई छाडेर एकैदिनमा पदयात्राको माथिल्लो बिन्दुसम्म आइपुग्न थालेका छन। ‘विदेशीले पनि पोखरालाई बाइपास गरेका छन। छोटो समय लिएर आएका विदेशी पाहुना अहिले पोखरा रात कटाउन छाडेका छन,’ उनले भने, ‘जहाजबाट पोखरा ओर्लिेपनि सहजै आउन सकिने र गाडीमै आएपनि घान्द्रुक वा झिनुसम्म आउन सक्ने अवस्था भएपछि पाहुनाको बसोबास पोखरामा हुन छाडेको छ।’  

प्रकाशित: ३० फाल्गुन २०८० १५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App