२० कार्तिक २०८१ मंगलबार
image/svg+xml
कला

नेपालमा अर्थवर्क र महिला कलाकार

सन् २००२ मा ओशो तपोवनको घना जंगलभित्र एउटा ‘अर्थवर्क’ हामी सबैले देख्यौँ। जमिनलाई ढिस्को वा खाल्टो बनाई त्यस भित्र र बाहिर विभिन्न चिज थपी बनाइने कला हो,‘अर्थवर्क’। जुन मूलतः इन्स्टलेसन स्वरूपमा हुन्छ र सर्जकको समसामयिक अवधारणा यसैमा समाहित भएकोे हुन्छ। अर्थवर्कलाई ‘अर्थ आर्ट’ र ‘ल्यान्ड आर्ट’ भन्ने पनि चलन छ। यसर्थ यो ‘इन्स्टलेसन’, ‘कन्सेप्चुअल’ र ‘साइट स्पेसिफिक’ कलाको संयुक्त रूप हो।

यो अर्थवर्कमा जमिनमा त्रिकोणात्मक ढिस्कोभित्र अर्को त्रिकोणात्मक अझ अग्लो ढिस्को बनाई चारैतिर जुटका धागाले जमिनलाई घेरा हाल्दा एउटा खुला कोठाजस्तो बनेको थियो। आकाश नै यसको छत थियो। यसको बीचबीचमा दर्द र त्रासले भरिएको मानवको शिर लगायतलाई संगठित गरिएको थियो।

त्रिकोणमाथि त्रिकोण खप्टिएर देखापरेको उनको यो कामले त्यस वेला चर्चा पाएको थियो,आम भावकले अचम्म मानेर अवलोकन गरेका थिए। जन्मेसँगै मृत्यु अघिसम्म मानवले गर्नुपर्ने काम वा संघर्षको कथालाई कलाकारले आफ्नो कलामा समेटेकी थिइन्। यो काम नितान्त अस्थायी रूपमा हुँदा अहिले यसको भौतिक स्वरूप अस्तित्वमा छैन।‘संघर्ष’ नाम दिइएको त्यस काम कलाकार संगी श्रेष्ठको थियो।

समकोण र चतुर्भुज संरचनामा गुथिएका चित्र यसपालिको दशैंअघि ग्यालरी एमक्युबको भित्तामा सजिए।थोरै वृत्ताकार अनि चहकिलो,विपरीत रङले समतलीय प्रभावमा बन्न गएका यी चित्रका कलाकार पनि संगी श्रेष्ठ नै हुन्।

यसपालि उनले आफ्नो प्रदर्शनीको नाम संगी राखेकी छन्। रातो टीका र रातै लिपिस्टिक लगाएको नारी ओठको प्रतीकात्मक विम्ब उनको कलामा स्पष्ट देखिन्छ। यो उनको दोस्रो एकल कला प्रदर्शनी हो।

उनको पहिलो एकल कला प्रदर्शनी ‘अव्यक्त अभिव्यक्ति’ नामबाट सन् २००९ मा आयोजना भएको थियो। सन् ९० को दशकको अन्तअन्ततिर उदाएकी सबल महिला कलाकार हुन्,संगी।

१९ वर्षअघिको ‘संघर्ष’ र अहिलेको ‘संवेग’ फरक काम हुन्– प्रकृति र स्वभावका दृष्टिले। दुवै काम नियालेकाहरूलाई लाग्न सक्छ,दुवै काम एकै कलाकारका काम हुन् र? तथापि दुवै कलाको अन्तर्वस्तु हेर्दा त्यति धेरै फरक लाग्दैन।

कलाकारको कोण माथिको लगाव, मानवले भोग्नुपरेको त्रास र भयमाथिको प्रस्तुति दुवैमा समान लाग्छन्। एउटा फरक यो छ कि सन् २००२ मा उनका पात्र भयग्रस्त देखिन्थे, आजका उनका कलाका पात्र शान्त र मलिन छन् तर भयग्रस्त छैनन्।

त्यतिवेला देश द्वन्द्वमा थियो, अर्थात् मान्छेलाई मान्छेले हत्या गर्ने त्रासदिपूर्ण वातावरण थियो। आज कोभिडको भयावह त्रासदिले घरभित्रै खुम्चिएर बस्न परिरहेको छ। डर त डरै हो,कारण जेहोस्। पहिले मान्छेबाट मान्छेमा डर पसेको थियो भने आज प्राकृतिक प्रकोप (भाइरस)ले मान्छेको जीवनलाई थिलथिलो बनाएको छ।

मूलतः समय र अवस्थालाई हेर्ने संगीको दृष्टिकोण भिन्न छ। जुनसुकै माध्यमबाट प्रस्तुत हुँदा पनि आन्तरिक तत्त्व फरक हुँदैन भन्ने सत्यतथ्य उनको कलामा देखिन्छ। यही निरन्तरतामा आज उनका थोरै अलग्ग पाराका चित्र आएका छन्।

कला जस्तोसुकै स्वरूपमा बनोस्, मानवकै जीवनको वरिपरि घुमेको हुन्छ। सबैजसो मानवको कला,मानवले नै बनाउने र मानवले नै अवलोकन गर्ने सन्दर्भ पनि फरक नहुने रहेछ–संगीका चित्रले यस्तै अनुभूति गरायो।

मानव मुखाकृति (स्वभावतः महिलाको मुखाकृति)ले ढम्म ढाकेका उनको कला संयोजनमा राता,नीला अनि थोरै चहक पहेँलो रंगको प्रधानता देखिन्छ। चलमलविना स्थिर उनका रूपले भावकलाई चलायमान बनाउन खोज्दैनन्। बरु कोणीय सपाट रंगहरूको खण्डभित्र आनन्द लिन आग्रह गरेको देखिन्छ। घडीको शून्य समय अनि ठप्प रहेको अवस्थामाथि पनि उनका कला सिर्जना भएका छन्। कोभिड कहरको घनघोर अँध्यारोमा पनि बिहानी आइहाल्छ भन्ने सकारात्मक सोचको उपज हुन्, उनका यी कला। 

प्रदर्शनीको को नाम संवेग होस्,प्राकृतिक प्रकोपका कारण उनको मनमा अनेकौँ आरोह अवरोह होऊन्, तर चित्र शान्त, स्थिर र सौम्य देखिन्छन्। कोभिड कहरका बीच आशा र विश्वासलाई लिएर कला घुमेका छन्।

खुसी, शान्ति,समृद्धि, दीर्घायु, विजय,पे्रम आदि कसीमा उनका कलालाई नियाल्दा उनको पृष्ठभूमि पनि केलाउनुपर्ने हुन्छ। उनी लेख्छिन्, कार्टुन बनाउँछिन्। आफ्ना कलाबारे बोल्नुपर्दा मिठो शैलीमा कलागत अवधारणालाई स्पष्टसँग राख्छिन्। उनका श्रीमान् र छोरी पनि कलाकार हुन्। यसरी सम्पूर्ण कलामय वातावरणमा यसपालि उनको ‘संवेग’ आएको छ,जो स्वभावतः अब्बल छ।

कोभिडको त्रासदिभित्र उम्रेका अनेकौँ भाव अभिव्यक्त गर्न उनले चित्रमा रूपहरूको संगठनका लागि सपाट समकोणलाई छानेकी छन्। हाम्रा परम्परा, धर्म–संस्कार आदिमा पनि यस्ता क्युबिक फर्मले अर्थका साथ ठाउँ पाएको देखिन्छ। तान्त्रिक धर्म वा कलामा यसले औधि प्रभाव राखेको छ,त्यसैले यसलाई अझ गहिरिएर हेर्न, बुझ्न जरुरी देखिन्छ।

यहाँसम्म कि समुदायको दिनचर्या र संस्कार,जात्रासँग जोडिएका लोककलामा समेत यस्ता क्युबिक फर्मले गहिरोसँग जरा गाडेका छन्। यी सन्दर्भ र परम्पराले कतै न कतै परोक्ष रूपमा उनलाई छोएको आकलन गर्न सकिन्छ।

उनको कलालाई झट्ट हेर्दा स्पष्ट दृश्यावलोकन हुने सादृश्य भनेको व्यावसायिक र सिर्जनशील कलाको थोरै समागमन पनि हो। विश्व कला विकासको सन्दर्भमा दुरान्त भेदलाई पन्छाएर समतलीय प्रभाव देखाउने प्रचलनले कलामा आधुनिक काल निम्त्यायो। यसैको पराकाष्ठामा सिर्जनशीलतालाई व्यावसायिक बनाउँदा कलामा सपाटपन स्थापित हुन गएको देखिन्छ।

यी इत्यादि अवयव उनको कलाभित्र यथेष्ट मात्रामा पसेका छन्। अलंकार, बुट्टा र चम्किलो रंगले उनको कलालाई डोमिनेट गर्दा उहिले युरोपमा सन् १९०५ तिरै उदाएको मातिसको फाउभिजम्को झल्को मिल्छ। सपाट अलंकारले भरपुर भरिएको मातिसको संयोजनमा उज्यालो चम्किलो रङले छपक्कै ढाकेको हुन्थ्यो।

भद्दा र बच्चाको जस्तो देखिने वा ‘अनफिनिस्ड प्रोडक्ट’का रूपमा उनको कलामा आधारभूत रंगको बाहुल्य हुन्थ्यो। आकारलाई विकृत र भाँच्ने क्रम सम्भवतः मातिस हुँदै अगाडि बढ्यो।

सम्भवतः यसैको अर्को चरणमा आकारलाई भाँचभुँच गरी पिकासोले नितान्त क्युबिक फर्ममा कलाको निर्माण गरे। सन् १९०७ मा पिकासोको बनाएको क्युबिक फर्मको कला नै क्युबिजम्को पहिलो चित्र बन्न पुग्यो। यसै वेलाको रङ र क्युबिक फर्मको सोझो प्रभाव हुन पुग्दा संगीको ‘संवेग’ घुलमिलमा दृश्यावलोकन हुन पुगेको देखिन्छ।

पाश्चात्य र पूर्वीय कला,धर्म, परम्परा आदिको प्रभाव अहिलेका नेपाली समसामयिक कलाकारमा एकमुष्ठमा पर्नु अन्यथा मान्नुपर्दैन। समग्रमा कहीँ न कहीँ समाजका अवयवको प्रतिनिधित्व गरे पनि एक अलग्ग संयोजन देखिनु संगीको खास विशेषता हो। यो उनको कलामाथिको सिग्नेचर (आफ्नो एक अलग्ग पहिचान) धेरै अगाडिदेखि निरन्तर छ।

अर्थवर्कको सन्दर्भ

अर्थवर्क मूलतःअमेरिका र ग्रेट ब्रिटेनमा सन् १९६० र ७० बीच देखापरेको कलाको एउटा आन्दोलन हो। एक्लै वा समूहगत रूपमा कतै सुनसान वा सहरी वातावरणभन्दा टाढा शान्त माहोलमा जे–जस्ता सामग्री भेटिन्छन्, जस्तो मुड आउँछ,जस्तो वातावरण छ,प्रकृतिको जस्तो बनोट छ, त्यस्तै कलाको निर्माण हुने यसको स्वभाव हुन्छ। यसको मूल आधार जमिन नै हो।

प्रकृतिबाट प्राप्त जमिनलाई कलाकारले आफ्नो अनुकूल आकारमा बनाउनु, जमिनमाथि आकारको निर्माण गर्नु नै अर्थवर्कको परिचय भएको परिभाषा पाइन्छ। कुनै ठाउँको प्राकृतिक सामग्री(ढुंगा–माटो, पानी, चट्टानका टुक्रा, रूख, झारपात,आदि) यो कलाका लागि कला सामग्रीका रूपमा प्रयोग हुने गर्छन्। यसैले यस्ता कलालाई ‘साइट स्फेसिफिक आर्ट’ पनि भन्ने गरिन्छ। यसमा कलाकारले पहिलेदेखि नै सोचेको, बुझेको वा अनुभूत गरेको कुरा आफ्नै ठाउँमा हुन्छ,तत्कालीन परिस्थितिमा त्यहाँको वातावरणबाट जन्मेको एक अलग्ग भावलाई नै कलाकारले चित्रमा संयोजन गरेका हुन्छन्, यसरी बनेको कला नै ‘साइट स्फेसिफिक कला’ हो।

अर्थवर्कमा घरबाट निस्केर कुनै सुनसान र स्वच्छ वातावरणमा कला सिर्जना गरिन्छ। यसर्थ यो कला अन्य सामान्य कलाभन्दा एकदमै पृथक् र अलग्ग स्वरूपका साथ देखिन्छ। कुनै एकान्त ठाउँमा कलाको निर्माण गरिसकेपछि कलाकारले त्यसलाई फोटोग्राफीमा कैद गर्छन् र पछि अनुकूलतामा सहरका ग्यालरीमा प्रदर्शित गर्छन्।

यसले कलाको व्यवसायीकरण र सहरी जिन्दगीको पनि बहिष्कार गर्ने आसय राख्छ। ‘इकोलजिकल इन्भायरोन्मेन्ट’ र कलालाई एक ठाउँमा उभ्याउने यसको प्रयास रहन्छ। गाउँले वातावरणीय स्वच्छताको यसले वकालत गर्छ। यसले आध्यात्मिकताभित्र डुबुल्की मार्ने इच्छा जाहेर गर्छ, शुद्ध र चोखो प्रकृतिसँग एकाकार हुने आग्रह पनि राख्छ ।

सन् १९६७ मा आर्ट क्रिटिक ग्रेस ग्लुकले न्युयोर्क टाइम्समा यसबारे एक लामो लेख लेखेका थिए, त्यसपछि यो कलाले चर्चा पाएको थियो। यसै वेला डग्लस लैचर र रिचार्ड साबाको कामलाई अर्थवर्कको पहिलो कामको रूपमा पनि घोषणा गरिएको थियो।

सबैभन्दा चर्चित अर्थवर्क वा ल्यान्ड आर्टमा सन् १९७० मा बनेको ‘स्पाइरल जेट्टी’लाई लिने गरिन्छ। समुद्रको छेउमा बनाइएको यो कामलाई केही समयमै पानीको छालले बगाएको थियो। यो कलालाई संरक्षण गर्ने वा बचाउने लक्ष्य थिएन,त्यसैले यसको नष्टतालाई प्राकृतिक प्रक्रियाका रूपमा लिइएको थियो। यस कामको तस्बिर भने उपलब्ध छन्।

इन्स्टलेसन प्रकृतिको यस्ता कलाको पछि कुनै वेला महत्त्व वा आवश्यकता महसुस गरियो भने कलाकारलाई पुनः कुनै ठाउँमा त्यस्तै विशेषताको कला बनाउन लगाइन्छ। वा, कलाकार आफैँले सिर्जना गर्न सक्छन्।

 तथापि टाइम र स्पेसको सन्दर्भ यसमा गहिरोसँग गाँसिएको हुँदा उस्तै कला अर्को ठाउँमा फरक समयमा बनाए पनि त्यसलाई नयाँ सिर्जनाको रूपमा व्याख्या गर्ने प्रचलन छ। यस्ता कुनै पनि कलालाई बचाउने उद्देश्य राखिएको हुँदैन। स्पाइल जेट्टीका कलाकार रोबर्ट स्मिथसनले हेलिकप्टरबाट तस्बिर लिएका थिए।

सन्२००० को उत्तराद्र्धमा नेपालमा विधिवत रूपमा पसेको उत्तरआधुनिक कलाका अनेकौँ रूपमध्ये ‘अर्थवर्क’ महत्त्वपूर्ण कलाको रूपमा देखापरेको हो। यस बेला जमिन र प्राकृतिक अवयवलाई आधारभूमि बनाएर धेरै कला निर्माण भएका छन्। जमिन नै कलाको एक अंश बनेका कला भने कमै छन्। सन् २००२ मा पानीलाई पृष्ठभूमि बनाएर सलिल सुवेदी, सुदर्शन राणा, पृथ्वी श्रेष्ठ र जमिनलाई आधारभूमि बनाएर चन्द्रा श्रेष्ठ र गोपाल कलाप्रमीले काम गरेका थिए।

अस्मिना रञ्जितले सन् २००३ मा नाफाको प्रांगणमा तत्कालीन भयावह वातावरणलाई आम भावकमा अनुभूत हुने गरी ‘एम्बुस’को प्रत्याभूति स्वरूपमा ‘अर्थवर्क’ गरेकी थिइन्। एकताका जस्मिन राजभण्डारीले नारीको गर्भावस्थाको स्वरूपलाई उदांग पार्दै गरेको अर्थवर्क पनि महत्त्वका साथ देखापरेको थियो।

काठमाडौंबाट टाढा एकान्त गाउँमा बनेको जस्मिनको काम अवलोकन गर्न सहरका आम भावक पुगेका थिए। यसबाहेक इशान परियारले पनि एकान्त ठाउँमा गई पानीको पोखरीलाई आधार बनाएर अर्थवर्क गरेका छन्।

नब्बे दशकको खण्ड

नेपालको समसामयिक कलाको इतिहासमा सन् ६० को दशकमा आधुनिक कलाको उदय भएपछि कलाको शैली र प्रवृत्तिमा किसिम किसिमका परिवर्तन देखिएका छन्।पश्चिमी कलाको शैली र प्रवृत्तिको प्रभाव परेका यति वेलाका सबैजसो आधुनिक कलाकारका काम कलाको एकै सिद्धान्त र पद्धतिमा आधारित भएर अगाडि बढेको देखिन्छ। अलि गहिरिएर अवलोकन गरियो भने यसैभित्र पनि अलगअलग खण्ड विभाजित भएर देखापरेको अनुभव गर्न सकिन्छ।

समसामयिक कलाको सन् १९९० को दशकमा राजनीतिक परिवर्तनको माहोल सँगसँगै सम्भवतः पहिलोपल्ट नेपालमा नेपाली कलाकार सडकमा आएको देखिन्छ। राजनीति र सामाजिक मुद्दामा केही रूपमा सजग बनेका त्यस वेलाका कलाकारमा परिवर्तनप्रतिको चासो देखिन्थ्यो।

यसअघि यथेष्ट बाह्य प्रभावसहित नेपाली कलामा आधुनिकता आइसकेको थियो। तापनि कला राजामहाराजाकै वरिपरि घुमेको देखिन्थ्यो। राजाबाट कला प्रदर्शनी उद्घाटन गर्न पाए अहोभाग्य ठानिन्थ्यो। राणाकालमा चरम उत्कर्षमा पुगेको ‘कमिसन वर्क’को परम्परा थोरै पर घचेडिए पनि राजा–महाराजाको ओत थाप्न कलाकार लागिपरेको देखिन्थ्यो। सम्भवतः यस वेलाका कलामा शैलीगत आधुनिकता देखिए पनि कला स्टुडियोबाट बाहिर आउन सकेको थिएन। विसंको ४० को उत्तर्राद्धमा मात्र कलाकार खुलेरै बाहिर आउन थालेका हुन्।

सम्भवतः पहिलोपल्ट २०४६ सालको प्रजातन्त्रको पुनर्बहालीका क्रममा निक्लेको जुलुसमा कलाकारको संलग्नता देखिएको थियो। यद्यपि २०३६ सालतिरैबाट विद्रोहात्मक कला कलाकारका घरका भित्तामा टाँसिन थालिसकेको थियो। नीलो र पहेँलो रंगको जनमत संग्रहमा आम जनता दुई धारमा बाँडिँदा कलाकार पनि विभाजित भएका थिए।

२०४२ को कलाकारको ठूलो भेला र भेलाले जन्माएको ‘नेपाल कलाकार समाज’बाट त्यतिवेला कलाकारमा कला विकासको संचेतना जागेको मान्नैपर्छ। यसैबेला एक अलग्ग ललितकला प्रज्ञा प्रतिष्ठानको माग जोडदार रूपमा उठेको थियो। यसलाई मूर्त रूप दिन कलाकारबाट जुलुस र धर्ना भए। यो एउटा माहोलले गर्दा कलाका विद्यार्थी अझ बढी सजग भए। भित्तामा सरकारविरोधी कला टाँगिन थाल्यो।

राजनीतिक परिवर्तनका लागि कला बने, कलाकार सडकमा आए। यसैबेला धेरै महिला कलाकार सक्रिय रूपमा देखापरे। यसैबेला देखापरेका युवा महिला कलाकारका काममा केही अत्याधुनिकता, केही आधुनिकता, केही समसामयिकता र केही परम्परागत शैली घुलमिल रहेको देखिन्छ। यसैबेला देखिएका महिला कलाकारले आज देखिएका बग्रेल्ती नवयुवा महिला कलाकारलाई सक्रिय रहन मलजल गरेको मान्नैपर्छ।

२०४२ सालमा ललित कला प्रज्ञा प्रतिष्ठानका लागि संस्थागत (नेपाल कलाकार समाजमार्फत)रूपमा कलाकार एक जुट भएका थिए। ०४६ ताका यो संघर्षलाई तीव्र पार्न अर्को कलाकारको विशाल भेलाले एउटा एक्सन कमिटी (ललित कला कार्य विकास समिति) तयार गरेको थियो।

कलाको विकासका लागि सरकार समक्ष कैयौँ माग राखी आन्दोलन भएको थियो। त्यसप्रकारको कलाको आन्दोलन त्यस अघि र पछि भएको पाइएको छैन।त्यतिवेलाको चर्को कलाको आन्दोलनले पनि सरकारबाट आश्वासनबाहेक प्रज्ञा प्रतिष्ठान हासिल गर्न भने सकेन।

ललितकला प्रज्ञा प्रतिष्ठान भौतिक रूपमा पाउन झन्डै १४ वर्ष पर्खनुपर्‍यो। अर्कोपल्ट फेरि कलाकारको जमात सडकमा ओर्लनुपर्‍यो। यसको अलग्गै कथा छ। तथापि यसवेला महिला कलाकार सक्रिय भएसँगै नेपाली समसामयिक कलामा महिला कलाकारको उपस्थिति यथेष्ट देखिन्छ।

त्यसयता एक अलग्ग कला शैलीका साथ निरन्तर रूपमा युवा महिला कलाकार सक्रिय हुँदै आए। यी महिला कलाकारमा माया मानन्धर, नीलम ताम्राकार, मिनु श्रेष्ठ, शोभा वाग्ले,अस्मिना रञ्जित, पुष्पाञ्जली शेरचन्द, नीरा जोशी प्रधान,चन्दा श्रेष्ठ, देविना अमात्य, मन्दिरा मल्ल, मेरिना चित्रकार आदि छन्। यसपछि एरिना ताम्राकार, सुनिता राणा, प्रमिला बज्राचार्य, सरिता डंगोल, चन्दा श्रेष्ठ, सुनिला वज्राचार्य, सुष्मा राजभण्डारी, संगी श्रेष्ठ, पूर्णिमा यादव, रीता मानन्धर, चाँदनी बज्राचार्य, सुविना श्रेष्ठ, ज्यास्मिन राजभण्डारी, आर्य राजभण्डारी, इन्दिरा श्रेष्ठ, सम्झना राजभण्डारी, शुष्मा शाक्य, रेणुका महर्जन, संगीता घिमिरे, जया शर्मा, सौरगंगा दर्शनधारी, सजिता लक्ष्मी श्रेष्ठ आदि देखापरे।

अहिले ४० वर्ष कटेका यी महिला कलाकार कलाको मूलधारमा कोही अघि र पछि पसेका देखिन्छन्। उपत्यकाभित्र स्थायी बसोबास नगरी मोफसलमै बसेर कलाको सिर्जनामा लीन भएकाहरू झट्ट हेर्दा त्यति सक्रिय नभएको जस्ता देखिन्छन्।

तापनि यी कलाकारले कला सिर्जना गरिरहेकै थिए। यस्ता कलाकारमा पश्चिमका मिलन शेरचन्द, पूर्वका अनुराधा थापा, गंगा सुवेदी,सरोजा खड्की, अरूणा हिङमाङ,भारतबाट नेपाल भित्रिएकी डा.सीमा शाह आदि छन्। यसपछि समसामयिक सक्रिय महिला कलाकार यतिविघ्न देखापरे, यहाँ उल्लेख गरेर साध्यै हुँदैन।

यसबेला महिला कलाकारको सहभागिता गुणात्मक हिसाबले बढेको देखिन्छ। महिला कलाकार आफैँ पनि समूहमा विकसित हुन थालेको र कलाको विकासमा समेत लागिपरेको अवस्था थियो, नब्बेको दशक। यतिबेला आधुनिक शैलीका कलामार्फत सामाजिक मुद्दा पस्केको देखिन्छ। समाजका विकृतिले आफूलाई गिजोल्न थालेपछि आफूमा परेको प्रभावलाई अभिव्यञ्जना गर्ने अलि पुरानो तरिकालाई महिला कलाकारले अवलम्बन गरेको पनि देखिन्छ।

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)  

प्रकाशित: ४ मंसिर २०७८ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App