यतिबेला स्याङजाका किसान सुन्तला बगैंचामा व्यस्त छन्। पाकेर पहेलपुर बनेको सुन्तला टिप्न किसानलाई भ्याइनभ्याई छ। स्थानीय किसानसँगै सहरबाट आएका ठेकेदार पनि सुन्तलाबारीमै थपिएका छन्, जसले सिंगो सुन्तला बगैंचा नै ठेक्का लिएका छन्।
सुन्तला उत्पादनमा पहिचान कमाएको स्याङ्जा यतिबेला सुन्तलामय बनेको छ। कतिसम्म भने सिद्धार्थ राजमार्ग भएर आउजाउ गर्नेले पनि अहिले सडक किनारमै चाहेजति सुन्तला किन्न पाउँछन्। राजमार्ग भएर हुँइकिनेले सडक किनारमा थुप्रो बनाएर बेच्न राखेको सुन्तला किन्दै स्वाद लिइरहेको पनि भेटिन्छ।
सरकारी तथ्यांक अनुसार स्याङ्जाले पछिल्लो समय सुन्तलाबाट निकै नै ठूलो आम्दानी गरिरहेको छ। सुन्तला खेती गर्ने सामान्य किसानले पनि वर्षमा कम्तिमा एक लाख रूपैयाँ सहजै कमाउन सकेका छन्।
जिल्लाका सबैजसो गाउँका किसानले सुन्तलाबाट आम्दानी गर्न थालेपछि यसअघि अन्नबाली फलिरहेको र वर्षाैदेखि बाँझिएको जग्गालाई पनि किसानले सुन्तला खेतीमा परिणत गर्न थालेका छन्।
हुन त स्याङ्जामा सुन्तला खेती हुन थालेको धेरै वर्ष भयो तर पछिल्लो समय यसले यतिधेरै व्यावसायिकता पाउँदै गयो सुन्तला खेती नगर्ने किसान भेट्टाउनै मुस्किल हुन थालेको छ।
स्याङ्जाले झन्डै चारदशकदेखि सुन्तला उत्पादन गर्न थालेको भए पनि गतवर्ष सर्वाधिक बढी आम्दानी जिल्लाले भित्र्या एको थियो। त्यो आम्दानीमा यो वर्ष केही कम भए पनि जिल्लाले सुन्तला उत्पादनबाट लाभ भने नियमित पाइरहेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना–सुन्तला सुपर जोनका प्रमुख माधव लम्साल भन्छन्, ‘गत वर्ष स्याङ्जाले सुन्तला बेचेर मात्र एक अर्ब ३८ करोड रूपैयाँ भित्र्याएको थियो।
कम्तिमा एकअर्ब रूपैयाँ त किसानकै हातमा परेको थियो। पोहोर सबैगरी २२ हजार मेट्रिक टन सुन्तला जिल्लामा फलेको अनुमान छ तर यस वर्ष उत्पादनमा केही कमी आएको छ। यो वर्ष पनि कम्तिमा एक अर्ब रूपैयाँ आम्दानी हुने आकलन रहेको लम्साल बताउँछन्।
यो वर्ष उत्पादन केही घट्दा १७ हजार मेट्रिक टन सुन्तला फल्ने अनुमान रहेको उनले बताए। स्याङ्जाले परार झन्डै ७५ करोड रूपैयाँको सुन्तला उत्पादन गरेको थियो।
‘सुन्तला उत्पादनमा सधैंभरि एकनास हुँदैन, कहिले कम फल्ने त कहिले बढी फल्ने भइरहन्छ। संभवतः यो वर्ष केही कम फल्ने पालो परेकाले उत्पादनमा कमी भएको हो,’ उनले भने, ‘अर्काेवर्ष अहिलेभन्दा अझ बढी फल्ने हाम्रो अनुमान छ।’
उनका अनुसार सुन्तलाको फल्ने चक्र नै यस्तो हुन्छ कि एकवर्ष अधिक फल्ने र अर्काेवर्ष केही कम फल्ल्ने हुन्छ। त्यसैले आगामी वर्ष अहिलेभन्दा बढी फल्ने अपेक्षा रहेको लम्सालले बताए।
उनका अनुसार यो वर्ष उत्पादन घट्ने पालो पनि हो। त्यसबाहेक सुरुमै केही रोग किरा पनि लाग्यो, केही प्राकृतिक रूपमै पनि कम फल्ने गर्दा उत्पादनमा असर परेको उनले सुनाए।
‘सुन्तला बेचेर वर्षमा १० लाख रूपैयाँ कमाउने किसान त सयौं छन्। एकै जना किसानले वर्षमा झन्डै ४० लाख रूपैयाँसम्म पनि सुन्तलाबाटै आम्दानी गरेका छन्। एक/दुई लाख रूपैयाँ कमाउने किसानको त यहाँ लेखाजोखा नै छैन,’ लम्साल भन्छन्, ‘पछिल्लो समय सुन्तला खेतीले धेरै किसानलाई लोभ्यायो।
किसानले धान मकै फल्ने खेतबारीसमेत मासेर सुन्तलाका बिरुवा रोपेका छन्। वर्षाैदेखि खेती नभएर झाडी बनेको जग्गालाई पनि अहिले खनखोस्री गरेर सुन्तलाखेती गर्न योग्य बनाएका छन्।’
लम्सालका अनुसार अहिले स्याङ्जाका सबैजसो स्थानीय तहमा सुन्तला खेती हुन्छ। सबै गरी दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ। त्यसमध्ये १३ सय हेक्टर क्षेत्रफलको खेतीले उत्पादन दिन्छ भने बाँकी नौसय हेक्टर क्षेत्रफलमा रहेका बोट उत्पादन दिने तयारीमा छन्।
केही आगामी सिजनमा र कतिपय बोटले अझै केही वर्षपछि उत्पादन दिनेछन्। स्याङ्जामा पोहोर प्रतिहेक्टर झन्डै १७ मेट्रिक टन सुन्तला फलेको अनुमान थियो तर यो वर्ष १२ मेट्रिक टन मात्र फल्ने अनुमान लम्सालको छ।
स्याङ्जाका अगुवा सुन्तला किसान बोधराज अर्याल पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष उत्पादनमा गिरावट आएको बताउँछन्। अर्यालले अघिल्लो वर्ष सुन्तला बेचेर १५ लाख रूपैयाँ कमाएका थिए। यस पटक सात लाख रूपैयाँ मात्र आम्दानी हुने अपेक्षा रहेको सुनाए।
‘यस वर्ष उत्पादन घटेकै हो तर आगामी वर्ष राम्रो हुने अपेक्षामा छौं। अघिल्लो वर्षको तुलनामा यस वर्ष कम फल्ने पालो परेकाले पनि केही घटेको हो,’ अर्यालले भने, ‘अहिले कम फले पनि किसान निराश छैनन्, आगामी वर्ष पक्कै राम्रो फल्नेछ।’
किसानले सुन्तलाबाट आशावादी भएर लगानी र मेहनत गरिरहेको उनले सुनाए। ‘स्याङ्जाका किसानलाई सुन्तला खेतीले निकै हौस्याएको छ,’ उनले भने, ‘आम्दानी पनि हरेक वर्ष बढ्दै गएको छ। किसानको दैनिकी धान्ने माध्यम नै सुन्तलाको उत्पादन बनेको छ।’
स्याङ्जाको अर्जुनचौपारी, भीरकोट, वालिङ, पुतलीबजार लगायतका सबैजसो स्थानीय तहमा व्यावसायिक रूपमा सुन्तला खेती हुने गरेको छ।
प्रकाशित: ३ पुस २०८० ०२:५५ मंगलबार