१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

इलाम भित्रिने पर्यटक संख्यामा वृद्धि

इलामको पर्यटन लयमा फर्कन थालेको छ। कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो।

पछिल्लो समय इलाममा भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको पाइएको छ। जिल्लाका दर्जनौँ पर्यटकीय स्थल घुम्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्न थालेको छ। झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकल रोङको तथ्यांकअनुसार पछिल्लो समय इलाम घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको हो।

चालु आर्थिक वर्ष २०८०-८१ के ६ महिनामा ८५ हजार तीन सय २६ जना पर्यटक इलाम भित्रिएका हुन्। गत साउन १ देखि पुस मसान्तसम्म ७४ हजार सात सय ७७ आन्तरिक र १० हजार पाँच सय ४९ जना विदेशी पर्यटक इलाम भित्रिएको पर्यटन सूचना केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिए।

गत साउनमा एक हजार दुई सय ८९, भदौमा नौ सय १८, असोजमा दुई हजार एक सय ४५, कात्तिकमा १८ हजार तीन सय तीन, मङ्सिरमा २६ हजार पाँच सय ४८ र पुसमा ३६ हजार एक सय २२ जना पर्यटक इलाम घुम्न आएको सूचना अधिकारी घिमिरेले जानकारी दिए।

पर्यटन सूचना केन्द्रका अनुसार जोरकलश हुँदै गत आव २०७९-८० मा एक लाख ३३ हजार चार सय ४५ जना पर्यटक भित्रिएका थिए। त्यसअघि आव २०७८-७९ मा एक लाख २९ हजार पाँच सय ८१ जना पर्यटक इलाम घुम्न आएका थिए। कोरोना सङ्क्रमण बेला आव २०७७-७८ मा २९ हजार आठ सय ११ मात्र इलाम घुम्न आएको पर्यटन सूचना केन्द्रको तथ्यांक छ।

इलामका पर्यटकीय क्षेत्र कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कल, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पानीटार, कुइभिर, गजुरमुखी र माङमालुङ रहेका छन्। यी क्षेत्रमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक घुम्न आउँछन्। –रासस

प्रकाशित: १३ माघ २०८० ०६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App